मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौैं
२०७९ कार्तिक २७ आइतबार ०८:२८:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ट्राफिक प्रहरी चुनावमा खटिए, उपत्यकामा बढ्यो जाम 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौैं
२०७९ कार्तिक २७ आइतबार ०८:२८:००

सातदोबाटो, ग्वार्काे, त्रिपुरेश्वर, बानेश्वरलगायत क्षेत्रमा साँझको समयमा जामको समस्या

सडकमा खटिने ट्राफिक प्रहरी उपत्यकाबाहिर चुनावमा खटिएपछि उपत्यकाको सडकमा सवारीसाधनको जाम बढेको छ । ट्राफिक प्रहरी कम हुँदा ट्राफिक नियम मिच्ने प्रवृत्ति बढ्नुका साथै जामको समस्या देखिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

उपत्यकाका तीन जिल्लामा कार्यरत एक हजार सात सय ट्राफिक प्रहरी कार्यरत रहेकोमा एक हजार तीन सयजना निर्वाचनमा थप मद्दतका लागि विभिन्न जिल्लामा खटिएका छन् । हाल उपत्यकामा चार सयजना मात्रै ट्राफिक प्रहरी छन् । ‘थप डेढ सय पनि चुनावमा खटिनेछन्, त्यसकारण थोरै ट्राफिक प्रहरीबाट ट्राफिक व्यवस्थापन गर्नुपर्ने भएकाले सडकमा स्वाभाविक रूपमा केही समस्या बढेको छ,’ उपत्यका ट्राफिक कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टले भने, ‘जनशक्ति अपुग भएपछि हामी आफैँ सडकमा खटिएर व्यवस्थापन मिलाइरहेका छौँ ।’ सडकमा ट्राफिक प्रहरी नदेखेपछि लेन अनुशासन नमान्ने प्रवृत्तिले जामको समस्या बढेको एसएसपी भट्टको भनाइ छ । 

एसएसपी राजेन्द्रप्रसाद भट्ट उपत्यका ट्राफिक कार्यालय
ट्राफिक प्रहरी चुनावमा खटिएका छन्, थोरै ट्राफिकबाट ट्राफिक व्यवस्थापन गर्नुपर्ने भएकाले सडकमा स्वाभाविक रूपमा केही समस्या बढेको छ । जनशक्ति अपुग भएपछि हामी आफैँ सडकमा खटिएर व्यवस्थापन मिलाइरहेका छौँ ।

खासगरी सातदोबाटो, ग्वार्काे, त्रिपुरेश्वर, बानेश्वरलगायत क्षेत्रमा साँझको समयमा जामको समस्या बढेको छ । हाल उपत्यकामा सवारी चाप उस्तै भएको, तर जनशक्ति कम हुँदा जाम बढेको हो । ट्राफिक प्रहरीको अभाव टार्न जनपद प्रहरी र म्यादी प्रहरीलाई सडकमा खटाइएको छ । तर, उनीहरूसँग ट्राफिक व्यवस्थापनसम्बन्धी तालिम नहुने भएकाले प्रभावकारी हुन सकेको छैन । चालकहरू अनुशासित भए जामको समस्या आफैँ हल हुने भएकाले नियम पालना गर्न उपत्यका ट्राफिक कार्यालयले आग्रह गरेको छ ।  

ट्राफिक सचेतना कक्षा पनि स्थगित
जनशक्ति अभाव भएपछि ट्राफिक प्रहरीले सचेतना कक्षा पनि आइतबारदेखि स्थगित गर्ने भएको छ । रातो बत्ती तथा सडक लेन उल्लंघन गरेर र मदिरा पिएर सवारीसाधन चलाई कारबाहीमा परेका चालकले अनिवार्य सचेतना कक्षा लिनुपर्ने हुन्छ । सचेतना कक्षा ११ मंसिर आइतबारबाट पुनः नियमित हुने एसएसपी भट्टले बताए । रातो बत्ती तथा सडक लेन उल्लंघन गरेर र मदिरा पिएर सवारीसाधन चलाई कारबाहीमा परेर तानिएका कागजपत्र सचेतना कक्षा लिएपश्चात् मात्र सवारीचालकलाई फिर्ता गरिने ट्राफिक कार्यालयले जनाएको छ ।    

प्रहरी प्रधान कार्यालय तथा उपत्यकामा कार्यरत करिब १२ हजार प्रहरीलाई चुनावमा थप मद्दतका लागि उपत्यकाबाहिरका विभिन्न जिल्ला खटाइएको छ । एकै चरणमा निर्वाचन गराउँदा जनशक्ति अभाव भएकाले यसरी एक कार्यालयबाट अर्काे कार्यालयमा जनशक्ति खटाइएको हो । ५८ वटा जिल्लामा थप मद्दतका लागि जनशक्ति खटाएको प्रहरी प्रवक्ता टेकप्रसाद राईले बताए ।

सेनाले सञ्चालनमा ल्यायो एकीकृत निर्वाचन सुरक्षा कक्ष 
नेपाली सेनाले प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा केन्द्र, प्रदेश र जिल्लामा एकीकृत निर्वाचन सुरक्षा कक्ष स्थापना गरी सञ्चालनमा ल्याएको छ । मतदानस्थल सुरक्षा, मतदान सामग्री ढुवानी, जगेडा, हवाई गस्तीलगायत निर्वाचनसम्बन्धी सम्पूर्ण सुरक्षाका लागि करिब ७५ हजार जनशक्ति खटिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निर्वाचन सुरक्षार्थ सात सय ७९ स्थानमा फौज परिचालित भई तैनाथ भइसकेको सेनाले जनाएको छ । सेनाले मतदानस्थलमा बाहिरी घेरामा रही सुरक्षा प्रदान गर्नेछ । सेनाले निर्वाचन सुरक्षाका सन्दर्भमा हालसम्म आठ सय ३२ बम डिस्पोजन टोली परिचालन गरिसकेको छ भने बाँकी एक सय ४३ टोली तयारी अवस्थामा रहेको जानकारी दिएको छ । 

निर्वाचन आयोगपरिसरमा निर्वाचन प्रयोजनका लागि आवश्यक सामग्री प्याकिङ गर्न खटिएका एक सय सैनिक जनशक्तिले सुम्पिएको कार्य जिम्मेवारी पूरा गरी युनिटमा फिर्ता भइसकेको उसको भनाइ छ । यसअघि सेनाकै सुरक्षामा सम्पूर्ण मतपत्र छपाइको काम भएको हो । उक्त मतपत्र सुरक्षाका लागि खटिएका एक सय ४३ सैनिक जनशक्तिमध्ये आइतबारबाट अत्यावश्यकबाहेक अन्य फिर्ता हुने निर्देशनालयले जनाएको छ । सेनाले हाल एक सय ६ महŒवपूर्ण संरचना, कारागार, विमानस्थलमा तैनाथ रहेकामा केही दिनभित्रै थप पाँच कार्यस्थलमा खटिँदै छ ।