मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी मेलबर्न
२०७९ कार्तिक २७ आइतबार ०६:३५:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

टी–२० विश्वकप क्रिकेट फाइनल : मेलबर्नमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै 

Read Time : > 2 मिनेट
एजेन्सी मेलबर्न
२०७९ कार्तिक २७ आइतबार ०६:३५:००

पाकिस्तान र इंग्ल्यान्डबीच आइतबार टी–२० विश्वकपको फाइनलमा प्रतिस्पर्धा हुँदै छ । जारी विश्वकपमा इंग्ल्यान्डको ब्याटिङ निकै चलेको छ । टोलीमा एकसेएक स्टार ब्याट्सम्यान छन् । त्यसमध्ये पनि ओपनरद्वय जोस बटलर र एलेक्स हेल्स निकै फर्ममा छन् । उनीहरूले मिलेर प्रतियोगितामा पाँच सय १० रन बनाइसकेका छन् । उनीहरूले एक सय ७० रनको साझेदारी गर्दा सेमिफाइनलमा भारतलाई १० विकेटले हराएर इंग्ल्यान्डले फाइनल यात्रा तय गरेको थियो । इंग्लिस टोलीमा नवौँ नम्बरमा क्रिस बोक्स ब्याटिङ गर्न आउँछन्, जो अलराउन्डर हुन् । 

यता, समूह चरणमा चल्न नसकेको पाकिस्तानको ओपनिङ जोडीले सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध भने उत्कृष्ट खेलेको छ । यस खेलमा बाबर आजम र मोहम्मद रिजवानले एक सय पाँच रनको साझेदारी गरेका थिए । यद्यपि, खेल जिताउने आधार बलरहरूले नै तय गरेका थिए । साहिन शाह अफ्रिदीले चार ओभर बलिङ गर्दै केवल २४ रन खर्चिएर दुई विकेट लिएका थिए । निकै फर्ममा देखिएका अफ्रिदीले प्रतियोगितामा कुल १० विकेट लिइसकेका छन् भने नसिम शाह, ह्यारिस रउफ र मोहम्मद वासिमको प्रदर्शन पनि निकै स्तरीय रहेको छ । लेग स्पिनर सदाब खान पनि उच्च फर्ममा छन् ।

त्यसैले इंग्ल्यान्डलाई पाकिस्तानी बलरहरूको डर छ । इंग्लिस कप्तान जोस बटलरले पाकिस्तानी फास्ट बलरहरूको प्रशंसा गरेका छन् । ‘उनीहरू निकै उत्कृष्ट टिम हुन् र तीव्र गतिका उत्कृष्ट बलर जन्माएको लामो इतिहास उनीहरूसँग छ,’ उनले भने, ‘आइतबार पनि उनीहरू सशक्त रूपमा प्रस्तुत हुनेछन् । फाइनल खेलको मज्जा नै यही हो ।’

यता, पाकिस्तानी कप्तान बाबर आजमले इंग्लिस ब्याट्सम्यानहरूको प्रशंसा गरेका छन् । ‘भारतविरुद्ध हासिल गरेको १० विकेटको जित नै उनीहरू कति बलिया छन् भन्ने प्रमाण हो । तर, हामीलाई हाम्रो घातक बलिङमा विश्वास छ,’ उनले भने । 

बाबर आजमविरुद्ध आदिल रसिद
रसिदले बाबरलाई तीनपटक आउट गरेका छन् । जबकि, रसिदविरुद्ध बाबरले ६१ बलमा १२६.२२ को स्ट्राइक रेटमा ७७ रन बनाएका छन् । बाबरले रसिदको गुगलीलाई राम्रोसँग पढ्न सकेको देखिन्न, उनी तीनमध्ये दुईपटक गुगली बलमा आउट भएका छन् । लेग स्पिनरविरुद्ध बाबरको रेकर्ड खासै राम्रो छैन । उनले यस वर्ष लेग स्पिनरविरुद्ध ११३.६९ को स्ट्राइक रेटमा मात्रै रन बनाएका छन् । 

लियोन लिभिङस्टनविरुद्ध ह्यारिस रउफ
लिभिङस्टोनले इंग्ल्यान्डबाट पछिल्ला दुई विश्वकपका सबै खेल खेलेका छन् । यद्यपि, यस दौरान उनले केवल ७२ बल मात्रै सामना गरेका छन् । पाकिस्तान उनको मनपर्ने प्रतिद्वन्द्वी हो । यस टिमविरुद्ध जुलाई २०२१ मा उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक लगाएका थिए । उनलाई रउफविरुद्ध खेल्न मनपर्छ र रउफविरुद्ध उनले टी–२० खेलमा १९ बलमा कुल ५१ रन बनाएका छन् । जसमा पाँच छक्का समावेश छ । 

मोइन अलीविरुद्ध सदाब खान 
यस विश्वकपमा मोइन अलीले अहिलेसम्म राम्रो छाप छाड्न सकेका छैनन् । उनले केवल ३३ बल खेलेका छन् । यद्यपि, पाकिस्तानविरुद्धको खेलमा उनलाई पहिलो ब्याटिङ गर्न पनि पठाउन सकिन्छ । किनकि, मोइनले सदाबविरुद्ध ३६ बलमा ६४ रन बनाएका छन् । यसक्रममा उनी दुईपटक आउट भएका छन् । 

नतिजामा प्रभाव पार्ने पक्ष 

मेलबर्नको पिच 
जारी विश्वकपअन्तर्गत सुपर १२ अन्तर्गतका ६ खेल मेलबर्न क्रिकेट मैदानमा खेलाइएका थिए, जसमध्ये तीन खेल वर्षाका कारण रद्द भए । यही मैदानमा आयरल्यान्डसँग इंग्ल्यान्ड पराजित भएको थियो । अर्कोतर्फ, पाकिस्तान पनि यही मैदानमा भारतसँग अन्तिम ओभरमा हारेको थियो । २०१९÷२० यता यहाँ भएका प्रतिस्पर्धामध्ये नतिजा निस्किएका खेललाई आधार मान्दा यहाँको औसत स्कोर एक सय ६७ रन छ । त्यसैले, यहाँ पहिलो इनिङ्समा ब्याटिङ गरेर औसत एक सय ८१ रन बनाउन सक्ने टिम सुदृढ अवस्थामा रहन्छ । तर, यहाँ स्पिनरले निकै कसिलो बलिङ गर्छन् ।   

घातक बलिङ
विश्वकपमा सहभागी १६ टिममध्ये १५ टिमले पावर प्लेमा कम्तीमा एक ओभर स्पिनर बलिङ गरेका छन् । पाकिस्तान यसको अपवाद हो । किनकि, ऊसँग अफ्रिदी, नसिम, रउफ र मोहम्मद वसिम जुनियरजस्ता चारजना तीव्र गतिका बलर छन् । तर, आइतबार यो अवस्था बदलिन सक्छ । किनकी, खेल जित्नका लागि बट्लर र हेल्सलाई शान्त राख्नुपर्र्ने बाध्यता पाकिस्तानसामु छ । भारतविरुद्ध हेल्सले ८६ र बट्लरले ८० रन बनाएका थिए ।

विश्वकपअघि इंग्ल्यान्डविरुद्ध भएको सिरिजमा मोहम्मद नवाजले पावर प्लेमा बलिङ गरेका थिए । उक्त सिरिजमा उनले हेल्सलाई १९ बलमा १९ रन दिएका थिए, एकपटक आउट पनि गरेका थिए । पाकिस्तानले लेग स्पिनर सदाब खानलाई पनि चाँडै बलिङमा उतार्न सक्छ, किनकि उनले दुईपटक जोस बटलरलाई टी–२० म्याचमा आउट गरेका छन् । त्यस्तै, २१ बलमा केवल २१ रन मात्रै दिएका छन् । 

वर्षाको डर
नेपाली समयअनुसार १ः४५ बजे सुरु हुने यस खेलका लागि सबै टिकट बिक्री भइसकेको छ । ९० हजार दर्शकले हेर्ने अनुमान गरिएको यो खेल वर्षाले बिथोलिने चिन्ता पनि उत्तिकै छ । मेलबर्नको मौसम अनिश्चित हुने भएकाले पनि फाइनल बिथोलिन सक्ने चिन्ता देखिएको हो । वर्षा भइहाले पनि फाइनल खेल खेलाउनका लागि हरेक प्रयत्न भने हुनेछ । ओभर छोट्याएर भए पनि खेल खेलाउने हुन सक्छ । कम्तीमा १० ओभरको खेल पनि हुन सक्छ ।