मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०७९ कार्तिक २४ बिहीबार ०८:१८:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौं ८ : नेकपा एसका जीवनरामलाई एमालेका शिवसुन्दरको चुनौती

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ कार्तिक २४ बिहीबार ०८:१८:००

दुवै उम्मेदवारको तगारो सामाजिक अभियन्ता एवं हाम्रो नेपाल पार्टीका सुमन सायमी

काठमाडौं ८ मा काठमाडौं महानगरपालिका वडा नम्बर १३, १५, १९, २०, २३, २४ र नागार्जुन नगरपालिका वडा नम्बर ४ र ५ पर्छन । यहाँ एकीकृत समाजवादीका उम्मेदवार जीवनराम श्रेष्ठ र हाम्रो नेपाल पार्टीका उम्मेदवार एवं सामाजिक अभियन्ता सुमन सायमीबीच प्रतिस्पर्धा हुने स्थानीयको अनुमान छ । 

पार्टीमा आबद्ध हुनुअघि पनि स्वतन्त्र ढंगले नेवार समुदायमा उपस्थिति देखाउँदै आएका सायमीलाई युवा पुस्ताले धेरै नै भरोसा गरेका छन् । उनले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि काठमाडौं महानगरको मेयर पदमा लोकप्रिय मत ल्याएका थिए । सत्तागठनबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका श्रेष्ठ भने कांग्रेसको भोटको भरोसामा छन् । यो क्षेत्रमा एकीकृत समाजवदीको संगठन कमजोर रहेका कारण कांग्रेसको भोटले नै श्रेष्ठलाई जिताउने वा हराउने स्थानीयको भनाइ छ । 

काठमाडौं ८ मा एमालेले शिवसुन्दर राजवैद्यलाई उम्मेदवार बनाएको छ । उनलाई उम्मेदवार बनाउँदा यस क्षेत्रका केही एमाले कार्यकर्ताले विरोधसमेत गरेका थिए । उनले यसअघि काठमाडौंको जिल्ला समन्वय समितिका रहेर काम गरेका थिए । 

राजनीतिमा सक्रिय उनलाई पार्टीले उम्मेदवार बनाएपछि प्रचारप्रसारमा केन्द्रित छन् । उनले आफू निर्वाचित भए काठमाडौंका खुला ठाउँलाई पार्क बनाउने, पर्यटन र सांस्कृतिक विकास गर्ने, निर्वाचन क्षेत्रका सबै घरमा खानेपानीको व्यवस्था गर्ने, निर्वाचित भएपछि प्रत्येक ६ महिनामा स्थानीयसँग अन्तत्र्रिmया गर्नेलगायत एजेन्डा अघि सारेका छन् । ‘मेरो क्षेत्रमा समस्या थुप्रै छन्, घना सहर भए पनि व्यवस्थित छैनन्, खानेपानी अभाव, बेरोजगारीजस्ता समस्या व्याप्त छ,’ उनले भने, ‘यी सबै समस्या समाधानमा म गम्भीर भएर लाग्छु ।’

०७४ मा कसको मत कति ?
०७४ को निर्वाचनमा विवेकशील साझा पार्टीका पुकार बमले यस क्षेत्रबाट ४४१४ मत प्राप्त गरेका थिए । कांग्रेसका नवीन्द्रराज जोशीले १२ हजार नौ सय ५३ र एमालेका जीवनराम श्रेष्ठ १३ हजार तीन सय ९७ पाएका थिए । अन्य स्वतन्त्र तथा साना पार्टीका उम्मेदवारहरूले १३ सय २७ मत ल्याएका थिए । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरू घरदैलो कार्यक्रममा व्यस्त छन् । स्थानीय तह निर्वाचनमा स्थानीयको घरघरमा पुगेका सायमी पुनः घर दैलोमा पुगेका छन् । ६ महिनाअघि मात्रै पनि आफू मतदाताको घरदैलोमा पुगेको र अहिले फेरि पुग्दा उनीहरूबाट निकै राम्रो प्रतिक्रिया पाएको उनले बताए । ‘चुनाव प्रचारमा लागिरहेको छु,’ सायमीले भने, ‘प्रचार–प्रसारमा पाएको सपोर्ट हेर्दा जितिन्छ भन्ने लागिरहेको छ ।’ 

एकीकृत समाजवादीका उम्मेदवार श्रेष्ठ निर्वतमान सांसद पनि हुन् । यसअघिको निर्वाचनमा कांग्रेसका नवीन्द्रराज जोशीसँग करिब आठ सय मतान्तरले श्रेष्ठले जितेका थिए । त्यसवेला उनी एमालेमा थिए । ०७४ मा एमाले र कांग्रेसको टक्कर परेको यस क्षेत्रमा यसपटकको चुनावी माहोल बेग्लै छ । ‘हामी गठबन्धनसहित चुनावमा छौँ, विगतमा धेरै काम गरेका छौँ,’ श्रेष्ठले भने, ‘त्यसैले जनताले हाम्रो सकारात्मक मूल्यांकन गरिरहेका छन् ।’ उनले विगतमा आफूले उठान गरेका कतिपय योजना पूरा गर्न पनि यसपटक उम्मेदवार बनेको बताए ।

स्थानीय निर्वाचनमा को बलियो ? 
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको नजिता हेर्दा काठमाडौं ८ का वडाहरूमा कांग्रेसले बढी मत प्राप्त गरेको छ । क्षेत्र ८ मा कांग्रेस १०,८७२, एमाले ९,२५३, एकीकृत समाजवादी ५,१४२, राप्रपा ३,२४०, स्वतन्त्र १३७ र माओवादी केन्द्र १४२ मत प्राप्त गरेका थिए । स्थानीय तहको निर्वाचनलाई आधार मान्दा यो क्षेत्रमा सबैभन्दा बढी भोट कांग्रेसले प्राप्त गरेको देखिन्छ । एकीकृत समाजवादीमा श्रेष्ठलाई जित्न सबैभन्दा बढी भोट कांग्रेसकै चाहिने आकलन छ । 

चुनौती र समस्या 
काठमाडौं क्षेत्र नम्बर ८ ऐतिहासिक सम्पदाले भरिपूर्ण क्षेत्र हो । काठमाडौं महानगरपालिका १३, १५, १९, २०, २३ र २४, नागार्जुन नगरपालिकाको ४ र ५ मा यसै क्षेत्रमा पर्छ । यी वडाहरूमा न्युरोड, असन, सुन्धारा, टेकु, त्रिपुरेश्वर, वसन्तपुर, स्ययम्भुजस्ता भित्री सहर र सम्पदास्थल पर्छन् । यहाँ पुराना नेवारी बस्ती र ऐतिहासिक मठमन्दिर धेरै छन् । पार्किङ असुविधा, अव्यवस्थित बजार, साँघुरा गल्ली, अस्तव्यस्त सडक व्यवस्थापन यस निर्वाचन क्षेत्रका मुख्य समस्या र चुनौती हुन् । 

भित्री सहर व्यवस्थापनदेखि हनुमानढोकाको मुहार फेर्नेसम्मका एजेन्डा 

प्रदेश सभा ‘क’का एमालेका उम्मेदवार तथा निर्वतमान प्रदेश सभा सांसद राजेश शाक्यले आफू निर्वाचित भए वसन्तपुर क्षेत्रलाई थप व्यवस्थित बनाउने बताए । ‘मैले विगतमा पनि सम्पदा संरक्षण र भित्री बस्ती व्यवस्थापनमा सक्दो भूमिका निभाएको छु,’ उनले भने । उनका प्रतिस्पर्धी कांग्रेसबाट उम्मेदवार राजुराज जोशीले भित्री सहर व्यवस्थापन र सम्पदा संरक्षण यस क्षेत्रको सबैभन्दा ठूलो चुनौती रहेको बताए । उनले आगामी पाँच वर्षमा वसन्तपुर तथा भित्री सहरमा रहेको ऐतिहासिक सम्पदामार्गलाई व्यवस्थित गर्ने, पर्यटन विकासका लागि नयाँ योजना बनाउनेलगायत काम अघि सारेको बताए । ‘यो क्षेत्रको विकासका लागि मैले धेरै योजना बनाएको छु,’ उनले भने, ‘पाँचवर्षे कार्यकालमा भित्री सहर र भित्री बस्तीलाई व्यवस्थित बनाउन सकिन्छ ।’ प्रदेश सभा ‘क’ का राप्रपाका उम्मेदवार केदारबहादुर धमलाको पनि सम्पदा संरक्षण र भित्री बस्ती व्यवस्थापनलाई मुख्य एजेन्डा बनाएका छन् । 

प्रदेश सभा ‘ख’मा कांग्रेसका अमिन पाण्डेय, एमालेका निमा घ्याम्छो तामाङ र राप्रपाबाट उम्मेदवार बनेका उद्धव थापाले पनि सम्पदा संरक्षण र भित्री बस्ती व्यवस्थापनलाई प्राथमिकता दिएका छन् । यो प्रदेश सभा ‘ख’ काठमाडौं महानगरपालिका– १५ र नागार्जुन– ४ र ५ वडा पर्छन् । उम्मेदवारहरूले भित्री सहरलाई सुरक्षित बनाउने, अव्यवस्थित भवन भत्काएर खुला ठाउँ कायम गर्ने, नागार्जुन क्षेत्रमा मेलम्चीको खानेपानी पुर्‍याउनेलगायत एजेन्डा प्राथमिकतामा राखेका छन् । ‘काठमाडौंका भित्री बस्तीहरू निकै जोखिमयुक्त छन्, साथै नागार्जुन क्षेत्रमा पनि थुप्रै समस्या छन्, काठमाडौं नै भए पनि यहाँ धेरै समस्या छन्,’ कांग्रेसका उम्मेदवार पाण्डेयले भने, ‘यहाँका सबै समस्या समाधान गर्न म तत्पर छु ।’ 

प्रदेश सभाका २ पदमा २१ उम्मेदवार
काठमाडौं ८ ‘क’ र ‘ख’ दुई पदका लागि स्वतन्त्र र विभिन्न राजनीतिक दलबाट गरी २१ जना उम्मेदवार छन् । काठमाडौं महानगरपालिका १३, १९, २०, २३ र २४ मा पर्ने यस क्षेत्रमा प्रदेश सभा ‘क’मा एमालेका राजेश शाक्य, कांग्रेसबाट राजुराज जोशी, राप्रपाबाट केदारबहादुर धमला, नेककिपाका रामदेवी महर्जन, जसपाका प्रतिमा शाही, हाम्रो नेपाली पार्टीबाट शैलेन्द्रमान बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट विजेन्द्र महर्जन, आमूल परिवर्तन मसिहा पार्टी नेपालबाट आयुष श्रेष्ठ, स्वतन्त्र विजयकुमार मानन्धर रहेका छन् । 

यस्तै, प्रदेश सभा ‘ख’मा कांग्रेसबाट अमिन पाण्डेय, एमालेबाट निमा घ्याम्छो तामाङ, राप्रपाबाट उद्धव थापा, नेमकिपाबाट हिराकाजी शाही, जसपाबाट मंगलरत्न ताम्राकार, हाम्रो नेपाली पार्टीबाट सुरेशकुमार डंगोल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट सुनील ताम्राकार, स्वतन्त्रबाट लक्ष्मण शाही, चिरञ्जीवी खनाल, मच्छिन्द्र खकुरेल, विक्रम थापा र राजा शाक्य उम्मेदवार प्रतिस्पर्धामा छन् । 

प्रदेश सभा ‘क’का उम्मेदवार शाक्यले आफू निर्वाचित भए पाँच वर्षमा वसन्तपुर हनुमानढोका क्षेत्रको मुहार फेर्ने दाबी गरेका छन् । उनले अघि सारेको प्रमुख एजेन्डा नै हनुमानढोका विस्तृत परियोजना हो । परियोजनाले वसन्तपुर, न्युरोडदेखि स्ययम्भुसम्मको सम्पदामार्गको मुहार फेरिने उनको दाबी छ ।