१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार ११:३९:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

डोल्पा निर्वाचन : गठबन्धन ढुक्क, एमाले विरासत तोड्ने दाउमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार ११:३९:oo

हिमाली जिल्ला डोल्पामा यतिवेला चुनावी रौनक छाएको छ । मंसिर ४ नजिकिँदै गर्दा उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त छन् । हिउँदको  चिसो दिनप्रतिदिन उकालो लाग्दै गर्दा उम्मेदवारहरूलाई आ–आफ्नो पक्षमा मतमाग्न भ्याइनभ्याई छ ।

पुरानै एजेन्डासहित गाउँबस्तीमा पुगेका राजनीतिक दलका उम्मेदवारलाई जनताले फूलमाला, खादा र अबिरले रंग्याएका छन् । भव्य स्वागत गरेको देख्दा लाग्छ यो चुनाव प्रचारप्रचार नभई विजयी र्‍याली हो । डोल्पामा एक प्रतिनिधिसभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र छन् ।

प्रतिनिधिसभाका लागि पाँचजना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अंगतकुमार बुढा, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बाट धनबहादुर बुढा, नेपाल कम्युनिस्ट पार्टी एमालेबाट गणेशबहादुर शाही, नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)बाट हर्कबहादुर ठकुल्ला र स्वतन्त्रबाट वीरबहादुर रोकाय चुनावी मैदानमा छन् ।

डोल्पामा तीनदलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका एकीकृत समाजवादीका नेता बुढा तेस्रो जितका लागि चुनावी मैदानमा उत्रिएका छन् । उनलाई डोल्पामा नेकपा एमाले पछि दोस्रो शक्तिमा रहेको कांग्रेस र तेस्रो शक्तिको रूपमा रहेको माओवादी केन्द्रको समर्थन छ ।

यसकारण पनि बुढालाई आसन्न निर्वाचनका लागि बलियो उम्मेदवार मानिन्छ । बुढा यसअघि ०७० र  ०७४ मा नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनले ०७४ मा ११ हजार सात सय ६१ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसबाट उम्मेदवार बनेका अंगतकुमार बुढाले तीन हजार एक सय ६७ मत मात्र ल्याएका थिए भने कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)बाट हर्कबहादुर ठकुल्लाले दुई सय ९९ मत ल्याएका थिए । 

बुढाको पूर्ववत राजनीति राप्रपाबाट सुरु भएको हो । त्यसपछि नेकपा एमाले हुँदै अहिले एकीकृत समाजवादीमा छन् । उनलाई डोल्पाको राजनीतिमा चतुर खेलाडीको रूपमा चिनिन्छ । केपी ओली प्रधानमन्त्री हुँदा पर्यटन राज्यमन्त्रीसमेत भइसकेका बुढालाई नेकपा एमालेकै नेता–कार्यकर्ताको समर्थन रहेको नेकपा एकीकृत समाजवादीका युवा नेता युवराज थकालीले बताए ।

सरल स्वभाव सहयोगी भावना भएकै कारण डोल्पामा लोकप्रिय नेताको छवि बनाएको उनको भनाइ छ । डोल्पामा कुल २२ हजार सात सय ७४ जना मतदाता रहेका छन् । आफूलाई नेकपा एमालेबाटै टिकट लिएर लड्न अफरसमेत आएको बुढाले बताए । गठबन्धनबाट चुनाव लडेमा जित्न सजिलो हुने भएकाले आफू साझा उम्मेदवार बनेको उनको भनाइ छ । 

जिल्लामा सैद्धान्तिक हिसाबमा अन्य पार्टीभन्दा बलियो रहेको एमालेबाट गणेशबहादुर शाही चुनावी मैदानमा छन् । शाही ठूलीभेरी नगरपालिकामा एमालेबाट निर्वाचित पूर्वनगरप्रमुखसमेत हुन् । एकीकृत समाजवादी त्यागेर पुनः एमालेमै फर्किएका शाहीलाई प्रवेश गर्नेबित्तिकै एमालले प्रतिनिधिसभाको टिकट दिएको थियो ।

धनबहादुर बुढाले फ्लोर क्रस गरेर गठबन्धनलाई सघाएको भन्दै उनका विरुद्ध लड्न एमाले रोजेका उम्मेदवार हुन् शाही । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकामा प्रमुख उपप्रमुखसहित एमालेले जितेको छ । उपल्लो डोल्पाको शे–फोक्सुन्डाे गाउँपालिकामा प्रमुख एमालले जितेको छ । उपल्लो डोल्पाका आठमध्ये पाँचवटा स्थानीय तहमा एमालेको सैद्धान्तिक हिसाबले बलियो भएकै कारण बुढाको पुरानो विरासत भत्काउने दाउमा छन् शाही ।

भेगीय राजनीतिलाई मूल एजेन्डा बनाएको एमालेले मध्य र तल्लो डोल्पाका कतिपय जनताको समर्थनसमेत पाएको छ । डोल्पाको राजनीतिक नेतृत्व पञ्चायतदेखि नै प्रायः काइके गाउँपालिकाले गरिरहेको भन्दै अब राजनीति तल्लो भेगमा ल्याउनुपर्ने एमालेका नेता–कार्यकर्ताको अठोट छ ।

बुढाको दुई कार्यकालको स्वाद जनताले चाखिसकेकाले अबको नेतृत्व एमालले गर्ने शाहीको दाबी छ । अहिले एमालेको पक्षमा आम डोल्पाली जनता भएको उनको भनाइ छ । आफूले चुनाव जितेमा शिक्षा, स्वास्थ्य, यातायात, विद्युत्, सञ्चारलगायत आधारभूत कुरामा ध्यान दिने उनको भनाइ  छ ।

यता राप्रपाबाट अंगतकुमार बुढा पनि चुनावी मैदानमा छन् । डोल्पाली युवापंक्तिमा असल नेताको छवि बनाएका बुढाको पनि पूर्ववत् राजनीति राप्रपा नै हो । अहिलेसम्म बुढाले चारवटा पार्टी बदलिसकेका छन् । सुरुमा राप्रपा, त्यसपछि एमाले प्रवेश गरे । पछि कांग्रेस प्रवेश गरे । त्यसपछि पुनः राप्रपातिरै लागे । बुढा राप्रपाका केन्द्रीय सदस्य पनि हुन् । जिल्लामा भष्टाचारविरुद्धका अभियान्ता र जनताको हरेक समस्यालाई एजेन्डा बनाएर आवाज उठाउने नेताको रूपमा समेत उनी चिनिन्छन् ।


 

ad
ad