१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
२o८१ जेठ ८ मंगलबार o८:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

मधेस सेमिफाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o८:२३:oo

रोमाञ्चक खेलमा बागमती प्रदेशसँग अंक बाँड्दै मधेस प्रदेश प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल टाई भएपछि मधेसको भाग्य चम्किएको थियो । मधेस र बागमतीबीच बराबरी भएसँगै सेमिफाइनल पुग्ने लुम्बिनीको सपना पूरा हुन सकेन । समूह ‘बी’मा नेपाल पुलिस ६ अंकसहित शीर्ष स्थानमा छ । मधेस तीन खेलबाट पाँच अंक जोड्दै दोस्रो स्थानमा रह्यो । पुलिस र मधेस दुवैले एक–एक खेल खेल्न बाँकी छ । अब उनीहरूबीच हुने अन्तिम खेलले नै समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ । लुम्बिनी र बागमती दुवै समूह चरणबाटै बाहिरिएका छन् । 

रोमाञ्चक अन्तिम ओभर
मधेसले प्रस्तुत गरेको एक सय ९१ रनको लक्ष्य पछ्याएको बागमतीले ४९ ओभरसम्म ९ विकेट गुमाएर एक सय ९० रन बनाएको थियो । अन्तिम ओभरमा बागमतीलाई खेल जित्न जम्मा एक रन चाहिएको थियो । त्यस्तै, खेल बराबरी गर्नका लागि मधेसलाई एक विकेट आवश्यक थियो । क्रिजमा रामनारायण गिरी र रिजन ढकाल थिए । बलिङमा राजेश यादव तयारी थिए । अन्तिम ओभरको पहिलो बल राजेशले डट फ्याले । दोस्रो बलमा भने राजनले रजिनलाई विकेटकिपर अनिल शाहबाट क्याच गराएका थिए । यसपछि खेल बराबरी हुँदा मधेस सेमिफाइनल पुग्ने तय भयो । यसअघि, सुरुवाती टस जितेर ब्याटिङ रोजेको मधेसले रोहन विकको अर्धशतक मद्दतमा ४६.२ ओभरमा सबै विकेट गुमाउँदै एक सय ९० रन बनायो । रोहनले ९४ बलमा ६ चौका र २ छक्का मद्दतमा ६३ रन बनाएका थिए । यसैगरी, सन्तोष कार्कीले २३ रनको योगदान गरेका थिए । बागमतीका नन्दन यादव र सूर्य तामाङले समान तीन–तीन विकेट लिएका थिए । 

सुदूरपश्चिमको पहिलो जित
कर्णाली प्रदेशलाई पाँच विकेटले पराजित गर्दैै सुदूरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ । मूलपानी क्रिकेट मैदानमा एक सय ५१ रनको लक्ष्य सुदूरपश्चिमले २९.४ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गरेको थियो । उसका ओपनर गजेन्द्र बोहराले ४१ रन, शेर मल्लले २४ तथा राजु रिजालले २४ रनको योगदान गरेका थिए । कर्णालीका रवीन्द्र शाहीले सर्वाधिक तीन विकेट लिएका थिए । यसअघि टस हारेर ब्याटिङ गरेको कर्णालीले अर्जुन घर्तीको अर्धशतकप्रेरित ३८.१ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५० रन बनाएको थियो । अर्जुनले ९६ बलमा ४ चौका र ५ छक्का मद्दतमा ७० रन बनाए ।  सुदूरपश्चिमका नारायण जोशीले सर्वाधिक चार विकेट लिएका थिए । 

ad
ad