१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार १५:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

चोभार सबस्टेसन निर्माणमा जारी अवरोध हट्यो, स्थानीयको माग पूरा गर्ने सहमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १५:१९:oo

कीर्तिपुर नगरपालिका– ६ चोभारमा १३२ केभीको सबस्टेसन निर्माणमा भइरहेको अवरोध हटेको छ। नेपाल विद्युत् प्राधिकरणले स्थानीयको माग सम्बोधन गर्ने सहमति जनाएपछि अवरोध हटेको हो।

प्राधिकरणले हिमाल सिमेन्टको स्वामित्वको चोभार, भूतखेलस्थित १२ रोपनी १२ आना जग्गामा १३२/११ केभीको सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाएको थियो। मन्त्रिपरिषद्को १७ माघ ०७८ को बैठकले उक्त जग्गा सबस्टेसन निर्माणका लागि प्राधिकरणलाई भाडामा उपलब्ध गराउने निर्णय गरेको थियो।

निर्माण प्रक्रिया सुरु गरेसँगै उक्त स्थान खेलमैदानको रूपमा प्रयोग हुँदै आएको भन्दै स्थानीयले अवरोध गरेका थिए। निर्माण पूर्वका प्रारम्भिक कार्यहरू सकिइसकेकाले उक्त स्थानको विकल्प खोज्न नसकिने प्राधिकरणले बताउँदै आएको थियो।

कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मी, उपप्रमुख शुभलक्ष्मी शाक्य, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वडाध्यक्ष खिरमानसिंह बस्नेत, जलविनायक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दीपक महर्जन र स्थानीय प्रतिनिधि सम्मिलित संयुक्त बैठकले सबस्टेसन निर्माणलाई अगाडि बढाउने सहमति भएको छ।

सबस्टेसन निर्माणमा अवरोध नगर्ने र यसका लागि सम्बन्धित वडाले आवश्यक सहयोग गर्ने उक्त बैठकले निर्णय गरेको छ। सहमतिअनुसार चोभारस्थित सुक्खा बन्दरगाहको प्रवेशद्वारबाट सुरु भएको करिब दुई किलोमिटर ११ केभी लाइनलाई प्राधिकरणले भूमिगत गरी व्यवस्थापन गर्नुपर्नेछ।

काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन निर्माणमा  ललितपुरको खोकना, बुंमती, हरिसिद्धि र लामाटार क्षेत्रका स्थानीयले अवरोध गरिरहेका छन्। अवरोधका कारण प्रसारण लाइन बनाउन नसकिएपछि प्राधिकरणले विकल्पको रूपमा चोभारमा सबस्टेसन निर्माण अगाडि बढाएको हो।

एसियाली विकास बैंकको काठमाडौं उपत्यका प्रसारण क्षमता सुदृढीकरण आयोजनामार्फत प्राप्त हुने सहुलियतपूर्ण ऋणमा चोभार सबस्टेसन निर्माण गर्न लागिएको हो। सबस्टेसनमा ४५ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मरहरू रहने प्राधिकरणले जनाएको छ।

ad
ad