१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
एजेन्सी सिड्नी
२o८१ बैशाख २३ आइतबार o७:o१:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

टी–२० विश्वकप क्रिकेट : पाकिस्तान सेमिफाइनल दौडमा फर्कियो

दक्षिण अफ्रिकामाथि डकवर्थ लेविस नियममा ३३ रनको जित निकालेको पाकिस्तान समूह २ को शीर्ष दुई टोलीमाथि दबाब राख्दै

Read Time : > 2 मिनेट
एजेन्सी, सिड्नी
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:o१:oo

पूर्वविजेता पाकिस्तानले आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलको आशा जीवितै राखेको छ । अस्ट्रेलियामा सञ्चालन भइरहेको विश्वकपअन्तर्गत बिहीबार समूह २ मा पाकिस्तानले दक्षिण अफ्रिकालाई डकवर्थ लेविस नियमअनुसार ३३ रनले पराजित गर्दैै अन्तिम चारमा पुग्ने बाटो बलियो बनाएको हो । हारले पाकिस्तान प्रतियोगिताबाट बाहिरिन्थ्यो । पाकिस्तानमाथिको जितले दक्षिण अफ्रिका अन्तिम चारमा पुग्ने थियो । समूह २ मा भारत, दक्षिण अफ्रिका र पाकिस्तानमध्ये दुई टोलीले अन्तिम चारको स्थान पक्का गर्नेछन् ।

 सिड्नी मैदानमा पाकिस्तानले पहिलो ब्याटिङ गरी २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८५ रनको बलियो योगफल खडा ग¥यो । दक्षिण अफ्रिकाले वर्षाले खेल रोकिनुअघि एक सय ८६ रन पछ्याएको थियो । वर्षाले खेल रोकिँदा दक्षिण अफ्रिकाले डकवर्थ लेविस नियमअनुसार नयाँ लक्ष्य पायो । दक्षिण अफ्रिकाले १४ ओभरमा १ सय ४२ रन जोड्नुपर्ने भयो । दक्षिण अफ्रिकाले १४ ओभरमा नौ विकेट गुमाएर एक सय नौ रन मात्र जोड्दा पाकिस्तान ३३ रनले विजयी भयो । 

 यस्तो बन्यो समीकरण
सिड्नीको मैदानमा प्रतियोगिताको ३६औँ खेल महत्वपूर्ण थियो । पाकिस्तानले सेमिफाइनल पुग्ने आशा जीवितै राख्न दक्षिण अफ्रिकालाई हराउनुपर्ने थियो । पाकिस्तानले गर या मरको अवस्थामा प्रतिस्पर्धा गरेको थियो । जितले एक खेलअगाडि नै दक्षिण अफ्रिका सेमिफाइनलमा पुग्थ्यो । तर, महत्वपूर्ण खेलमा दक्षिण अफ्रिकाले बाजी हा¥यो । समूह २ मा भारत ६ अंकका साथ शीर्ष स्थानमा छ । पाँच अंक जोडेको दक्षिण अफ्रिका दोस्रो र चार अंकका साथ पाकिस्तान तेस्रो स्थानमा छ ।

समूहको अन्तिम खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । पाकिस्तानले बंगलादेशको सामना गर्नेछ । भारतले भने जिम्बावेविरुद्ध खेल्नेछ । अन्तिम खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई हराउँदा सीधै सेमिफाइनलमा पुग्नेछ । भारतले पनि जिम्बावेमाथि जित निकाल्दा समूह विजेताका रूपमा अन्तिम चारमा पुग्नेछ । 

एक किसिमले भारत र दक्षिण अफ्रिकाले आ–आफ्नो अन्तिम खेलमा जित निकाल्दा पाकिस्तानसँगै बंगलादेशको पनि सेमिफाइनल पुग्ने सबै बाटो बन्द हुनेछ । यदि भारत र दक्षिण अफ्रिका पराजित हुँदा पाकिस्तान र बंगलादेशमध्ये एक टोलीको अन्तिम चारमा पुग्ने सम्भावना जीवितै हुनेछ । बंगलादेशले पाकिस्तानलाई हराउँदा ६ अंक हुनेछ । यद्यपि, बंगलादेशको रनरेट निकै कमजोर छ । सेमिफाइनल पुग्न बंगलादेशले पाकिस्तानलाई विशाल अन्तरले हराउनुपर्नेछ । 

यस समूहमा जिम्बावे र नेदरल्यान्ड्स सेमिफाइनल दौडबाट बाहिरिइसकेका छन् । बुधबार नेदरल्यान्ड्सले जिम्बावेमाथि सनसनी जित निकालेको थियो । जिम्बावेले दोस्रो खेलमा पाकिस्तानमाथि रोमाञ्चक एक रनको जित हात पारेको थियो ।

अहमेद र खानको आक्रामक ब्याटिङ
पहिलो ब्याटिङ गरेको पाकिस्तानले निकै खराब सुरुवात गरेको थियो । इनिङ्सको चौथो बलमा पाकिस्तानले ओपनर मोहमद रिजवानलाई गुमाएको थियो । पाकिस्तानले १२.६ ओभरमा पाँच विकेटको नोक्सानीमा ९५ रन जोडेको थियो । दक्षिण अफ्रिकाले यस अवस्थामा खेल पकडमा राखेको थियो । तर, इफितखर अहमेद र सदाव खानले छैटौँ विकेटका लागि ८२ रनको विस्फोटक साझेदारी गर्दा दक्षिण अफ्रिकाको हातबाट खेल फुत्कियो । यी दुवै ब्याट्सम्यानले प्रतिओभर १३ रनरेटमा ब्याटिङ गर्दै दक्षिण अफ्रिकी बलरलाई निराश पारेका थिए । 

इफितखरले ३५ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ५१ रन बनाए । खानले २२ बलमा चार छक्का र तीन चौका प्रहार गरी ५२ रन बनाए । इनिङ्सको १८.५ ओभरमा नोट्जेले खानलाई स्टुबासबाट क्याचआउट गराए । इनिङ्सको १९.१ ओभरमा रावडाले इफितखारको विकेट लिँदै दक्षिण अफ्रिकालाई राहत दिलाए । पाकिस्तानले अन्तिम आठ बलमा तीन विकेट गुमाएको थियो । 

पाकिस्तानको ब्याटिङमा मोहमद ह्यारिसले ११ बलमा तीन छक्का र दुई चौका प्रहार गरी २८ रन जोडे । मोहमद नवाजले २२ बलमा चार चौका र एक छक्का प्रहार गरी २८ रन बनाए । बलिङमा नोट्जेले ४१ रन खर्चेर चार विकेट लिए । 

 अफ्रिदीको कसिलो बलिङ
पाकिस्तानको सानदार जितमा फास्ट बलर साहिन शाह अफ्रिदीले घातक बलिङ गरेका थिए । उनले तीन ओभरमा १४ रन खर्चेर तीन विकेट लिए । उनले क्विन्टन डी कक (०), रिले रोसोउ (७) र हेन्रिक क्लासेन (१५) को विकेट लिँदै दक्षिण अफ्रिकामाथि दबाब राखेको थियो । इनिङ्सको छैटो बलमै साहिनले डी ककको विकेट लिँदै पाकिस्तानलाई पहिलो सफलता दिलाए । ओपनर तथा कप्तान टेम्बा बाभुमाले विकेटको एक छेउबाट आक्रामक रूपमा ब्याटिङ गरेका थिए । उनले केवल १९ बलमा चार चौका र एक छक्का प्रहार गरी ३६ रन जोड्दा दक्षिण अफ्रिका खेलमा फर्किएको थियो । कप्तान टेम्बा आउट हुँदा दक्षिण अफ्रिका ६५–३ को अवस्थामा थियो । यद्यपि, मध्य तथा पुछारका ब्याट्सम्यान चल्न नसक्दा दक्षिण अफ्रिका लक्ष्यसम्म पुग्न सकेन । मध्यक्रमका एडेन माक्रामले १४ बलमा २० रन, क्लासेनले नौ बलमा १५ रन तथा स्टुबासले १८ बलमा १८ रन बनाए । पाकिस्तानका लागि म्यान अफ दी म्याच सदावले दुई ओभरमा १६ रन खर्चेर दुई विकेट हात पारे । 


 

ad
ad