
सहरी विकासमन्त्री मेटमणि चौधरीले संविधान पार्टीभन्दा कैयौँ गुणा ठूलो रहेको बताएका छन्।
सत्तागठबन्धनले बिहीबार आयोजना गरेको राप्ती गाउँपालिकास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चाधरीले यस्ताे बताएका हुन्।
उनले भने, ‘नयाँ संविधान बनाउन कुनै भूमिका नखेलेकाहरूलाई अथवा संविधानै चाहिन्न भन्नेहरूलाई त यी सबै उपलब्धिहरू सामान्य लाग्लान् तर हिजो हाम्रा अग्रजहरू, सहिदहरू र स्वयं हामी सहभागी भएर लडेर ल्याएको यो व्यवस्था, यो संविधान चानचुने संघर्षबाट प्राप्त भएको होइन।’
नयाँ संविधानले समाजका सबैखाले वर्ग, तह र तप्काका जनताका मुद्दा सम्बोधन गरेको बताउँदै उनले तत्कालीन प्रधानमन्त्री केपी ओलीले जनमतको अपमान गरेको बताए।
‘एकजना सन्की, मूर्ख शासकको हातमा मुलुक पुग्दा सबै बरबाद भयो। साराका सारा उपलब्धिहरू गुम्ने खतरा पैदा भयो,’ उनले भने, ‘र, एकजना जननिर्वाचित सांसद हुनुको नाताले हामीले संविधान पार्टीभन्दा कैयौँ गुणा ठूलो कुरा हो भन्ने महसुस गर्यौँ। त्यसैकारण जोखिम मोल्न हामीहरू तयार भयौँ।’
सत्तागठबन्धन दलका कार्यकर्ताहरूलाई प्रदेशमन्त्री इन्द्रजित थारू, समानुपातिक उम्मेदवार सुशीला चौधरी, बुद्धिजीवी देवनारायण चौधरीलगायतले सक्रियतापूर्वक चुनावी माहोल निर्माणमा लाग्न निर्देशन दिएका थिए।