१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार ११:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

२७ करोड ६७ लाख सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा क्यासिनो सञ्चालकविरुद्ध मुद्दा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार ११:५७:oo

२७ करोड ६७ लाख सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले क्यासिनो सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । क्यासिनो सञ्चालक सुरेन्द्रबहादुर सिंहलाई प्रमुख प्रतिवादी बनाएर विभागले चारजनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

सिंहले झापा, भैरहवा, नेपालगन्ज र धनगढीमा ‘ह्याप्पी आवर’ क्यासिनो सञ्चालन गर्दै आएका थिए । क्यासिनोमार्फत विदेशी मुद्रा (भारु र अमेरिकी डलर)को अवैध कारोबार, जुवासम्बन्धी लगायतका कसुरसमेतबाट आर्जन गरेको सम्पत्तिको गैरकानुनी स्रोतको तह–तहमा रुपान्तरण, परिवर्तन, छल्ने, बदल्ने, हस्तान्तरण गर्नेसमेतको निषेधित कार्य गरेको विभागको ठहर छ । त्यसबाट प्रत्यक्ष रूपमा त्यस्तो सम्पत्तिको पुनः प्राप्त भोगचलन, उपयोग, उपभोग र धारणसमेतका कार्य गरेको विभागले जनाएको छ ।

पत्नी जयन्ती थापामगरसमेतको मिलेमतोमा कृत्रिम आर्थिक कारोबार देखाई आर्थिक तथा कानुनी उद्देश्य लुकाउने, कारोबारमा जटिलता सिर्जना गर्नेलगायतका कार्य गरी कसुर गरेको विभागको दाबी छ । कसुरबाट आर्जित सम्पत्ति एकाघरका परिवारका सदस्य शारदादेवी सिंह र छोरा जीवनबहादुर सिंहको नाममा राखी घरजग्गा खरिद, बिक्री गरेको तथा सम्पत्तिको स्रोत, प्रकृति र स्वरूप बदल्न विभिन्न कम्पनीमा लगानी गरेको पनि आरोपपत्रमा उल्लेख छ । 

‘कसुर अपराध गरी प्राप्त सम्पत्तिको गैरकानुनी स्रोतको रुपान्तरण, परिवर्तन र हस्तान्तरणलगायतका निषेधित कार्य गरी–गराई सम्पत्ति शुद्धीकरणको कसुर गरेको तथ्य पुष्टि हुन आयो,’ विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सुरेन्द्रविरुद्ध विभागले २७ करोड ६७ लाख ७८ हजार बिगो कायम गरेको छ । उनको नाममा रहे–भएका सम्पत्ति जफत गर्ने प्रयोजनका लागि विभागले पत्नी शारदादेवी सिंह, छोरा जीवनबहादुरलाई पनि आयोगले प्रतिवादी कायम गरेको छ । 

सिंहले क्यासिनो पछि जयन्ती थापालाई बेचेका थिए । क्यासिनो किनेर सम्पत्ति शुद्धीकरणमा सघाएको आरोपमा विभागले खरिदकर्ता थापालाई पनि प्रतिवादी कायम गरेको छ । 
विभागद्वारा प्रमुख प्रतिवादी कायम गरेको सिंहविरुद्ध यसअघि कहिले जुवा, कहिले विदेशी मुद्रा अपचलनलगायतका विभिन्न मुद्दा अदालतमा दायर भएका छन् । कतिपयमा सफाइ, कतिपयमा दाेषी ठहर र कतिपय विचाराधीन छन् । यस मुद्दामा करिब तीन वर्ष लामो अनुसन्धान टुंग्याएर विभागले अदालतमा मुद्दा दायर गरेको हो । 

ad
ad