१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार o७:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

पुलिसको लगातार दोस्रो जित

पुलिसका ललित राजवंशीले २६ रन खर्चेर पाँच विकेट लिएपछि प्रदेश १ सात विकेटले पराजित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:o१:oo

नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार ललित राजवंशी चम्किएपछि पुलिसले प्रदेश १ लाई सात विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । पुलिसले दुई सय १६ बलअगाडि नै सफलता चुमेको हो । जितसँगै शीर्ष स्थानमा रहेको पुलिसले समूह ‘बी’ बाट चार अंक जोडेको छ । एक–एक खेल खेलेका बामगती र प्रदेश १ अंकविहीन छन् । लुम्बिनी प्रदेश र मधेस प्रदेशले खेल खेल्न बाँकी छ । 

 पुलिसलाई सहज लक्ष्य 
मूलपानी क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको प्रदेश १ ले राजवंशीको घातक बलिङ सामना गर्न सकेन । प्रदेश १ ले ३५.१ ओभरमा सबै विकेट गुमाएर एक सय दुई रन मात्र जोड्यो । म्यान अफ दी म्याच राजवंशीले २६ रन खर्चिएर ५ विकेट लिए । पुलिसले १४ ओभरमै तीन विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । पुलिसको जितमा कुशल भुर्तेलले २८ बलमा सर्वाधिक ४२ रन बनाए । उनले पाँच चौका र तीन छक्का हिर्काएका थिए । 

शंकर रानाले २९ रन जोड्दा कप्तान दीपेन्द्रसिंह ऐरी १४ रन र रसिद खान १६ रनमा अविजित रहे । पुलिसका ओपनर सुनिल धमला गोल्डेन डकआउट भए । युवा बलर राजवंशीले प्रदेश १ विरुद्ध १० ओभर स्पेलमा तीन मेडनसहित २६ रन खर्चिएका थिए । यसबाहेक सागर ढकाल र कप्तान दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए । 

 प्रदेश १ को कमजोर ब्याटिङ
पहिलो ब्याटिङ गरेको प्रदेश १ को ओपनिङ उत्कृष्ट भएको थियो । ओपनर नीरज मुखिया र अंकित सुवेदीले पहिलो विकेटका लागि ११.१ ओभरमा ५६ रनको उत्कृष्ट साझेदारी गरेका थिए । राजवंशीले नीरजलाई बोल्ड गरेपछि पुलिस खेलमा फर्कियो । नीरजले ३७ बलमा पाँच चौका प्रहार गरे । अंकित सुवेदीले चार चौकाको मद्दतमा २४ रन बनाए । मध्यक्रमका विवेक आनन्द मेहताले ४६ बलमा १७ रन जोडे । यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।  

 गण्डकीले सुदूरपश्चिमलाई हरायो 
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको समूह ‘ए’को खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ६९ रनले पराजित गरेको छ । ब्याटिङ र बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरेको गण्डकीले पहिलो खेलमै दुई अंक हासिल गरेको हो । नेट रनरेटका आधारमा एपिएफ क्लबलाई पछाडि पार्दै गण्डकी शीर्ष स्थानमा छ । पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको एपिएफ समान दुई अंकसहित दोस्रो स्थानमा छ ।  

 मिलनको अर्धशतक
त्रिवि मैदानमा गण्डकीले पहिलो ब्याटिङ गरी आठ विकेटको क्षतिमा दुई सय आठ रन बनाएको थियो । प्रत्युत्तरमा सुदूरपश्चिम ३२.४ ओभरमा एक सय ३९ रनमै अलआउट भयो । सुदूरपश्चिमका मिलन बोहराले अर्धशतकीय इनिङ खेले । ६४ बलको सामना गरेका मिलनले तीन चौका र एक छक्का प्रहार गरेका थिए । गजेन्द्र बोहराले ३५ रन र वसन्त कार्कीले १० रन जोडे । अन्य खेलाडीले भने दोहोरो रन बनाउन सकेनन् । कप्तान राजु रिजाल एक रनमा आउट भएपछि गजेन्द्र र मिलनले दोस्रो विकेटका लागि एक सय रनको साझेदारी गरेका थिए । गण्डकीका विपिन खत्रीले चार विकेट लिए ।

 गण्डकीले अर्जन कुमालको अर्धशतक मद्दतमा मध्यम योगफल बनाएको थियो । एक सय पाँच बल खेलेका अर्जुनले १० चौका मद्दतमा सर्वाधिक ६३ रन जोडे । यसबाहेक समीर कँडेलले २६ र विधान श्रेष्ठ तथा अभिषेक बस्नेतले समान २५ रनको योगदान दिए । बलिङतर्फ सुदूरपचिमका कैलाश ऐर, नारायण जोशी र शेर मल्लले समान दुई विकेट लिए । 
 

ad
ad