मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ कार्तिक १४ सोमबार ०९:१९:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

टी–२० विश्वकप क्रिकेट : भारतमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

Read Time : > 3 मिनेट
२०७९ कार्तिक १४ सोमबार ०९:१९:००

दक्षिण अफ्रिकाले आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा आइतबार भारतमाथि पाँच विकेटको रोमाञ्चक जित हात पारेको छ । यो जितसँगै दक्षिण अफ्रिका समूह २ मा शीर्ष स्थानमा उक्लेको छ । दक्षिण अफ्रिकाले सेमिफाइनलको सम्भावना बलियो बनाएको छ । पहिलो ब्याटिङ गरेको भारतले २० ओभरमा नौ विकेट गुमाएर एक सय ३३ रन बनाएको थियो । दक्षिण अफ्रिकाले १९.४ ओभरमा पाँच विकेटको क्षतिमा एक सय ३७ रन बनायो । समूह ‘बी’मा दक्षिण अफ्रिकाले तीन खेलबाट पाँच अंक जोडेको छ । तीनै खेल खेलेको भारतले चार अंक बनाएको छ । 

 अन्तिम ओभरमा  ६ रन आवश्यक 
एक सय ३४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकालाई अन्तिम ओभरमा ६ बलमा ६ रन चाहिएको थियो । भारतका लागि भुवनेश्वर कुमारले बलिङ गरेका थिए । क्रिजमा वेन पार्नेलले भुवनेश्वरको पहिलो बल डट खेले । वेनले दोस्रो बलमा एक रन लिँदै डेविड मिलरलाई स्ट्राइक दिए । तेस्रो बलमा मिलरले चौका प्रहार गरेपछि भारतको जितको सम्भावना सकिएको थियो । चौथो बलमा मिलरले विजयी रन प्रहार गरे । अन्तिमसम्म आउट नभएका मिलरले ४६ बलमा चार चौका र तीन छक्का प्रहार गरी सर्वाधिक ५९ रनको योगदान दिए । 

 बलियो चौथो  विकेटको साझेदारी
इनिङ्सको एक समय दक्षिण अफ्रिका २४/३ को कमजोर स्थितिमा थियो । ओपनर क्वान्टन डी कक एक रन, टेम्बा बभुमा १० रन तथा रिले रोसाउ शून्य रनमा आउट भएका थिए । त्यसपछि एडेन माक्राम र मिलरले चौथो विकेटका लागि ७६ रनको महत्वपूर्ण साझेदारी गर्दै दक्षिण अफ्रिकालाई १५.४ ओभरमा १००÷४ को स्थितिमा मात्र पु¥याएनन्, टोलीलाई जितको नजिकसम्म पुर्‍याए । एडेनले ४१ बलमा ६ चौका र एक छक्का प्रहार गरी ५२ रनको योगदान दिए । उनी हार्दिक पाण्ड्याबाट आउट भए । प्रतिस्पर्धामा माक्रामले व्यक्तिगत ३५ रनमा जीवनदान पाएका थिए । स्पिनर रविचन्द्रन आश्विनको १२.५ ओभरमा विराट कोहलीले माक्रामको सहज क्याच छाडेका थिए । तीव्र गतिका बलर अर्शदीप सिंहले दोस्रो ओभरमा दुई विकेट लिँदै भारतलाई उत्कृष्ट सुरुवात दिलाए । २.१ ओभरमा डी कक एज लागेर स्लिपमा लोकेश राहुलबाट क्याच भए । २.४ ओभरमा अर्शदीपले रोसाउ शून्यमा एलबिडब्लू आउट भए । अर्शदीपले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । 

 सूर्यकुमारको अर्धशतक
पर्थमा टस जितेर पहिलो ब्याटिङ गरेको भारतका सूर्यकुमार यादवले सर्वाधिक ६८ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले ४० बलमा ६ चौका र ३ छक्का प्रहार गरे । चालू विश्वकपमा उनको यो दोस्रो अर्धशतक हो । यसअघि उनले नेदरल्यान्ड्सविरुद्ध पनि अर्धशतकीय योगदान दिएका थिए । भारतका आठ खेलाडीले दोहोरो रन बनाउन सकेनन् । कप्तान रोहित शर्माले १४ बलमा १५ रन तथा विराटले ११ बलमा १२ रन बनाए । 

 पाकिस्तानको पहिलो जित
सन् २००९ को विजेता पाकिस्तानले अस्ट्रेलियामा चलिरहेको आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । सुपर १२ अन्तर्गत समूह २ मा पाकिस्तानले आइतबार नेदरल्यान्ड्समाथि ६ विकेटको जित निकालेको हो । पाकिस्तानले तीन खेलबाट दुई अंक जोडेको छ । यस समूहमा नेदरल्यान्ड्सले तीनवटै खेल गुमाएको छ । पर्थ मैदानमा पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा नौ विकेट गुमाएर ९१ रन मात्र बनाएको थियो । प्रत्युत्तरमा पाकिस्तानले १३.४ ओभरमा चार विकेट गुमाएर ९५ रन जोड्यो । पाकिस्तानको जितमा सदाव खानले घातक बलिङ गरेका थिए । उनले २२ रन खर्चेर तीन विकेट लिएका थिए । उनी खेलका म्यान अफ दी म्याच भए ।

  कसिलो बलिङ
सेमिफाइनल स्थानको आशा जीवितै राख्न पाकिस्तानले नेदरल्यान्ड्सलाई हराउनुपर्ने थियो । महŒवपूर्ण खेलमा पाकिस्तानी बलरले कसिलो बलिङ गरे । कप्तान बाबर अजामले नेदरल्यान्ड्सविरुद्ध ६ बलर प्रयोग गरेका थिए, जसमध्ये पाँच बलरले विकेट लिन सफल भए । फास्ट बलर सहिन साह अफ्रिदीले १९ रन खर्चेर एक विकेट लिए । नसिम साह र ह्यारिस राउफले समान एक विकेट लिए । ह्यारिसले तीन ओभरमा १० रन खर्चेर एक विकेट लिएका थिए । मोहमद वासिमले तीन ओभरमा १५ रन दिँदै दुई विकेट लिए । इनिङ्सको १.२ ओभरमा नेदरल्यान्ड्सले स्टेफानलाई गुमाएको थियो । १४.२ ओभरमा नेदरल्यान्ड्सले चार विकेट गुमाएर ६१ रन बनाएको थियो । 

 दुई ब्याट्सम्यान मात्र टिके
पाकिस्तानको घातक बलिङसामु नेदरल्यान्ड्सका दुई ब्याट्सम्यान मात्र क्रिजमा लामो समय टिके । मध्यक्रमका कोलिन अक्रेम्यान र कप्तान स्टोट एडवार्डले चौथो विकेटका लागि ६५ रनको साझेदारी गर्दै पाकिस्तानलाई २६–३ बाट ६१–४ को स्थितिमा राखे । स्टोटले २० बलमा एक चौकाको सहयोगमा १५ रन तथा कोलिनले २७ बल सामना गरी २७ रनको योगदान दिए । उनले दुई चौका प्रहार गरे । नेदरल्यान्ड्सका अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो रन बटुल्न सकेनन् ।  

 रिजवान अर्धशतक बनाउन चुके
पाकिस्तानका कप्तान अजाम पुनः एकपटक चालू विश्वकपमा रन बनाउन चुकेका छन् । इनिङ्सको १.६ ओभरमा भान डेरबाट रनआउट हुनुअघि बाबरले पाँच बलमा चार रन जोडेका थिए । त्यसपछि ओपनर मोहमद रिजवानले फखर जमानसँग दोस्रो विकेटका लागि ३७ रनको साझेदारी गरे । फखरले १६ बलमा तीन चौकाको मद्दतमा २० रन बनाए । इनिङ्सको १२.१ ओभरमा ओपनर रिजवान ४९ रनमा विकेटकिपर एडवार्डबाट क्याचआउट भए । रिजवानले ३९ बलमा पाँच चौका प्रहार गरे । सान मसुदले १६ बलमा १२ रन बनाए ।  

 ह्यारिसको बाउन्समा ब्याट्सम्यान घाइते
पाकिस्तानका फास्ट बलर ह्यारिसको एक बाउन्स बलमा नेदरल्यान्ड्सका तेस्रो क्रमका ब्याट्सम्यान बास डी लिड घाइते भएका छन् । पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सका ब्याट्सम्यान बास डी ‘रिटायर्ड हट’ हुँदै मैदानबाट बाहिरिएका हुन् । ह्यारिसले बास डीविरुद्ध प्रतिघन्टा एक सय ४२ किमिको स्पिडमा बल फ्याँकेका थिए । बल सीधै बास डीको हेलमेटमा लागेको थियो । बलको तीव्र गतिका कारण उनी घाइते भए । बास डीको बायाँ आँखामा चोट लागेको छ ।