१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार १७:४५:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमाले गण्डकीकाे प्रतिबद्धतापत्र : सबल अर्थतन्त्र, व्यावसायिक शिक्षामा जाेड  

‘सुशासन, समृद्ध र समाजवादको आधार, गण्डकी प्रदेशमा एमालेको सरकार’ 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १७:४५:oo

‘सुशासन, समृद्ध र समाजवादको आधार, गण्डकी प्रदेशमा एमालेको सरकार’ भन्ने नारासहित नेकपा एमाले, गण्डकी प्रदेश कमिटीले ४ मंसिरमा हुने प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै आफनो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ।

आइतबार पोखरामा पत्रकार सम्मेलन गरी एमालेले गण्डकी प्रदेश कमिटीले आफनो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो। पार्टीका गण्डकी प्रदेश सचिव धनञ्जय दवाडीको संयोजकत्वको टोलीले प्रतिबद्धतापत्र तयार गरेको हो। 

प्रतिबद्धतापत्रमा विशेष गरी पार्टी नेतृत्वको सरकारले सुरु गरेको तर पूरा गर्न बाँकी रहेका कामहरू आउँदो पाँच वर्षमा पूरा गर्ने, भौतिक पूर्वाधार विकासको कामलाई पहिलो प्राथमिकतामा राखिएको संयोजक दवाडीले जानकारी दिए। 

पार्टीको दीर्घकालीन रणनीतिक लक्ष्य समाजवाद निर्माण गर्ने रहेकोले यसका लागि उत्पादक शक्ति र उत्पादन सम्बन्धको विकास, वितरण प्रणालीमा आमजनताको पहुँच स्थापित गर्न आवश्यक रहेको दवाडीले बताए।

विगतमा अपनाइएको उदारीकरणको नीतिले आर्थिक क्रियाकलापमा राज्यको भूमिका खुम्चिएका कारण राष्ट्रिय पुँजी निर्माणमा सार्वजनिक क्षेत्रको उपस्थिति कमजोर हुन पुगेकाले प्रतिबद्धतापत्रमा उल्लेख छ। 

यस्तो परिस्थितिमा समाजवाद आधार निर्माणको यात्रा थप कठिन र चुनौतीपूर्ण हुने हुँदा मूल लक्ष्य प्राप्तिको लागि पार्टी दृढ संकल्पित रहेको र अबको २५ वर्षमा समृद्ध प्रदेश र सुखी नागरिक निर्माण गर्दै समाजवादउन्मुख हुने पार्टीको दीर्घकालीन दृष्टिकोण रहेको दवाडीको भनाइ छ। यसका लागि प्रदेशका नागरिकहरूलाई सक्षम बनाउँदै समावेशी समाज र सबल अर्थतन्त्र भएको प्रदेश निर्माण गर्ने काम नै आफूहरूको मुख्य लक्ष्य छ।

सबल अर्थतन्त्र, व्यावसायिक शिक्षामा जाेड 

समाजवादको आधार तयार गरी केन्द्र सरकारसँगको आर्थिक निर्भरता घटाउँदै लैजाने, करको दायरा बढाएर राजस्व वृद्धि गरी प्रदेशलाई आफ्नो खुट्टामा उभ्याउने, गरिबीको रेखामुनि रहेका प्रदेशका १४ प्रतिशत जनतालाई पहिचानसहित परिचयपत्र जारी गरी रासनकार्ड र रोजगारीसँगै राहतका कार्यक्रम ल्याउने, प्रदेशमा रहेका ५ हजार गरिब तथा असहाय, अल्पसंख्यक र पिछडिएका वर्गका विद्यार्थीलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमसहित रोजगारीको व्यवस्था गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ।

बिजुली नपुगेका प्रदेशका ४ प्रतिशत घरधुरीमा बिजुली पुर्याउने, प्रदेशका मुख्य राजमार्ग र स्थानीय सडकको दुरी घटाउन सकिने खण्डमा छोटा दुरीका सुरुङमार्ग निर्माण गर्ने, कोराला र त्रिवेणी नाकालाई व्यवस्थित बनाउन सहरीकरण गर्ने, प्रदेशका सबै मुख्य पर्यटकीय गन्तव्यमा र होमस्टे भएका गाउँहरूमा पुग्न पूर्वाधारहरूको विकास, सामुदायिक होमस्टेलाई आर्थिक केन्द्रका रूपमा विकास गरी रोजगारी सिर्जना गर्ने माध्यमको रूपमा विकास, लमजुङको घलेगाउँ र राइनास, गोरखाको भच्चेक–सिरानडाँडा, तनहुँको बन्दीपुर र मान्हुँकोट, कास्कीको अस्ताम–धम्पुस, बेनासकोट, भिरचोक, स्यक्लुङकोट पर्वतको भुक र लेस्पार, बाग्लुङको भकुन्डे आदिलाई प्रदेशका हिल स्टेसनको रूपमा विकास गर्ने, पदमार्गहरूको विकास, संरक्षण र प्रवर्द्धन गर्ने प्रतिबद्धता एमालेको छ।

प्रदेशमा रहेका पाँच हजार पर्यटकीय होटेल, रेस्टुराँ, होमस्टे, कृषक तथा कृषि फार्महरूको डिजिटलीकरण एवं सञ्जालीकरण, त्रिवेणीधाम–देवघाट–केलादीघाट–मुक्तिनाथ–दामोदरकुण्ड–गलेश्वर पौलत्स्य आश्रम–पञ्चकोट–बाग्लुङ कालिका–विन्दवासिनी–ईशानेश्वर महादेव–व्यास गुफा–गोरखा कालिका दरबार–मनकामनालगायतका धार्मिक क्षेत्रलाई एकीकृत धार्मिक पर्यटकीय पदमार्गको रूपमा विकास र प्रवर्द्धन गर्ने एमालेले प्रतिबद्धता गरेको छ।

गण्डकी विश्वविद्यालयअन्तर्गत पाँच सय शय्याको शिक्षण अस्पतालसँगै मुटु, मृगौला, क्यान्सर उपचारका लागि ५०-५० शय्याका विशिष्टीकृत अस्पताल निर्माण, गर्भवती महिला, जेष्ठ नागरिक, अपांगको घरघरमा गई स्वास्थ जाँचको व्यवस्था, प्राथमिक स्वास्थ्य केन्द्र तथा प्रादेशिक अस्पतालहरूमा एकएक हजार डाक्टर, नर्स र जनस्वास्थ्य अधिकृतलगायतका जनशक्ति व्यवस्थापन गरी नागरिकलाई निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा दिने, प्रत्येक वडामा जेष्ठ नागरिक सेवा केन्द्र, बाल हेरचाह केन्द्र र बाल उद्यानको व्यवस्था, गण्डकी विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानमार्फत सार्वजनिक विद्यालयमा कक्षा ९ बाट सीप विकास तालिम र करियर काउन्सिलिङ व्यवस्था गर्ने, प्रादेशिक पुस्तकालय स्थापनाको कामलाई एमाले गण्डकीले आफनो प्रतिबद्धतापत्रमा समेटेको छ।

सशक्त नागरिक, सबल अर्थतन्त्र, समावेशी समाज निर्माण, कृषक वर्गीकरण गरी कृषि उत्पादनको अनुपातमा प्रोत्साहन अनुदान, प्रदेशस्तरीय कोल्ड स्टोर र प्रत्येक वडामा कोल्ड रुम स्थापना, कृषि फार्म र कृषि उपज बिक्री केन्द्रहरूको डिजिटाइजेसन र सञ्जालीकरण, एक पालिकामा एक नमुना हरितगृह स्थापना र सञ्चालन, स्याउ र सुन्तला खेती विस्तार गरी पाँच वर्षमा उत्पादन दोब्बर हुने गरी कार्यक्रम सञ्चालन, कृषक परिचयपत्र, हिमाली, पहाडी र तराई क्षेत्रमा अनुसन्धान केन्द्र स्थापना, सिँचाइ सुविधा पुगेका कृषियोग्य जग्गामा वर्षको कम्तीमा दुई खेती गर्न उत्प्रेरित हुने कार्यक्रम सञ्चालन गर्ने, प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम र नवलपुरको लोकाहा खोला र कास्कीको पुड़िटारमा प्रादेशिकस्तरको औद्योगिक क्षेत्र स्थापना, नवलपुरको धौबादी र पर्वतको फलाम खानी सञ्चालनका लागि सहयोग र लगानीको वातावरण निर्माण, डिजिटल कौशल विकास प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने कामसमेत एमालेले आउँदो पाँच वर्षमा गर्ने प्रतिबद्धता गरेको छ।

पानीका मुहान संरक्षण, सरसफाइ तथा गुणस्तरको परीक्षण, एक घर एक धारा कार्यक्रम सम्पन्न गर्ने, प्रदेशका सबै घरहरूमा राष्ट्रिय प्रसारण लाइनमार्फतको विद्युतमा पहुँच स्थापित गर्ने, नयाँ सहरहरूको विकास गर्ने, अल्पसंख्यक, दलित र घरवारविहीन सबै गरिब परिवारलाई आवासको व्यवस्थासँगै उनीहरूको जीवनस्तर उकास्न रोजगारीका लागि सीप प्रदान गर्ने, आधारभूत शिक्षा निःशुल्क र अनिवार्य, माध्यमिक शिक्षा निःशुल्क र उच्च शिक्षा सर्वसुलभ बनाउने, प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रमा कम्तीमा एक नमुना विद्यालय स्थापना गरी शैक्षिक सुधार कार्यक्रम सञ्चालन, विद्यालयहरूको मर्ज, छात्रवास निर्माण र विद्यालय बस सेवा सञ्चालन गर्न आवश्यक सहयोग गर्ने, स्थानीय तहसँगको सहकार्यमा प्रत्येक वडामा कम्तीमा एक प्रारम्भिक बाल विकास विद्यालय स्थापना एवं सञ्चालन, गरिब तथा अल्पसंख्यक विद्यार्थीहरूको उच्च शिक्षाका लागि ऋणको व्यवस्थाले प्रतिबद्धतापत्रमा उल्लेख छ। 

यस्तै, व्यावसायिक सीपयुक्त युवाहरूलाई व्यवसाय सञ्चालनका लागि बिउ पुँजीको व्यवस्था, रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न उत्प्रेरित हुने कार्यक्रमसँगै विदेशमा कार्यरत जनशक्तिको अभिलेखीकरण गरी विकास निर्माणमा ब्रेन बैंकका रूपमा उपयोग गर्ने, गण्डकीमा जन्मिएका र विदेशमा रहेका भाषा साहित्य र कलाका क्षेत्रमा योगदान दिइरहेका नेपालीहरूको अभिलेखीकरण गरी उनीहरूका सिर्जनाहरूलाई अपनत्व ग्रहण गरी प्रादेशिक पुस्तकालयमार्फत अध्ययनको व्यवस्था मिलाइने सार्वजनिक प्रतिबद्धतापत्रमा उल्लेख छ।

कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्यसमेत रहेका प्रदेश सहइन्चार्ज जगत विश्वकर्मा, एमाले गण्डकीका अध्यक्ष नवराज शर्मा, पार्टीका प्रदेश उपसचिव तथा प्रचार विभाग प्रमुख रश्मि आचार्यलगायतले आगामी निर्वाचनसँगै पार्टीले गर्ने कामका बारेमा जानकारी दिएका थिए। 
 

ad
ad