१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
कतारको दोहास्थित एक भवनको भित्तामा टाँसिएको फुटबलर ह्यारी केनको तस्बिर ।
एजेन्सी
२०७९ कार्तिक १३ आइतबार ०९:४५:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

विश्वकप तयारी : कतारमा यसरी भइरहेछ स्टार खेलाडीको प्रचार 

Read Time : > 2 मिनेट
एजेन्सी
२०७९ कार्तिक १३ आइतबार ०९:४५:००

इंग्लिस फुटबलर ह्यारी केनले यसअघि कहिल्यै अनुुमान नगरेको दृश्य आउँदो कतार विश्वकपमा देख्नेछन् । उनकोे ३० फिट अग्लो तस्बिर दोहाको एक गगनचुम्बी भवनको भित्तामा टाँसिएको छ । लुइस सुआरेज, लुका मोड्रिक, भर्जिल भान डाइक र साडियो माने पनि भवनवरपर बेरिएका १३ खेलाडीमध्ये पर्छन् । विश्वकप र यसका स्टार खेलाडीलाई आयोजक देशले व्यापक प्रचार गरिरहेको छ । खेलाडीहरू जताततै चित्रित छन्, जसरी प्रतियोगिताको नारा चित्रित गरिएको छ । व्यापक प्रचारबीच यो सानो देशले १० लाख प्रशंसकको आगमनका लागि तीव्र तयारी गरिरहेको छ । 

कतार एयरवेजको विमानमा चढेदेखि विश्वकपको ज्वरो सुरु हुन्छ । रोबर्ट लेवान्डोस्की र नेयमार जहाजभित्र सेफ्टी भिडियोमा चित्रित छन् । सिटमा अडेस लाग्ने तकियामा लेखिएको छ, ‘फुटबल जोस हो ।’

हमाद अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी ढंगले व्यवस्थापन गरिएको छ । १० मिनेटको पैदल दूरीमा रहेका आठ रंगशालामध्ये पाँच रंगशालामा मेट्रो स्टप छन् । तर, गलत ‘क्यारियज’मा चढ्न सावधान हुनुपर्नेछ । केही क्यारियज परिवार र महिलाका लागि मात्र छुट्याइएका छन् । टिकट भएको कुनै पनि फ्यानले हाय कार्ड एप लिएर मेट्रोमा निःशुल्क यात्रा गर्न सक्नेछन् । उबर नेटवर्क प्रभावकारी छ, यद्यपि यसको परीक्षण हुन बाँकी छ । बारम्बार हुने ट्राफिक जामको झन्झटबाट जोगिन कतारले प्रतियोगिता आयोजना हुने महिना स्कुल बिदा दिएको छ ।

८० प्रतिशत कोठा बुुक
फुटबलप्रेमीलाई कोठा उपलब्ध गराउनुु जुनसुकै विश्वककप आयोजक देशका लागि चुनौतीपूर्ण विषय हो । यो फुटबल समर्थक संघ (एफएसए)का लागि वास्तविक चिन्ताको विषय हो । दोहाका मुख्य होटेलमध्ये ८० प्रतिशत कोठा बुक भएका छन, जसलाई फिफाले मार्केटिङ गरिरहेको छ । सस्ता भिल्ला (एक रातको ७० युरो) र अपार्टमेन्टहरू बुक भइसकेका छन् र थप २० हजार कोठा आगामी केही दिनमा उपलब्ध हुने अपेक्षा गरिएको छ । प्रतियोगिताको सुरुवाती दिनमा भिल्लाको बढ्दो माग छ । सरकारले स्थानीयलाई उनीहरूको भिल्ला अन्तर्राष्ट्रिय प्रशंसकलाई दिन अनुमति दिएको छ ।

समुद्री जीवन 
फुटबलप्रेमीलाई राख्न दुई क्रुज जहाज दोहा बन्दरगाह पुुग्दै छन् । १९ सय केबिन भएको जर्मनीमा निर्मित जहाज एमएससी युरोपा फ्रान्सबाट प्रस्थान गरिसकेको छ । त्यस्तै, अर्को क्रुज जहाज एमएसी पोसिया पनि बन्दरगाहमा सामेल हुनेछ ।

ती जहाजमा तीन हजार आठ सय ९८ क्याबिन, ४५ वटा बार र १० वटा भोजन केन्द्र छन् । तर, ती निकै महँगा छन् । न्यूनतम मूल्य एक रातको पाँच सय ३० युरो  हुनेछ । धेरै फ्यानहरूले दुबईमा बस्ने निर्णय गरेका छन् । अर्जेन्टिनाका फ्यानहरू दक्षिण अमेरिकाबाट आफ्नै क्रुुज लाइनरमा आइपुग्नेछन् । 

फ्यान जोन
ठाउँ अभावका कारण फिफाले एउटा ठूलो फ्यान जोन सिर्जना गर्दै छ । कोर्निसीनजिकै अल बिडा पार्कमा ४० हजार क्षमताको फ्यान जोन बनाइँदै छ । पेय पदार्थको मज्जा लिँदै ठूला स्क्रिनहरूमा खेल हेर्न चाहने खेलप्रेमी त्यहाँ जान सक्नेछन् । त्यहाँ स्थानीय समयअनुसार साँझ साढे ६ बजेदेखि बिहान एक बजेसम्म पेय बिक्री गरिनेछ । फिफाले फ्यान जोनमा पहिलो दुई खेलका लागि मदिरारहित वातावरण कायम राख्ने र आयोजकको सम्मान गर्ने दृष्टिकोण राखेको छ । मुस्लिम देश कतारमा धेरैले मदिरालाई शंकाको नजरले हेर्छन् । तर, केही होटेलले निश्चित स्थानमा पिउने क्षेत्रहरू उपलब्ध गराउन खोजिरहेका छन् ।

आर्टिफिसियल इन्टेलिजेन्स परिचालन
पहिलोपटक विश्वकपमा नासा–शैलीको नियन्त्रण केन्द्रमार्फत प्रतियोगिता निरीक्षणको व्यवस्था गरिएको छ । सोही केन्द्रबाट कर्मचारीले आठवटै रंगशाला एकैसाथ निगरानी गर्न सक्नेछन् । त्यहाँ प्रत्येक रंगशालामा १५ हजार क्यामरा जडान गरिएका छन् । विश्वकपमा कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पनि परिचालन गरिएको छ । एआई प्रविधिको अर्थ हो कि जान नपाइने रंगशालाको कुनै भागमा प्रशंसकको समूह जान खोजेमा अलार्म बज्नेछ । ‘हामीले प्रशंसक र अवाञ्छनीय गतिविधि स्पष्ट रूपमा पहिचान गर्न सक्छौँ,’ सुविधाका प्रमुख प्राविधिक अधिकारी नियास अबुलराहिमान भन्छन् । भिड नियन्त्रण गर्न विशेष व्यवस्था गरिएको छ । फोहोर फाल्नेलाई १० हजार कतारी रियाल जरिवाना गर्ने चेतावनीयुक्त बोर्डहरू टाँसिएका छन् ।