मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ कार्तिक ५ शनिबार १५:०५:००
Read Time : > 3 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश १ को राजधानी मोरङमा तीव्र प्रतिस्पर्धा

Read Time : > 3 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ कार्तिक ५ शनिबार १५:०५:००

प्रदेश १ को राजधानी रहेको मोरङका प्रतिनिधिसभाका सबै ६ निर्वाचन क्षेत्रमा राजनीतिक दलहरूले चुनावी गतिविधि तीव्र बनाएका छन्। यहाँ कांग्रेस, माओवादी, एकीकृत समाजवादी र लोसपा सम्मिलित वामलोकतान्त्रिक गठबन्धन र एमाले–जसपा गठबन्धनका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा देखिएको छ।

क्षेत्र नम्बर ६ : नतिजा उल्टाउने शेखरको कोसिस, लालबाबु दोहोर्याउने दाउमा
क्षेत्र नम्बर ६ मा कांग्रेसका डा. शेखर कोइराला र लालबाबु पण्डितबीच मुख्य प्रतिस्पर्धा देखिन्छ। कोइराला सत्तागठबन्धनको तर्फबाट र पण्डित एमालेबाट उम्मेदवार बनेका हुन्। ०७४ मा पनि यी दुईबीच नै मुख्य प्रतिस्पर्धा भएको थियो। त्यसवेला एमाले–माओवादीका साझा उम्मेदवार पण्डितले ६४८ मतले कोइरालालाई पराजित गरेका थिए। पण्डित सोही नतिजा दोहोर्याउन चाहन्छन् भने कोइराला बलियो गठबन्धनको बलमा नतिजा उल्टाउन चाहन्छन्।

क्षेत्र नम्बर ६ मा विराटनगर महानगरपालिकाअन्तर्गतका ४, ५, ६, ७, ९, ११ र १२ नम्बर वडासहित बुढीगंगा गाउँपालिका र सुन्दरहरैँचा नगरपपालिकाको २, ३, ४, ५, ६ र ७ नम्बर वडा पर्छन्। यहाँ गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीका वडाध्यक्षहरूले ३५ हजार तीन सय ३२ मत र एमालेका वडाध्यक्षहरूले २४ हजार पाँच सय ३६ मत पाएका थिए। यस क्षेत्रमा पालिकामा खसेको मतपरिणाम हेर्दा एमालेभन्दा सत्तागठबन्धन १० हजार सात सय ७६ मत अगाडि छ। ती वडामा लोसपाबाट उठेका वडाध्यक्षले एक हजार मत प्राप्त गरेका थिए। अहिले लोसपा वामलोकतान्त्रिक गठबन्धनमै रहेकाले सो मत पनि उतै जोड्दा अन्तर अझ फराकिलो देखिन्छ। 

क्षेत्र नम्बर ५ : एमालेका बागीले जोखिममा जसपा
मोरङको दक्षिण भारतीय सीमावर्ती क्षेत्र समेटिएको निर्वाचन क्षेत्र नम्बर ५ मा वामलोकतान्त्रिक गठबन्धनको तर्फबाट माओवादी केन्द्रका पोलिटब्युरो सदस्य शिवकुमार मण्डल र जसपाका केन्द्रीय सदस्य राजकुमार यादवबीच मुख्य प्रतिस्पर्धा हुँदै छ। जसपाले एमालेसँग तालमेल गरेर उम्मेदवारी दिएको हो। तर, एमालेका योगेन्द्र मण्डल बागी उठेका छन्।

क्षेत्र नम्बर ५ मा विराटनगर महानगरका १३, १४, १५, १६, १७ र १८, जहदा र धनपालथान गाउँपालिकाका सबै तथा रंगेली नगरपालिकाका ४, ५, ६ र ७ नम्बर वडा पर्छन्। यी वडामा गत स्थानीय तह निर्वाचनमा दलका वडाध्यक्षहरूले पाएको मत हेर्दा सत्तागठबन्धन केही अघि देखिन्छ। स्थानीय तह निर्वाचनमा सत्तागठबन्धन दलका वडाध्यक्षले ३१ हजार आठ सय ७८ र एमाले–जसपाले २९ हजार नौ सय २९ मत पाएका थिए। निकट प्रतिस्पर्धा देखिए पनि जसपाविरुद्ध एमालेका नेताको बागी उम्मेदवारी रहेकाले जसपा पंक्ति केही चिन्तित देखिन्छ। 

क्षेत्र नम्बर ४ : मोदी–ढकालबीच तीव्र प्रतिस्पर्धा
विराटनगरको १,२,३, ७, ८, ९, १० र १९, ग्रामथान गाउँपालिकाका सबै तथा बेलबारी नगरपालिकाका ५, ६ र ७ नम्बर वडा यो क्षेत्रमा पर्छन् । यहाँ सत्तागठबन्धनका वडाध्यक्षले २५ हजार सात सय ३० र एमालेका वडाध्यक्षहरूले २४ हजार एक सय ३९ मत ल्याएका थिए। एमाले एक हजार चार सय ९१ मतले पछि देखिन्छ। तर, यहाँ कांग्रेस र माओवादीका एकएक बागी उम्मेदवार मैदानमा रहेकाले जबर्जस्त प्रतिस्पर्धाको अनुमान गरिएको छ।

यहाँ वामलोकतान्त्रिक गठबन्धनको तर्फबाट माओवादी केन्द्रका अमनलाल मोदी र एमालेका विनोद ढकाल मैदानमा छन्। यिनै दुईबीच मुख्य प्रतिस्पर्धा देखिएको छ। ०७४ को निर्वाचनमा एमाले–माओवादीका उम्मेदवार रहेको मोदीले कांग्रेसका महेश आचार्यलाई भारी मनान्तरले पराजित गरेका थिए। थारूको बाहुल्य भएको क्षेत्र भएकाले मोदीको पकड बलियो मानिन्छ। तर, यहाँ कांग्रेसका र माओवादीबाट समेत एक–एकजना बागी उम्मेदवार रहेकाले त्यसको प्रभाव पर्ने सम्भावना पनि त्यत्तिकै छ। 

क्षेत्र नम्बर ३ : सुनील शर्मा र भानुभक्तलाई रेखाको चुनौती
पूर्व–पश्चिम लोकमार्ग क्षेत्रका बेलबारी र पथरी शनिश्चरे अनि केराबारी गाउँपालिका समेटिएको मोरङ ३ मा सत्तागठबन्धनबाट सुनील शर्मा र एमालेबाट भानुभक्त ढकाल उम्मेदवार छन्। यहाँ राप्रपाबाट चर्चित नायिका रेखा थापा पनि चुनावी मैदानमी छिन्। ०७४ को निर्वाचनमा भानुभक्तले सुनील शर्मालाई एक हजार नौ सय सात मतले हराएका थिए। त्यसवेला भानुभक्त एमाले–माओवादी गठबन्धनका उम्मेदवार थिए।

गत वैशाखको स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मत हेर्दा सत्तागठबन्धन बलियो अवस्थामा देखिन्छ। उसले ४६ हजार एक सय ४४ मत पाउँदा एमालेका वडाध्यक्षहरूले ३७ हजार चार सय १० मत पाएका थिए। यसरी हेर्दा आठ हजार सात सय ३४ मतले सत्तागठबन्धन अगाडि देखिए पनि त्यो मत तीन दलको साझा हो भने एमाले एक्लैको मत ३७ हजारभन्दा बढी छ। यी दुईबीचको भिडन्तमा नायिका रेखा थापाको उपस्थिति निर्णायक देखिन्छ। उनले आफ्नो रिल लाइफको क्रेज रियल लाइफमा देखाउन सकिएन भने दुवै हेभिवेटमाथि भारी पर्न सक्छिन्।

क्षेत्र नम्बर २ : सहज छैन सुजातालाई
मोरङ २, ०७४ को निर्वाचनमा कांग्रेसका डा. मीनेन्द्र रिजालले एमालेका ऋषिकेश पोखरेललाई १७ सय ७८ मतले पराजित गरेको क्षेत्र हो। त्यसवेला एमालेका उम्मेदवार माओवादीसमेतको गठबन्धनका साझा थिए। यसपटक एमालेले ऋषिकेशलाई नै उम्मेदवार बनाएको छ। कांग्रेसले भने मीनेन्द्रको ठाउँमा सुजाता कोइरालालाई अघि सारेको छ। उनी सत्तागठबन्धनको साझा उम्मेदवार हुन्।

दक्षिणी क्षेत्रमा पर्ने मोरङको क्षेत्र नम्बर २ मा रतुवामाई र सुनवर्षी नगरपालिकाका सबै तथा रंगेली नगरपालिकाका १, २, ३, ८, ९, पथरीशनिश्चरे नगरपालिकाको ५ र ६, कानेपोखरी गाउँपालिकाका १, २ र ३ नम्बर वडा पर्छन्।

गत वैशाखको स्थानीय तह निर्वाचनको मतपरिणाम हेर्दा सत्तागठबन्धनलाई ३६ हजार ६३४ मत मिलेको थियो भने एमालेले ३१ हजार तीन सय १० मत पाएको थियो। यसरी हेर्दा सत्तागठबन्धन पाँच हजारभन्दा बढी मतले अगाडि देखिन्छ। तर, निरन्तर निर्वाचन क्षेत्रमा खटिएर मतदातासँग घुलमिल भइसकेका डा. मीनेन्द्रले टिकट नपाउँदा असन्तुष्टि सुजाताका लागि भारी पर्न सक्छ।

कांग्रेस सभापति, पूर्वप्रधानमन्त्री रहेका स्वर्गीय गिरिजाप्रसाद कोइराला आफ्नो राजनीतिक जीवनकालमा यही क्षेत्रबाट उम्मेदवार बन्ने गरेका थिए। त्यसैले सुजाता बाबुको त्यही लिगेसीको फाइदा आफूलाई हुनेमा विश्वस्त देखिन्छिन्। 

क्षेत्र नम्बर १ : घनश्याम–डिकबहादुर मुख्य प्रतिस्पर्धी
उत्तरी क्षेत्रमा पर्ने मोरङ १ मा वामलोकतान्त्रिक गठबन्धनका कांग्रेस उम्मेदवार डिकबहादुर लिम्बू र एमालेका घनश्याम खतिवडा मुख्य प्रतिस्पर्धामा छन्। ०७४ मा एमालेका घनश्यामले कांग्रेसका डिकबहादुरलाई पराजित गरेका थिए। अहिले पनि यिनै दुईबीच मुख्य भिडन्त देखिएको छ। घनश्याम जित दोहाेर्याउने प्रयत्नमा छन् भने कांग्रेसका डिकबहादुर पाँच वर्षअघिको हारलाई जितमा परिणत गर्ने प्रयासमा छन् ।

यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको कुल ३९ हजार ३०७ मत छ। एमाले एक्लैको ३२ हजार तीन सय ४७ मत छ। सत्तागठबन्धन करिब सात हजार मतान्तरले अगाडि देखिन्छ।