मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक ५ शनिबार
  • Friday, 12 September, 2025
२o७९ कार्तिक ५ शनिबार १२:५५:oo
Read Time : > 1 मिनेट
फिचर डिजिटल संस्करण

‘कुराउनी बाजे’को कुराउनी, पाहुरदेखि लाहुरसम्म

दुई दशकदेखि कुराउनी बनाउँदै आएका बाजे हातले घोटेरै मासिक ८० हजारको कुराउनी बेच्छन् ।

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक ५ शनिबार १२:५५:oo

रेसुंगा नगरपालिका–९ विद्युतचोकका ६६ वर्षीय कुराउनी बाजेले उपल्लो तम्घासमा कुराउनी बनाउन थालेको दुई दशक बित्यो। वास्तविक नाम डिलाराम पाण्डे भएपनि उनलाई सबैले कुराउनी बाजे भनेर चिन्छन्। अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ घर भएका पाण्डेय कुराउनी व्यवसाय गर्नकै लागि बजार आएका हुन्।

सैतै फुलेका उनी कच्ची घरमा मिठो कुराउनी बनाउँछन्। उनी साँझ–बिहान कुराउनी पकाउन व्यस्त हुन्छन्। उनले बनाएको कुराउनी नचाखेका र पाहुर नलग्ने व्यक्ति सायदै होलान्। उनी हातले दूध घोटेरै कुराउनी पकाउँछन्। खाँदा मिठो र स्वादिष्ट भएपनि कुराउनी पकाउन भने सजिलो छैन। दूध धेरै छ भने बिहान ७ बजे बसाल्दा साँझ मात्रै कुराउनी बन्छ।

मासिक ८० हजारको कुराउनी बिक्री
डिलाराम पाण्डेले दैनिक कम्तिमा दुई किलो कुराउनी बनाउँछन्। एक किलो कुराउनीको १२ देखि १५ सय पर्छ। महिनामा ६० देखि ७० किलो कुराउनी जिल्ला तथा बाहिर बिक्री भइरहेको पाण्डेय बताउँछन्। उनको अनुभवमा पाँच लिटर दूधको एक किलो कुराउनी बन्छ। अहिले बजारमा एक सय १० रुपैयाँ प्रतिलिटर दूधको मूल्य रहेको छ।

कुराउनीका लागि चिनी, ल्वाङ र सुकमेललगायतका सामग्री आवश्यक पर्छ। त्योबाहेक दाउरा र मेहेनत पर्ने पाण्डे बताउँछन्। उनका अनुसार मासिक ७० देखि ८० हजारको कुराउनी बिक्री हुँदा खर्च कटाएर ३५÷४० हजार बचत हुन्छ। ‘पछिल्लो समय मेसिनबाट पनि कुराउनी बन्न थाल्यो। तर, मान्छेहरुले आगोमा हातले घोटेरै पकाएको कुराउनी खोज्छन्,’ उनले भने।

पाहुरदेखि लाहुरसम्म पुग्छ कुराउनी
पाण्डेले बनाएको कुराउनी जाडो मौसममा स्थानीय बजारकै नागरिकले धेरै खान्छन्। जाडोयाममा लामो समयसम्म नबिग्रने भएकाले बुटवलदेखि काठमाडौंसम्म उनको कुराउनीको माग बढि हुन्छ। पाण्डेयका अनुसार छोरी–बुहारी घर–माइत गर्दा, विवाह, रक्षाबन्धन र दसैँमा पनि कुराउनीको माग बढि हुने गर्छ। त्यसबाहेक परदेश जानेहरुले समेत कुराउनी लैजाने गरेका उनले बताए।

‘पसलमै तातो कुराउनी खाने व्यवस्था छ। पाहुरदेखि लाहुरसम्म पनि मेरो कुराउनी पुग्यो,’  उनले भने, ‘सिजनमा १०÷१२ किलो पनि बनाउँछु।’ कुराउनी स्टक भए उनी आफैंले बोकेर बिक्री गर्न बजार पुग्छन्। उनका अनुसार गुल्मीबाट पाल्पा, बुटवल, पोखरा र काठमाडौं बस्नेहरुले पनि गाडीमा कुराउनी मगाउने गरेका छन्।

कुराउनी बेचेरै परिवार पाले
डिलारामकी श्रीमती र बुहारीले घर व्यबहार सम्हालेका छन्। उनी घरमै पनि कुराउनी बनाएर तम्घास पठाउँछन्। जेठा छोरा बलराम पाल्पा प्रभासमा होटल व्यवसाय गर्छन्। सानो छोरा एसइई पछि पाल्पामै अध्ययन गर्दैछन्। पाण्डेले कुराउनी बेचेरै रेसुंगामा १० रोपनी खेत जोडेका छन्।

उनले परौठा र खाजाका विभिन्न परिकार पनि बनाउँदै आएका छन्। उमेरले थेग्ने बेलासम्म कुराउनी घोट्न छाड्ने उनको योजना छैन। नयाँ प्रविधी आएपनि आफूले सक्ने बेलासम्म आगो फुकेर र हातले घोटेरै कुराउनी बनाउने उनले बताए।