Skip This
मर्जर निर्देशिका नआउँदा ३४ कम्पनीको कारोबार रोक्का खुलेन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ३ बिहीबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक ३ बिहीबार o६:२९:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मर्जर निर्देशिका नआउँदा ३४ कम्पनीको कारोबार रोक्का खुलेन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक ३ बिहीबार o६:२९:oo

नेपाल धितोपत्र बोर्डले मर्जरसम्बन्धी निर्देशिका जारी नगर्दा ३४ कम्पनीको कारोबार रोक्काकै अवस्थामा रहेका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत मर्जर रोक्का वा फुकुवाको सम्पूर्ण जिम्मा धितोपत्र बोर्डलाई दिएको भए पनि बोर्डले समयमै निर्देशिका ल्याउनमा ढिलाइ गरेकाले कारोबार लामो समय रोक्का भएको हो । 
अहिले नेप्सेमा सूचीकृत आठ वाणिज्य बैंक, आठ लाइफ इन्स्योरेन्स कम्पनी, १० माइक्रोफाइनान्स कम्पनी र आठ नन्लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार मर्जर प्रक्रियामा भएका कारण रोक्का रहेका छन् ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एकआपसमा गाभिने मर्जर तथा प्राप्तिसम्बन्धीको विनियमावली संशोधन गरेर आइसक्दा पनि बोर्डले निर्देशिका जारी गरेको छैन । यसको सोझो असर लगानीकर्तालाई पर्दै आएको छ । राष्ट्र बैंक र बिमा समितिले आफ्नामातहतका कम्पनीहरूलाई मर्जमा जान प्रोत्साहन गरेपछि करिब तीन दर्जन कम्पनी मर्जरको प्रक्रियामा छन् र यसले लाखाैँ लगानीकर्ताको सेयर कारोबार हुन सकेको छैन । 

बोर्डले बिमा समिति, राष्ट्र बैंक, जलविद्युत् नियमन आयोगलगायतको नियामक निकायसँगको सहकार्यमा संगठित संस्था एकआपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ का प्रारम्भिक मस्यौदा सार्वजनिक गरिसकेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने र गाभिनेसम्बन्धी विनियमावली, २०७३ लाई पाँचौँ संशोधन गरेपछि मर्जर गर्दा सेयर कारोबार बन्द गर्नुपर्ने बाध्यता हटेको छ ।

तर, निर्देशिका ल्याएर कार्यान्वयनको जिम्मा पाएको बोर्डले निर्देशिका जारी नहुँदा कारोबार रोक्का गर्नुपर्ने वा फुकुवा गर्ने कुनै निर्णय गरेको छैन । धितोपत्र बोर्डका प्रवक्ता रूपेश केसीले निर्देशिका जारी गर्ने अन्तिम चरणमा पुगेको हुँदा निर्देशिका जारी भएपछि मात्र रोक्का फुकुवाको पक्रिया अघि बढ्ने बताए । उनले भने, ‘निर्देशिका जारी नहुन्जेल कारोबार रोक्का नै रहन्छ, त्यसपछि के गर्ने भन्ने निर्देशिका अनुसार नै हुन्छ ।’

मर्जर निर्देशिका कार्यान्वयन भएसँगै यी सबै कम्पनीको कारोबार सम्बन्धित नियामक निकायको समन्वयमा खोल्दै जाने उनले बताए । प्रारम्भिक मस्यौदामा नियामक निकायबाट गाभिने कम्पनीको एकीकृत कारोबार भएको बढीमा १५ दिनसम्म मात्रै कारोबार रोक्का गर्न पाउने प्रावधान राखिएको छ । मस्यौदामा भनिएको छ, ‘एकीकृत व्यावसायिक कारोबार गर्ने मितिबाट गाभ्ने संस्था वा प्राप्ति गर्ने संस्था र गाभिने संस्था वा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरणलगायतका कार्यका लागि बढीमा १५ कार्य दिन सेयर कारोबार रोक्का राख्नुपर्नेछ ।’