बझाङ दुर्घटना : मृतकको संख्या आठ पुग्यो [अपडेट]

बुधबार, २ कार्तिक, २०७९
डिजिटल संस्करण

बझाङको मस्टा गाउँपालिका- १ तुफानडाँडानजिकै जिप दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या आठ पुगेकाे छ। साथै, दुर्घटनामा १५ जना घाइते भएका छन्।

बुधबार साँझ साढे ४ बजे मस्टा गाउँपालिका- १ डुग्रीबाट भातेखोला जाने क्रममा सु–प–प्र–००१ च ११७ नम्बरको जिप दुर्घटना भएको हो। जिप दुर्घटना भएर सडकभन्दा झन्डै तीन सय मिटर तल खसेको थियो।

दुर्घटनामा मृत्यु तथा घाइते हुनेमा अधिकांश यात्रुहरू जिल्लाको प्रसिद्ध सुर्मादेवी मेला हेरेर घर फर्किनेहरू रहेको प्रहरीले जनाएको छ। 
 
प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा मस्टा गाउँपालिका- २ का १३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, १६ वर्षीय प्रचण्ड खड्का, २८ वर्षीया वसन्ती धामी (कठायत) ३७ वर्षीया वीरेन्द्र अधिकारी, ७ महिनाकी दत्सिका कठायत, शुक्लाफाँटा- ७ का झरेन्द्र बोहरा र ५० वर्षीया सिन्कीदेवी भण्डारी छन्। 

गम्भीर घाइते भएकी सिन्कीदेवीलाई थप उपचारका लागि कैलाली लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए। 

यस्तै, घाइते हुनेमा मस्टा गाउँपालिका– २ का ८ वर्षीय अमृत खड्का, १३ वर्षीया रोशनी धामी, सिंहवीर बुढा, जिपचालक ३५ वर्षीय राजेश रोकाया, ४ वर्षीय सिर्जन सिंह, ११ वर्षीया अम्बिका सिंह, २५ वर्षीया कमला कठायत, २१ वर्षीया नन्दा ओखेडा, मस्टा- १ बस्ने ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीय ईश्वर ओखेडा, अनिष ओखेडा, १० वर्षीय अंकित खड्का, ७५ वर्षीय वीरबहादुर खड्का, ४ वर्षीय सिम्रन सिंह, २२ वर्षीया हेमन्ती सिंह रहेकाे प्रहरीले जनाएकाे छ।  
 
क्षमताभन्दा धेरै यात्रु बोक्दा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए। 

उनले जिपमा सवार अन्य यात्रुहरूको उद्धार गरी गम्भीर घाइते ५ जनालाई नेपालगन्ज रेफर गरेको र बाँकी ११ जना घाइतेको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ। 

दुर्घटनामा घाइतेको उद्धार गर्न मस्टा गाउँपालिकाका वडाध्यक्ष रामचन्द्र रोकायालगायत पालिकाका जनप्रतिनिधि, सञ्चारकर्मी,  स्थानीय,  नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीको टोली घटनास्थल पुगेको थियो। 

सुझावित समाचार