मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत ११ शनिबार
  • Saturday, 25 March, 2023
२०७९ कार्तिक २ बुधबार १६:४२:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

विज्ञ भन्छन्– सरकारले ठूला किसानलाई कृषि अनुदान दिनुहुँदैन

Read Time : < 1 मिनेट
२०७९ कार्तिक २ बुधबार १६:४२:००

कृषिविज्ञहरूले सरकारले ठूला किसानलाई कृषि अनुदान दिन नहुने बताएका छन्। बुधबार काठमाडौंमा भएको ‘जैविक खेती : खाद्य प्रणालीको पुनर्जीवन’ विषयक अन्तर्क्रियामा विज्ञहरूले साना किसानलाई अनुदान, मझौला किसानलाई प्रविधि र ठूला किसानलाई नयाँ कृषि प्रणाली विकासका लागि प्रोत्साहन गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा बोल्दै राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमिल्सिनाले सरकारले ठूला किसानलाई अनुदान दिन आवश्यक नभएको बताए। साना किसानलाई व्यवस्थापन, मझौला किसानलाई उत्थान र ठूला किसानलाई नयाँ कृषि प्रणालीको विकासमा सहयोग गर्न जरुरी रहेको उनको धारणा छ। डा. तिमिल्सिनाले सरकारसँग भएको कृषि ज्ञान केन्द्र असफल भएको भन्दै नयाँ संरचनाका साथ सरकार अघि बढ्नुपर्नेमा जोड दिए।

त्यस्तै, कृषि आनुवंशिक स्रोतकेन्द्र जिन बैंक नार्कका प्रमुख तथा वैज्ञानिक डा. बालकृष्ण जोशीले रैथाने बालीको उत्पादन बढाउन नेपालको ठाउँविशेष प्रमुख खाद्य बाली लगाउनुपर्ने औँल्याए। १९८० सालभन्दा अघि नेपालका विभिन्न क्षेत्रमा फरकफरक जातका खाद्य उत्पादन हुने गरेको उल्लेख गर्दै उनले अहिले ठाउँअनुसार प्रमुख खाद्य बाली लगाउने प्रचलन कम भएको बताए।

कृषक माधव ढुंगेलले सरकारले विष र विषमुक्त उत्पादन सँगै बाँड्ने दोहोरी नीति लिएको आरोप लगाए। किसानले जैविक खेती गर्छु भन्दा पनि जैविक खेती गर्नेहरूको सिन्डिकेटअनुसार सरकारले लाइसेन्स खोज्ने गरेको उनले बताए। सरकार किसानका लागि नीतिगत निर्णय गर्नसमेत स्वतन्त्र नरहेको भन्दै उनले सरकार अरू कसैबाट अनुबन्धित रहेको बताए।