
नेपाली कांग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले संयोजकसहित सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको हो।
संयोजकसहित ७ वटै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरिएको समितिका सदस्यसमेत रहेका कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाले जानकारी दिए। बैठकमा समितिका सदस्यहरूले सबै क्षेत्रमा उम्मेदवारी नदिएकाले समानुपातिकतर्फको मत घट्न सक्ने उल्लेख गर्दै त्यसमा विशेष ध्यान दिएर निर्वाचन परिचालनको काम गर्नुपर्ने सुझाव दिएका थिए।
त्यसैगरी, बैठकमा पार्टीको चुनावी घोषणापत्र आएपछि त्यसको प्रचारको कामलाई प्रभावकारी बनाउन पनि लागिपर्ने धारणा समितिका सदस्यहरूबाट आएको नेता ढुंगानाले बताए। पार्टीको आन्तरिक निर्वाचन परिचालनको कामलाई प्रभावकारी बनाउनका लागि नेता गोपालमान श्रेष्ठ नेतृत्वमा कांग्रेसले ११० सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ। सत्तारुढ गठबन्धनले यसअघि नै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचन परिचालन समितिको संयोजक तोकिसकेको छ।