मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी बेइजिङ
२०७९ असोज ३१ सोमबार ०८:४९:००
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

विश्वको ध्यान आकृष्ट गर्दै चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय अधिवेशन सुरु

Read Time : > 2 मिनेट
एजेन्सी, बेइजिङ
२०७९ असोज ३१ सोमबार ०८:४९:००

चीनको बेइजिङस्थित ग्रेट हल अफ पिपुल्समा हिजो (अक्टोबर १६) बाट त्यहाँको सत्तारुढ पार्टीको महत्वपूर्ण २०औँ राष्ट्रिय अधिवेशन सुरु भएको छ । अधिवेशनले उच्च नेतासहित राष्ट्रपति सी जिनपिङको स्थान पार्टीभित्र थप सशक्त बनाउने अनुमान गरिएको छ । उनी विगत केही दशकदेखिको परम्परा तोड्दै तेस्रो कार्यकालका लागि पार्टी प्रमुख चुनिने आकलन छ । 

के हुन्छ अधिवेशनमा ?
तियानमेन स्क्वायरको ग्रेट हल अफ पिपुल्समा सुरु भएको करिब २३ सय प्रतिनिधिमण्डलको भेला एक साता चल्नेछ । उनीहरूमध्येबाट २०५ जनालाई पार्टीको केन्द्रीय समिति छनोट गरिनेछ भने करिब १७० जना वैकल्पिक सदस्यमा छनोट हुनेछन् । केन्द्रीय समितिले २५ जनालाई पार्टीको पोलिटब्युरोमा निर्वाचित गर्नेछ र पोलिटब्युुरोले स्थायी समितिका सदस्य छान्नेछ । स्थायी समितिमा अहिले पार्टी महासचिव सी जिनपिङसहित सातजना सदस्य छन् । उनीहरू सबै पुरुष हुन् । 

तेस्रो कार्यकालको तयारी गर्दै सी जिनपिङ 
चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको २०औँ अधिवेशनले सी जिनपिङलाई तेस्रो पाँचवर्षे कार्यकालको अनुमति दिने अपेक्षा गरिएको छ । सन् २०१८ मा संविधान संशोधन गरी दुई कार्यकालको सीमा हटाएर ६९ वर्षीय सीलाई जीवनभर सत्तामा रहने बाटो खुलाइएको थियो । तेस्रो कार्यकालका लागि निर्वाचित भएमा चीनमा सीको पकड अझ बलियो हुनेछ । हाल सी जिनपिङले तीनवटा उच्च पद सम्हालिरहेका छन् । उनी चीनको कम्युनिस्ट पार्टीको प्रमुख, राष्ट्रपति र केन्द्रीय सैन्य आयोगको अध्यक्ष हुन । 

सीले सेना र प्रहरीजस्ता महत्वपूर्ण संस्थाहरूमा आफ्नो शक्ति सुदृढ पारेका छन् भने प्रतिद्वन्द्वीलाई भ्रष्टाचारविरोधी अभियानमार्फत निर्मूल गरेका छन् । उनले सन् २०१७ मा चिनियाँ संविधानमा आफ्नो राजनीतिक लेखन– चिनियाँ विशेषतासहितको समाजवादलाई ‘सी जिनपिङ विचार’ भनेर लेखाउनेसम्मको सफलता हासिल गरेका थिए । चीनका थुप्रै शीर्ष नेताहरूले कम्युनिस्ट पार्टीको माक्र्सवादी–लेनिनवादी सिद्धान्तको दिशानिर्देशन गर्ने कृति लेखेका भए पनि माओ, देङ र हाल सीले मात्र संविधानमा आफ्ना नाम समावेश गरेका छन् । 

‘राजनीतिक शक्तिमा आफ्नो पकडमा सी जिनपिङले कुनै गम्भीर चुनौती सामना गरेको देखिँदैन र पार्टीका अधिकांश एलिटको समर्थन उनैलाई छ । फलस्वरूप उनले लगभग निश्चित रूपमा तेस्रो कार्यकाल सुरक्षित गर्नेछन् । सीले आफूलाई माओ र देङ सियाओपिङजस्ता कम्युनिस्ट पार्टीका मुख्य नेताहरूको स्तरमा वा त्यसभन्दा पनि माथि राखिसकेका छन्,’ अमेरिकास्थित सेन्टर फर एडभान्स्ड चाइना रिसर्चका विश्लेषण निर्देशक ब्रक इर्डहल बताउँछन् ।

केही विश्लेषकका अनुसार कम्युनिस्ट सरकारको वैधता विशेषतः आयमा निरन्तर वृद्धि र चिनियाँ कामदारका लागि राम्रो रोजगार प्रदान गर्ने क्षमतामा निर्भर छ । आगामी पाँच वर्षको आर्थिक प्रदर्शनले सीको सफलता असफलता निर्धारण गर्नेछ । अधिवेशनले केन्द्रीय बैंकका गभर्नर र प्रधानमन्त्रीलगायत प्रमुख आर्थिक निकायका नेतृत्व बदल्न सक्छ । 

किन महत्वका साथ हेरिँदै छ अधिवेशनलाई ?
चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र र बढ्दो सैन्यशक्ति भएकाले त्यहाँको सत्तारुढ दलको अधिवेशनलाई विश्वले ध्यान दिएर हेरिरहेको छ । यस अधिवेशनले चीनको आगामी पाँच वर्षको दिशाको खाका तयार पार्ने भएकाले पनि यसमा धेरैको चसो छ । तथापि पश्चिमा विश्लेषकहरू भने यस महाधिवेशनबाट चीन थप अधिनायकवादी मार्गमा लाग्ने भविष्यवाणी गर्दै छन् । चिनियाँ कम्युनिस्ट पार्टी नौ करोड ६० लाखभन्दा धेरै प्रतिबद्ध पार्टी कार्यकर्ता र जमिनीस्तरमा ४९ लाखभन्दा धेरै संगठन भएको पार्टी हो । 

लन्डन विश्वविद्यालयको स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिज (एसओएसएस)का प्राध्यापक स्टिभ साङ भन्छन्, ‘माओको नेतृत्वमा चीन एउटा तानाशाही शासन थियो । हामीहरू अझै पनि त्यहाँ पुगिसकेका छैनौँ, तर त्यो दिशातर्फ उन्मुख छौँ ।’ उनका अनुसार अधिवेशनले पार्टीको विधान परिमार्जन गर्दै ‘सी जिनपिङ चिन्तन’लाई पार्टीको निर्देशित दर्शनको रूपमा थप्नेछ । सीको नेतृत्वमा चिनियाँ अधिकारीले विभिन्न क्षेत्रका ठूला कम्पनीमा दमनकारी कदम चलाए । त्यो दोहोरिरह्यो भने चीन प्रभावकारी ढंगले एक तानाशाहीतर्फ अघि बढ्नेछ,’ प्राध्यापक साङ भन्छन् । चीनको स्टेट काउन्सिलका पूर्वकाउन्सिलर हेनरी याओहुई वाङ भने चीनलाई समृद्ध र आधुनिक समाज निर्माण गर्ने श्रेय सीलाई दिनुपर्नेमा जोड दिन्छन् । उनी चीनको शासनशैली फरक भएको कुरा स्विकार्नुपर्ने बताउँछन्।

आइतबारबाट अधिवेशन सुरु हुँदै गर्दा सन् १९४९ देखि चीनमा शासन गरिरहेको पार्टीले पछिल्लो ३० वर्षयताको सबैभन्दा कठिन आर्थिक चुनौतीको सामना गरिरहेको छ । यो वर्ष चीनको कुल गार्हस्थ उत्पादन (जिडिपी) वृद्धिदर दुुईदेखि तीन प्रतिशतमा सीमित हुने अनुमान छ, जुन विगत दशकको चीनको वृद्धिदरको तुलनामा उल्लेख्य कम हो । वृद्धिमा गिरावटको मुख्य कारण सरकारले अंगीकार गरेको शून्य कोभिड नीति, युक्रेन युद्ध सिर्जित मूल्यवृद्धि र निजी क्षेत्रमाथि पार्टीको कडाइलाई बताइँदै छ । संसारका अधिकांश देशहरू सामान्य अवस्थामा फर्किए पनि महामारी नियन्त्रण गर्न चिनियाँ अधिकारीले कठोर लकडाउन, सामूहिक परीक्षण र लामो क्वारेन्टिनजस्ता उपाय अझै कार्यान्वयन गरिरहेका छन् । सेनझेन र चेङडुुसहित ७० भन्दा बढी सहर हालैका दिनमा पूर्ण वा आंशिक लकडाउनमा छन् । जसका कारण दसौँ लाख मानिस र ठूलो संख्यामा व्यवसाय प्रभावित छन् । 

पछिल्लो समय चीन र पश्चिमा मुलुकबीचको सम्बन्ध चिसिँदै गएको छ । हङकङ, सिनजियाङ तथा ताइवानप्रति चीनको बढ्दो आक्रामकताप्रति पश्चिमा मुलुकले असन्तुष्टि व्यक्त गर्ने गर्छन् । राष्ट्रसंघको प्रतिवेदनअनुसार चीनले व्यावसायिक सीप तालिम केन्द्रको नाममा सिनजियाङमा १० लाखभन्दा बढी उइगुर मुसलमानलाई बन्दी बनाएर राखेको छ । चीनले ताइवानलाई अलग शासन रहेको आफ्नो एक विद्रोही प्रान्तको रूपमा हेर्छ । उसले एक दिन ताइवान आफ्नो शासनमा ल्याउने विश्वास लिएको छ । सी जिनपिङले २०औँ अधिवेशनको स्वागत सम्बोधनमा पनि यो भनाइलाई कडा रूपमा दोहोर्‍याए । सुरक्षा विश्लेषकहरूका अनुसार यदि ताइवान चीनको नियन्त्रणमा आयो भने पश्चिमी प्रशान्त महासागर र त्यसभन्दा बाहिरसम्म अमेरिकी शक्तिमा धक्का लाग्नेछ ।