मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण २१ सोमबार
  • Monday, 04 March, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०७९ असोज ३१ सोमबार ०६:२७:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अस्ताए वाङमय शताब्दी पुरुष

पाटन बखुम्बहालमा रहेको लोकसाहित्य भवनको तेस्रो तलाको भित्तामा चक्र संवरको भित्तेचित्र कोर्ने, आफैँले लेखेको चारुमती नाटक मञ्चन गर्ने र पाटन दरबारस्थित भण्डारखाल क्षेत्रमा सत्यमोहन बगैचा बनाउने संस्कृतिविद् जोशीको अन्तिम धोको अधूरै

Read Time : > 4 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ असोज ३१ सोमबार ०६:२७:००

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले गत ३० वैशाखमा जन्मदिन मनाउँदै गर्दा आफ्नो अन्तिम इच्छा सुनाएका थिए– पाटन बखुम्बहालमा रहेको लोकसाहित्य भवनको तेस्रो तलाको भित्तामा चक्र संवरको भित्तेचित्र कोर्ने, आफैँले लेखेको चारुमती नाटक मञ्चन गर्ने र पाटन दरबारस्थित भण्डारखाल क्षेत्रमा सत्यमोहन बगैँचा बनाउने ।

ललितपुर महानगरपालिका र उनको परिवार पनि यी इच्छा सक्दो छिटो पूरा गरिदिन लागिपरेका थिए । धर्म–संस्कृति र जीवन बुझाउने चक्र संवरको मूर्ति निर्माण ८० प्रतिशत सकिएको छ । तर, भण्डारखाल क्षेत्रमा बगैँचा बनेको छैन, चारुमती नाटक मञ्चन गर्ने सपना पनि अधुरो हुँदै संस्कृतिविद् जोशी सांसारिक जीवनबाट बिदा भए ।

नेपाली भाषा, साहित्य, कला–संस्कृतिको श्रीवृद्धिका निम्ति उच्च योगदान पुर्‍याएका विशिष्ट सर्जक जोशी आइतबार सदाका लागि अस्ताएका छन् । आफ्नो जीवन नै भाषा, कला, साहित्य, संस्कृति र पुरातत्वको अध्ययन अनुसन्धानमा समर्पित गरेका उनको बिहान ७ बजेर ९ मिनेटमा ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेजमा निधन भएको हो । 

एक सय तीन वर्षका जोशी डेंगु, निमोनिया र पिसाबमा संक्रमण भएर २३ दिनदेखि किस्ट अस्पतालमा उपचार गर्दै थिए । पछिल्लो चार दिनदेखि औषधिले समेत काम गर्न छाडेपछि निमोनियाले पनि गाँज्दा उनी अचेत थिए । वृद्ध उमेर र निमोनियाको संक्रमणका कारण जोशीलाई बचाउन नसकिएको अस्पतालका निर्देशक 
डा. सुरज बज्राचार्यले बताए । 

जोशीको निधनसँगै नेपाली कला–संस्कृति क्षेत्रको एक युगको अन्त्य भएको छ । तर, जोशीको निधनपछि उनले इच्छाएका तीनवटा काम पूरा गर्न नपाएकोमा दुःख लागेको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सुनाए । उनका अनुसार महानगरले पाँच वर्षदेखि उनलाई गाडी सुविधासहित उपचार पनि निःशुल्क गर्दै आइरहेको थियो । ‘उहाँले धर्म–संस्कृति संरक्षण र समाज परिवर्तनमा ठूलो योगदान पुर्‍याउनुभएको छ,’ उनले भने, ‘तर, हामीले उहाँ जीवितै छँदा उहाँले नै इच्छाएका केही काम पूरा गरिदिन सकेनौँ, तर ती काम पूरा गरेर छाड्छौँ ।’ 

आइतबार दिउँसो ललितपुर महानगर प्रांगणमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो । उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, निवर्तमान सभामुख अग्नि सापकोटालगायत शीर्ष नेता, कलाकार, बुद्धिजीवी र नागरिक समाजका गरी सात हजारभन्दा बढीले जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएको मेयर महर्जनले बताए । दिवंगत जोशी २० वैशाख १९७७ मा पाटनको बखुम्बहालमा जन्मिएका थिए । उनका ९९ वर्षीया श्रीमती राधा, तीन छोरा र एक छोरी छन् । 

खाँटी नेवारी समुदाय रहेको पाटनको बखुम्बहालमा जन्मिएका उनी सानैदेखि तीष्ण र जिज्ञासु थिए । सम्पदै–सम्पदाको सहरमा हुर्कंदै गर्दा उनी कलाप्रेमी भए । ‘उहाँ खाँटी नेवारी समुदायमा जन्मिएको व्यक्ति, सानोमा पनि कला र सम्पदाप्रेमी हुनुहुन्थ्यो रे,’ नई प्रकाशनका संस्थापक अध्यक्ष नरेन्द्रराज प्रसाईंले भने, ‘उहाँ इमानदार र इज्जतिलो जीवन बाँच्ने व्यक्ति हो ।’ 

नेपालको साहित्य–संस्कृतिको खोज–अनुसन्धानमा जोशीको भूमिका अतुलनीय छ । जुम्लाको सिँजा उपत्यका र त्यहाँँको लोक–संस्कृतिको पहिलोपटक अध्ययन उनैले गरेका थिए । त्यस्तै, नेपाल लोक–संस्कृति, साहित्य र नाट्य क्षेत्रमा पनि उनले अध्ययन अनुसन्धान गरेका छन् । यसबारे उनका कैयौँ कृति प्रकाशित पनि छन् । 

जोशीले हालसम्म तीनपटक मदन पुरस्कार पाएका छन् । पहिलोपटक २०१३ (हाम्रो लोक–संस्कृति), दोस्रोपटक २०१७ (नेपाली राष्ट्रिय मुद्रा) र तेस्रोपटक २०२८ (कर्णाली लोक–संस्कृति)मा उनले मदन पुरस्कार पाएका हुन् । हालसम्म तीनपटक मदन पुरस्कार पाउने उनी नै एक्ला व्यक्ति हुन् । यसबाहेक नई प्रकाशनको संयोजनमा त्रिमूर्ति निकेतनबाट ०७१ मा शताब्दी पुरुषको पाँच लाख नगदसहित उपाधि पाएका थिए । नई स्वीकृति पुरस्कार, भानुभक्त स्वर्ण पदक पुरस्कार, पृथ्वी प्रज्ञा पुरस्कार, भूपाल पुरस्कार, डिल्लीरमण पुरस्कारलगायत सरकारी तथा विभिन्न गैरसरकारी संस्थाबाट दुई सयभन्दा बढी पुरस्कार पाएका छन् । जोशीले दुई सय ८५ जनालाई सत्यमोहन जोशी शताब्दी पदक वितरण गरेका छन् । 

राष्ट्रिय विभूति अरनिकोको खोजी पनि जोशीले नै गरेका थिए । उनका निबन्ध, प्रबन्ध, कविता, कथा, नाटक र अनुसन्धानात्मक गरी ८० वटा पुस्तक प्रकाशित छन् । यीमध्ये ३५ नेपाली भाषा, ४३ नेवारी र दुई अंग्रेजी भाषामा प्रकाशित छन् । उमेरले शताब्दी पार गर्दा पनि उनी आफ्नो भाषा, कला र संस्कृति जोगाउनमै सक्रिय थिए ।

 जोशीले त्रिचन्द्र कलेजबाट १९९७ मा आइए र २००२ मा बिए पास गरेका थिए । उनलाई ०६७ मा काठमाडौं विश्वविद्यालयले मानार्थ महाविद्यावारिधि प्रदान गरेको थियो । १५ मंसिर ०७१ मा शताब्दी पुरुषको उपाधि प्रदान गरिएको थियो । त्यतिवेला उनी ९५ वर्षका थिए । त्यसलगत्तै सरकारले उनलाई ‘वाङ्मय शताब्दी पुरुष’को उपमा दिएको थियो ।

चिन्तन र मननलाई अपनाएका जोशी
जोशीको सबैभन्दा पीडादायी समय नै निमोनियाले अस्पतालको शड्ढयामा छटपटाएका २३ दिन भए । त्यसअघि उनी स्वस्थ थिए । एक सय तीन वर्षको जीवनमा यसअघि सिकिस्त भएर यसरी अस्पताल भर्ना हुनुपरेको थिएन । जति जीवन बाँचे उनी खुसीका साथ बाँचे, किनभने जोशीसँग धर्म–संस्कृति र कलाको मात्रै ज्ञान थिएन, स्वस्थ जीवन जिउन सक्ने कला पनि थियो । उनले आफ्नो जीवनमा चिन्ताभन्दा चिन्तन र मननलाई अपनाए । यही कारण पनि आफू दीर्घजीवन बाँचेको जोशीले सार्वजनिक समारोहहरूमै व्यक्त गरिरहन्थे । 

‘बा’ गुमाउँदा शोकमग्न पाटन
उमेरले नेटो काटे पनि जोशी अझै बाँच्लान् भने धेरैको आशा थियो । तर, आइतबार उनको निधनको खबरले धेरैलाई स्तब्ध पार्‍यो । उनी जन्मे–हुर्केको पाटन क्षेत्र शोकमा डुबेको छ । देशकै परिचय बोकेका जोशीको देहावसानसँगै पाटन क्षेत्रले ‘बा’ गुमाएको उनका छिमेकी अजरमान जोशीले बताए । ‘उहाँ उमेरले मात्रै होइन, कदले पनि ‘बा’ हुनुहुन्थ्यो । तर, अझै बाँच्नुहन्छ कि भन्ने आशा राख्दाराख्दै अस्ताउनुभयो,’ जोशीले भने । पाटन क्षेत्रमा ललितपुर महानगरपालिकाले उनको नाममा सालिक तथा अन्य चिनारी पनि बनाउने जनाएको छ । पुल्चोक गाबहाल हुँदै निस्कने सडकखण्डलाई ‘सत्यमोहन सडकखण्ड’ नामकरण गरिएको छ । 

शताब्दी पुरुषले भोगेका अनुभव
-जोशी १९९० सालको भूकम्पका पनि साक्षी थिए । त्यतिवेला २ माघमा भूकम्प आउँदाको क्षण उनी नयाँ पुस्तालाई सुनाउने गर्थे । उनले ०७२ को भूकम्प पनि भोगे ।
-राणा प्रधानमन्त्री जुद्धशमशेरको पालामा औद्योगिक–व्यापारिक समाचार संग्रह अड्डामा जोशीले पहिलोपटक जागिर सुरु गरेका थिए ।
-शुक्रराज शास्त्रीलाई १९९७ मा टेकुमा झुन्ड्याएर मार्ने वेला जोशीले प्रत्यक्ष देखेका थिए ।
-जोशीले काठमाडौंलाई घना जंगल हुँदादेखि घना सहरीकरणसम्म देखे ।
-उनले विश्वलाई विनाश गर्ने कोरोना भाइरस र लकडाउन पनि भोग्न पाए । 
-जोशी नेपाली नयाँ राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी...’ छनोट समिति संयोजक बन्न पाए । 
-हुलाक टिकट र सिक्का संकलनका सौखिन जोशीको नाममा २० माघ ०७७ मा हुलाक टिकट पनि प्रकाशन भयो । 
-हालसम्म मदन पुरस्कार तीनपटक पाउने व्यक्ति जोशी मात्रै हुन् । 
-जोशीले पाएको प्रथम मदन पुरस्कारको राशि ६ हजार हाराहारी थियो ।
-२०१७ मा राजा महेन्द्रको पालामा पुरातत्व विभागबाट जोशीको जागिर खोसिएको थियो । 
-२०१३ मा उनी खरिदारको जागिर गर्थे, त्यसबापत मासिक ५० रुपैयाँ तलब पाउँथे ।

पार्थिव शरीर मेडिकल साइन्स अध्ययनका लागि दान

पिताको इच्छाबमोजिम शरीर अस्पताललाई दान दिएपछि सत्यमोहन जोशीको जन्मकुण्डली शंखमूलस्थित बागमती घाटमा बेलुकी ६.१४ बजे जलाउँदै जेठा छोरा अनुराज र कान्छा छोरा डा. पूर्णराज जोशी । तस्बिर : गिरीश गिरीको फेसबुकबाट


प्रायः पाका व्यक्तिहरूले मृत्युपश्चात् आफ्नो शरीर दान गर्न रुचाउँदैनन् । परम्पराअनुसार नै भौतिक शरीरको अन्त्येष्टि होस् भन्ने इच्छा राख्छन् । तर, सत्यमोहन जोशीले मेडिकल साइन्सको क्षेत्रमा सघाउ पुर्‍याउने उद्देश्यले मृत्युपश्चात् आफ्नो शरीर किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई दान गर्ने इच्छा राखे । उनको यो नितान्त व्यक्तिगत इच्छा थियो । सोहीअनुसार परिवारले आइतबार श्रद्धाञ्जली कार्यक्रमपछि उनको शरीर अस्पताललाई बुझाएका छन् । अब जोशीको दीर्घजीवन र निरोगीपनबारे अध्ययन गरिने अस्पतालका निर्देशक डा. सुरज बज्राचार्यले बताए । ‘उहाँ अलौकिक व्यक्ति हो, कुनै रोग र दुखाइविना १०३ वर्ष बाँच्नु सामान्य होइन,’ उनले भने, ‘त्यसैले पनि उहाँको शरीरबारे अध्ययन गर्न आश्वयक देखिएको हो ।’

‘बा’ गुमाउँदा शोकमग्न पाटन, जोशीको निधनमा कसले के भने ?