१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार o९:२७:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

टी–२० विश्वकप जित्ने भारतको न्यून सम्भावना 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o९:२७:oo

देश/विदेश

भारतले यो विश्वकप जित्दैन भनिहाल्न नसकिए पनि साबिक विजेता अस्ट्रेलिया, इंग्ल्यान्ड र पाकिस्तान उपाधिका दाबेदार मानिँदै छन् 

लकुद क्षेत्रमा ऐन मौकामै असफल प्रदर्शन कसको हुने गर्छ ? यसमा तीन विश्वकपको फाइनल र तीन सेमिफाइनलमा हार व्यहोरेको फ्रान्सेली रग्बी युनियन टोली, सन् १९५५ देखि हालसम्म पनि एउटै उपाधि नजितेको इंग्लिस प्रिमियर लिग फुटबल क्लब न्युक्यासल युनाइटेड, विश्वकै उत्कृष्ट खेलाडी हुँदाहुँदै पनि पाँचमध्ये चार ग्रान्डस्लाम फाइनलमा पराजित भएका अमेरिकी टेनिस खेलाडी एन्डी रोडिक पर्छन् भन्न सकिन्छ । यी तीनैसँग आफूले गर्ने प्रदर्शनभन्दा कैयौँ गुणा बढी सीप एवं स्रोतसाधन छन् । अन्तरनिहित खेल क्षमता एवं सीप र प्रदर्शनको सबैभन्दा ठूलो भिन्नता भारतको टी–२० क्रिकेट टिममा देख्न सकिन्छ ।  

अस्ट्रेलियामा आज १६ अक्टोबरदेखि टी–२० क्रिकेट विश्वकप सुरु हुँदै छ । टी–२० संस्करणको क्रिकेट भारतका लागि निराशाको कारण बन्ने गरेको छ । करिब एक अर्ब ४० करोड जनसंख्या भएको मुलुक भारतमा क्रिकेटप्रति ठूलै क्रेज छ र खेलमा ठूलो मात्रामा पँुजी लगानी हुन्छ । वास्तवमा सन् २००७ मा दक्षिण अफ्रिकामा भएको पहिलो विश्वकप खेलको फाइनलमा आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वी पाकिस्तानलाई पराजित गरेर भारतले उपाधि जितेको थियो । सन् २०१४ को विश्वकपमा दाबेदार टोली भए पनि भारत फाइनलमा श्रीलंकासँग पराजित भयो । त्यसैगरी सन् २०१६ मा भारत सेमिफाइनलमा वेस्ट इन्डिजसँग पराजित भयो । बाँकीका प्रदर्शनलाई एक दुःस्वप्न भने पनि हुन्छ । 

निश्चय नै खेल सट्टेबाजले भारतलाई यस वर्षको विश्वकपमा जित्ने दोस्रो प्राथमिकतामा राखेका छन्, तर भारतको टी–२० इतिहासअनुसार दोस्रो प्राथमिकतामा पर्नु नपर्ने हो । भारतीय क्रिकेट टोलीसँग महत्वपूर्ण संरचनागत लाभ छन् । सन् २००७ को विश्वकप विजयपछि भारतको क्रिकेट बोर्ड बिसिसिआईले घरेलु टी–२० लिग आयोजना गर्न अनुमति दियो । इन्डियन प्रिमियर लिग (आइपिएल) ले ठूलै सफलता हासिल गर्‍यो, जहाँ ठूलो संख्यामा टेलिभिजन दर्शक आकर्षित गर्नुका साथै प्रसारणबाट अर्बौं डलर आम्दानी गर्‍यो र विश्वका उत्कृष्ट खेलाडीलाई एक ठाउँमा ल्यायो ।

त्यसयता आइपिएल झन्झन् सफल हुँदै गएको छ । यो विश्वको सबैभन्दा आकर्षक खेलमध्येको एक मात्र नभई प्रतिखेल प्रसारणमा हुने आम्दानीमा अमेरिकाको राष्ट्रिय फुटबल लिगपछि दोस्रो स्थानमा रहेको छ । यति मात्रै नभई आइपिएल टी–२० खेलका नयाँ सीप र रणनीति निर्माणस्थल बनेको छ । विभिन्न राष्ट्रका धेरै शीर्ष खेलाडी एउटै टोलीमा सामेल हुने र सीप आदानप्रदानको वातावरण सिर्जना गर्न सक्ने अन्य कुनै क्रिकेट प्रतियोगिता छैन ।

आइपिएल भारतको घरेलु लिग खेल भएकाले बिसिसिआईले हरेक टोलीमा जम्मा आठ विदेशी खेलाडी र खेल हुने दिनमा पहिलो एघार खेलाडीमा चारजना विदेशी खेलाडी मात्र समावेश गर्न सक्ने प्रावधान बनाएको छ । यस वर्षको आइपिएल विजेता गुजरात टाइटन्समा १५ भारतका साथै तीन अफगानिस्तान, दुई वेस्ट इन्डिज, अस्ट्रेलिया, न्युजिल्यान्ड र दक्षिण अफ्रिकाका एक–एक खेलाडी थिए । भारतीय खेलाडी प्रत्येक आइपिएल प्रतियोगितामा कुल एक हजार ३६ पटक देखिन्छन् भने प्रत्येक टोलीले प्रत्येक खेलमा चारै विदेशी खेलाडी प्रयोग गरेको खण्डमा विदेशी खेलाडी पाँच सय ९२ पटक देखिन्छन् ।

प्रतियोगिताको १५ वर्षको इतिहासमा भारतीय टी–२० खेलाडीका लागि यो प्रतिष्ठित खेलले राष्ट्रिय टोलीलाई फाइदा पुर्‍याएको छ । त्यसैगरी अरू देशको क्रिकेट बोर्डका तुलनामा बिसिसिआई धनी हुनुको कारणमा आइपिएल पनि पर्छ । राष्ट्रिय क्रिकेट बोर्डको वित्तीय अवस्था अस्पष्ट हुन सक्छ, तर हिन्दुस्तान टाइम्सका अनुसार बिसिसिआईले सन् २०१९–२० मा ५३ करोड डलर कमाएको छ, जुन बिसिसिआईको अंग्रेजी समकक्षीको झन्डै दोब्बर र न्युजिल्यान्ड क्रिकेटको आम्दानीको १५ गुणाले बढी हो ।

यी सबका बाबजुद भारत टी–२० विश्वकपमा किन असफल भइरहेको छ त ? हालैको अर्थात् सन् २०२१ को असफलताले विभिन्न अन्तरसम्बन्धित समस्या उजागर गरेको छ । पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएका खेलमा भारत निकै रक्षात्मक भएर ब्याटिङ गरेको थियो, जसलाई विपक्षी टोलीले सजिलै पछ्याएका थिए । खेल विश्लेषक ड्यान वेस्टनका अनुसार चार वा ६ रनका लागि प्रायः बाउन्ड्री पार गर्ने टी–२० टोलीले ८० प्रतिशतभन्दा बढी जित्छन् अर्थात् एक वा दुई रन लिने कम जोखिमपूर्ण सट खेलिँदैन । भारतले पाकिस्तान र न्युजिल्यान्डविरुद्ध ९.६ बलमा मात्र बाउन्ड्री प्रहार गरेको थियो भने विपक्षीले प्रत्येक ६.५ बलमा बाउन्ड्री प्रहार गरेका थिए ।

यो सम्भवतः टोली चयनको परिणाम हो । भारतका तीन शीर्ष ब्याट्सम्यान केएल राहुल, रोहित शर्मा र विराट कोहलीको खेल्ने शैली मोटामोटी रूपमा एउटै छ । तीनैजनाले भारतको टेस्ट र एकदिवसीय क्रिकेटमा पनि प्रतिनिधित्व गर्छन्, जहाँ ब्याट्सम्यान क्रिजमा टिकेर खेल्नुलाई महत्वपूर्ण मानिन्छ । यीमध्ये एकलाई टोलीमा राख्दा खेलमा स्थिरता ल्याउँथ्यो होला, तर तिनैलाई खेलाउँदा ब्याटिङ झर्को लाग्दो हुन्छ । अमेरिकी पुरुष बास्केटबल टोली र भारतको टी–२० क्रिकेट टोलीको तुलना गरिनुपर्छ किनभने दुवैसँग विश्वका शीर्ष खेलाडीलाई आकर्षित गर्ने लिग प्रतियोगिता छन्, दुवै संस्था निकै धनी छन् र धेरै खेलाडी उत्पादन गर्छन् । अन्तर्राष्ट्रिय बास्केटबल संघले अमेरिकालाई नेसनल बास्केटबल एसोसियसनका खेलाडी खेलाउन अनुमति दिएयता अमेरिकी टोलीले आठ ओलम्पिक खेलमा सात स्वर्णपदक जितेको छ भने सन् २००४ मा एक खेलमा कास्य पदक हासिल गरेको छ । भारतका क्रिकेटर पनि अमेरिकी बास्केटबल खेलाडीजत्तिकै हाबी हुनुपर्ने हो । खैर, भारतले यो विश्वकप जित्दैन भनिहाल्न त सकिँदैन, तर साबिक विजेता एवं आयोजक अस्ट्रेलिया, इंग्ल्यान्ड र पाकिस्तान उपाधिका दाबेदारका रूपमा हेरिएका छन् ।

–द इकोनोमिस्ट 

ad
ad