मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
यम बम काठमाडाैं
२०७९ असोज ३० आइतबार ०५:५०:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

वर्षा गत वर्षको भन्दा कम, क्षति बढी : मनसुनमा बाढीपहिरो र चट्याङबाट १७८ को मृत्यु

Read Time : > 2 मिनेट
यम बम, काठमाडाैं
२०७९ असोज ३० आइतबार ०५:५०:००

बाढीले १९ को ज्यान गयो : यसपालि बाढीका ५३ घटनाबाट ३१ जिल्ला प्रभावित भए । १५ बेपत्ता हुँदा १७ जना घाइते भए । १३ घर आंशिक र ५८ घर पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् । 

पहिरो, भारी वर्षाले ९५ को मृत्यु : ६० जिल्लामा पहिरोका ३१० घटना हुँदा १८ बेपत्ता भएका छन् भने ७९ जना घाइते भए । ८७७ घर आंशिक र ४६५ घर पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् । त्यस्तै, भारी वर्षा (वर्षाका कारण घरलगायत संरचना भत्किँदा)मा १५ जना घाइते भएको आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक छ । यी घटनामा ७६ घर आंशिक र ८३ घर पूर्ण क्षतिग्रस्त बनेका छन् ।

चट्याङबाट ७ को ज्यान गयो : यसपालि १८७ ठाउँमा चट्याङ खसेको रेकर्ड हुँदा ६० को मृत्यु भएको छ । १५७ जना घाइते भएका छन् । चट्याङबाट १५ घर आंशिक र दुईवटा घर पूर्ण रूपमा क्षतिग्रस्त भए ।

उत्तरार्द्धमा सक्रिय बनेर धानबालीसँगै मानवीय क्षति निम्त्याएको मनसुन बाहिरिन थालेको छ । औसतभन्दा १३ दिनभन्दा बढी नेपाली आकाशमा छाएको मनसुन शनिबार प्रदेश १ बाहेकका क्षेत्रबाट बाहिरिएको हो । 

आइतबासम्म मनसुन पूर्ण रूपमा नेपाली आकाशबाट बाहिरिने आकलन गरिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु वासीले जानकारी दिइन् । ‘आजदेखि मनसुन पूर्ण रूपमा बाहिरिने अनुमान छ, अबको तीन–चार दिनसम्म वर्षाको सम्भावना पनि छैन, घमाइलो रहने देखिन्छ,’ उनले भनिन् ।

मनसुन २२ जेठमा नेपाली आकाशमा भित्रिए पनि सुरुवातका तीन महिना जुन, जुलाई र अगस्टमा औसतभन्दा कम पानी परेको थियो । त्यसले रोपाइँसमेत प्रभावित हुन पुग्यो । त्यसपछिका महिनामा औसतमा वर्षा भएकोमा असोज तेस्रो साता भने निकै सक्रिय भएर धानबालीसँगै मानवीय क्षतिसमेत पुर्‍यायो ।

यस वर्ष मनसुनमा औसतभन्दा धेरै वर्षा हुने आकलन जल तथा मौसम विज्ञान विभागले गरे पनि ९० प्रतिशत (एक हजार तीन सय २८ मिलिमिटर) वर्षा मात्रै मापन भएको छ । यो १४ असोजसम्मको तथ्यांक हो । गत वर्ष बर्खामा ११३.४ प्रतिशत (एक हजार चार सय ९५.४ मिलिमिटर)वर्षा भएको थियो । मनसुनको औसत वर्षा एक हजार चार सय ७२.४ मिलिमिटर हो । 

विभागका अनुसार यस वर्ष सुदूरपश्चिम र गण्डकीका मध्य तथा पूर्वी भेगमा तथा लुम्बिनीको पूर्वी, कर्णाली तथा बागमतीका केही र प्रदेश १ का धेरैजसो भेगमा सरदरभन्दा धेरै वर्षा भएको छ । बाँकी भूभागमा भने सरदरभन्दा कम वर्षा भएको छ । गत वर्ष २८ जेठमा भित्रिएको मनसुन २५ असोजमा बाहिरिएको थियो । यस वर्ष मनसुन बाहिरिन केही दिन ढिला भएको छ ।

केमा कति भयो क्षति ? 
गत वर्ष बर्खामा बाढी, पहिरो, भारी वर्षा र चट्याङमा परेर एक सय ६५ जनाको ज्यान गएको गृह मन्त्रालय, राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक छ । तर, यो वर्ष सुरुवाती तीन महिनामा औसतभन्दा कम वर्षा भए पनि प्राकृतिक विपत्तिबाट हुने मानवीय क्षति भने बढेको छ । कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार २२ जेठदेखि २९ असोजसम्म बाढीपहिरो, भारी वर्षा र चट्याङबाट मात्र एक सय ७८ जनाको ज्यान गएको छ, जुन गत वर्षको बर्खाभन्दा १३ ले बढी हो ।

केन्द्रको तथ्यांकअनुसार बाढीबाट १९, पहिरोबाट ९१, भारी वर्षाबाट आठ र चट्याङबाट ६० जनाको ज्यान गएको छ । यी चार महिनामा प्राकृतिक विपत्तिका सात सय १२ घटना भएका छन् । गत वर्ष बाढीमा ४३, पहिरोमा ७९, भारी वर्षामा १६ र चट्याङमा २७ ले ज्यान गुमाएका थिए । 

यासपालि बाढीका ५३ घटनाका कारण ३१ जिल्ला प्रभावित भए । १५ बेपत्ता हुँदा १७ जना घाइते भए । १३ घर आंशिक र ५८ घर पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् । सबैभन्दा धेरै पहिरोका कारण तीन सय १० घटना हुँदा ६० जिल्ला प्रभावित बनेका छन् । पहिरोमा परी १८ जना बेपत्ता भएका छन् भने ७९ जना घाइते भए । आठ सय ७७ घर आंशिक र चार सय ६५ घर पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् । त्यस्तै, भारी वर्षा (वर्षाका कारण घरलगायत संरचना भत्किँदा)मा १५ जना घाइते भएको आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक छ । यी घटनामा ७६ घर आंशिक र ८३ घर पूर्ण क्षतिग्रस्त बनेका छन् ।

बर्खामा चट्याङका घटना पनि उल्लेख्य मात्रामा भए । एक सय ८७ ठाउँमा चट्याङ खसेको रेकर्ड हुँदा ६० जनाको मृत्यु भएको छ । एक सय ५७ जना घाइते भएका छन् । चट्याङबाट १५ घर आंशिक र दुईवटा घर पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् ।

असोज तेस्रो साता देशभर सक्रिय बनेको मनसुनका कारण लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा क्षति पुर्‍याएको थियो । कैलाली, कञ्चनपुर, बाँके र बर्दियामा पाकेको धानबाली बाढीले नष्ट गरे पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग क्षतिको यकिन विवरण छैन । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष बर्खामा बाढीपहिरोलगायत प्राकृतिक विपत्तिबाट २० लाख जनसंख्या प्रभावित हुने आकलन गरेको थियो, प्रभावित जनसंख्याको लेखाजोखा हुन बाँकी छ ।