मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका नुवाकाेट
२०७९ असोज २७ बिहीबार ११:१५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नुवाकोटमा ६३ जनाको उम्मेदवारी कायम, पार्टीको ह्विप मानेनन् बागीले

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, नुवाकाेट
२०७९ असोज २७ बिहीबार ११:१५:००

आगामी मंसिर ४ गते हुने  प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दुई क्षेत्र रहेको नुवाकोटमा ६३ जनाको उम्मेदवारी कायम भएको छ । प्रतिनिधिसभातर्फ २८ र प्रदेश सभातर्फ ३५  उम्मेदवार कायम भएका छन् ।

गत असोज २३ गते मनोनयन दर्ता गराएकामध्ये बुधबार तीनजनाले उम्मेदवारी फिर्ता लिएका छन् । मनोनयन दर्ता गराएका ६६ जनामध्ये ६३ जनाको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । उनका  अनुसार प्रतिनिधिसभातर्फ दुई र प्रदेश सभातर्फ चार गरेर कुल ६ पदका लागि ६३ उम्मेदवारको चुनाव चिह्न मतपत्रमा कायम हुनेछ ।

क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत टेकराज भुसालका अनुसार प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्र नम्बर १ मा मनोनयन दर्ता गराएका स्वतन्त्र उम्मेदवार सरोज गिरी र क्षेत्र नम्बर १ प्रदेश सभा (ख) तर्फ स्वतन्त्र उम्मेदवारी दिएका नरहरि भेटुवालले फिर्ता लिएका छन् । क्षेत्र नम्बर २ को प्रदेश सभा (ख)तर्फ नेकपा (माओवादी केन्द्र)बाट मनोनयन दिएकी राममाया बोगटीले उम्मेदवारी फिर्ता लिएकी छिन् । 
 
गठबन्धनका बागी उम्मेदवार कायमै 

आगामी निर्वाचनका लागि सत्तारूढ दलहरूबीच गठबन्धन गरेर उम्मेदवारी दिने निर्णय भए पनि नुवाकोटमा त्यसको अवज्ञा भएको छ । गठबन्धनको निर्णयअनुसार नुवाकोटको क्षेत्र नम्बर १ को प्रदेश सभा (क)मा माओवादी केन्द्रले राधिका तामाङलाई उठाएको भए पनि नेकपा (एकीकृत समाजवादी)ले उठाएका उम्मेदवार राजेश थापाको उम्मेदवारी कायमै छ ।

यस्तै, क्षेत्र नम्बर २ को प्रदेश सभा (क)मा गठबन्धनको निर्णयअनुसार माओवादी केन्द्रको भागमा परेकाले उक्त पार्टीले रामप्रसाद ढुंगानालाई उम्मेदवार बनाएको छ । उक्त क्षेत्रमा पनि नेकपा एकीकृत समाजवादीले राजेन्द्रप्रकाश लोहनी र नेपाली कांग्रेसकी गीता अमात्यको उम्मेदवारी कायमै छ ।

यस्तै, प्रदेश सभा (ख)मा गठबन्धनको निर्णयअनुसार कांग्रेस  उम्मेदवार बहादुरसिंह लामा (तामाङ)लाई उठाइएको छ । उक्त क्षेत्रमा कांग्रेस महाधिवेशन प्रतिनिधि तथा तरुण दल नुवाकोटका अध्यक्ष सिंहराज तामाङले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । उनको  उम्मेदवारी कायमै छ । रासस