मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 03 September, 2025
कमलराज भट्ट काठमाडाैं
Invalid date format o८:२५:oo
Read Time : > 5 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रत्यक्ष जितेका निवर्तमान सांसद जो आउँदो प्रतिनिधिसभामा देखिनेछैनन् 

Read Time : > 5 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:२५:oo

०७४ बाट निर्वाचित प्रतिनिधिसभाले पाँचवर्षे कार्यकालमा कृष्णबहादुर महरा र अग्नि सापकोटा गरी दुई जना सभामुख पायो । तर, आउँदो प्रतिनिधिसभामा महरा र सापकोटा दुवै देखिनेछैनन् । 

निवर्तमान सभामुख सापकोटाले ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नलड्ने घोषणा गरेका छन् । युवालाई अवसर दिन र संसदीय राजनीतिमा क्रमभंगताको सन्देश दिन आफूले निर्वाचन नलड्ने घोषणा गरेको सापकोटाले बताएका छन् । तीनपटक निरन्तर सांसद बनेका उनको ठाउँमा युवा नेता माधव सापकोटा सुवोध उम्मेदवार बनेका छन् । 

दाङ– २ बाट निर्वाचित पूर्वसभामुख महराले स्वेच्छिक रूपमा चुनावी मैदान छाडेका छन् । सुरुमा माओवादीको समानुपातिक सूचीमा रहे पनि अन्तिम समयमा उनी हटेका छन् । उनको ठाउँमा माओवादीले रेखा शर्मालाई उम्मेदवार बनाएको छ । 

संविधान निर्माणपछि ०७४ को पहिलो निर्वाचित प्रतिनिधिसभाका सांसदमध्ये कतिपयले स्वेच्छाले संसद्को यात्रामा विश्राम लिएका छन् भने कतिले आकांक्षा हुँदाहुँदै पनि टिकट नपाएर वञ्चित भएका छन् । यसस“गै ०७४ मा भएको प्रत्यक्ष निर्वाचित एक सय ६५ मा ४९ अनुहार आगामी सदनमा देखिनेछैनन् । 

निवर्तमान सभामुख सापकोटा र पूर्वसभामुख महरासँगै निवर्तमान सांसद एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि प्रतिनिधिसभाको यात्रा हाललाई टुंग्याएका छन् । उनले यसपालि आफ्नो क्षेत्र गोरखा– २ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अघि सारेका छन् । 

एमालेबाट 
झापा– २ बाट निर्वाचित पवित्रा निरौला खरेल पनि यसपालि प्रतिनिधिसभा सदस्यको दौडमा छैनन् । अन्तर्राष्ट्रिय सम्बन्ध समिति सभापतिसमेत रहिसकेकी पवित्रा आकांक्षी भए पनि टिकट पाइनन् । उनको ठाउँमा देवराज घिमिरे आएका छन् । 

तेह्रथुमबाट निर्वाचित भवानी खापुङ एकीकृत समाजवादी प्रवेश गरेका छन् । उनको ठाउँमा एमालेले विजय सुब्बालाई उम्मेदवार बनाएको छ । गठबन्धन भएकाले खापुङ प्रतिनिधिसभा उम्मेदवार छैनन् । यो क्षेत्र पाएको कांग्रेसले सीता गुरुङलाई उम्मेदवार बनाएको छ । 

सुनसरी– १ बाट निर्वाचित जयकुमार राई पनि दोहोरिएका छैनन् । उनको ठाउँमा एमालेले जसपाका अशोक राईलाई समर्थन गरेको छ । दोलखाबाट निर्वाचित सञ्चारमन्त्री भइसकेका पार्वत गुरुङले पनि टिकट पाएनन् । एमालेले बालकृष्ण सिवाकोटीलाई उम्मेदवार बनाएको छ । सिन्धुली– १ बाट निर्वाचित गणेशकुमार पहाडीले पनि नेतृत्वबाट टिकट पाउन सकेनन् । उनको ठाउँमा एमालेले प्रदीप कटुवाललाई उम्मेदवार बनाएको छ ।

काठमाडौं– ७ बाट निर्वाचित रामवीर मानन्धर पनि यसपालि दोहोरिनेछैनन् । यहाँ उम्मेदवार नै खडा नगरेको एमालेले राप्रपाका ध्रुवविक्रम मल्ललाई समर्थन गरेको छ । मकवानपुर– १ बाट निर्वाचित कृष्णप्रसाद दाहालले पनि टिकट पाएनन् । यहाँ एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई समर्थन गरेको छ । 

कास्की– १ बाट निर्वाचित खगराज अधिकारीले पनि यसपालि टिकट पाएनन् । उनको ठाउँमा एमालेले मनबहादुर गुरुङलाई उम्मेदवार बनाएको छ । कास्की– ३ बाट निर्वाचित जगतबहादुर विश्वकर्मा (सुनार)को ठाउँमा एमालेले दामोदर बैरागीलाई टिकट दिएको छ । 

तनहुँ– २ बाट निर्वाचित केदार सिग्देल यसपालि उम्मेदवार छैनन् । उनी निर्वाचित भएको क्षेत्रमा एमालेले किरण गुरुङलाई टिकट दिएको छ । 

म्याग्दीबाट निर्वाचित भूपेन्द्रबहादुर थापाको ठाउँमा हरिकृष्ण श्रेष्ठले एमालेको टिकट पाएका छन् । पाल्पा– १ बाट निर्वाचित दलबहादुर राना पनि उम्मेदवार छैनन् । उनको क्षेत्रमा नारायणप्रसाद आचार्यले टिकट पाएका छन् । 

दाङ– ३ बाट निर्वाचित हिराचन्द्र केसी अहिले एकीकृत समाजवादीमा छन् । केसी प्रतिनिधिसभामा उम्मेदवार बनेका छैनन् । उनको ठाउँमा एमालेले कोमल वलीलाई टिकट दिएको छ । 

बाँके– ३ बाट निर्वाचित नन्दलाल रोका क्षेत्रीको ठाउँमा एमालेले किस्मतकुमार कक्षपतिलाई उम्मेदवार बनाएको छ । मुगुबाट निर्वाचित गोपालबहादुर बमको ठाउँमा एमालेले राजु कार्कीलाई उम्मेदवार बनाएको छ । 

दैलेख– २ बाट निर्वाचित राजबहादुर बुढाक्षेत्रीको ठाउँमा लक्ष्मीप्रसाद पोखरेलले टिकट पाएका छन् । सुर्खेत– २ बाट निर्वाचित नवराज रावतको ठाउँमा अमृत बिसीले टिकट पाएका छन् ।

बाजुराबाट निर्वाचित लालबहादुर थापाको ठाउँमा कर्णबहादुर थापाले टिकट पाएका छन् । अछाम– १ मा भीम रावलको ठाउँमा माओवादीबाट आएका झपट बोहराले टिकट पाएका छन् । बझाङबाट निर्वाचित भैरवबहादुर सिंहको ठाउँमा ऐन महरले टिकट पाएका छन् । कञ्चनपुर– ३ बाट निर्वाचित दीपकप्रकाश भट्टले पनि टिकट पाएनन् । उनको ठाउँमा समानुपातिक सांसद रहेकी निरू पालले टिकट पाएकी छिन् । 

कांग्रेसबाट
मोरङ– २ बाट निर्वाचित मीनेन्द्र रिजालले टिकट पाएनन् । उनको ठाउँमा कांग्रेसले सुजाता कोइरालालाई उम्मेदवार बनाएको छ ।

सर्लाही– ४ बाट निर्वाचित अमरेश सिंहको ठाउँमा कांग्रेसले नागेन्द्रकुमार रायलाई टिकट दिएको छ । अमरेशले स्वतन्त्र उम्मेदवारी दिएका छन् । रौतहट– २ बाट निर्वाचित हत्या अभियोगमा जेलमा रहेका मोहम्मद आफ्ताब आलमको ठाउँमा उनका छोरा मोहम्मद फिर्दाेस आलमलाई टिकट दिइएको छ । 

माओवादीबाट
झापा– १ बाट निर्वाचित सुरेन्द्र कार्की (राम कार्की)ले यसपालि टिकट पाएनन् । यो क्षेत्र गठबन्धनबाट कांग्रेसको भागमा परेको छ । यहाँ महामन्त्री विश्वप्रकाश शर्मालाई माओवादीले समर्थन गरेको छ । आउने प्रतिनिधिसभामा वैचारिक नेता कार्कीको उपस्थिति खड्किनेछ । 

सोलुखुम्बुबाट निर्वाचित हेमकुमार राईको ठाउँमा कांग्रेसका बलबहादुर केसीले टिकट पाएका छन् । गठबन्धनको भागबन्डामा यो क्षेत्र कांग्रेसलाई परेको हो । 

उदयपुर– २ बाट निर्वाचित सुरेशकुमार राईले पनि टिकट पाएनन् । यो क्षेत्र गठबन्धनमा एकीकृत समाजवादीमा भाग परेको छ । उम्मेदवार बनेका समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडालाई माओवादीले समर्थन गर्नेछ । 

सिराहा– २ बाट निर्वाचित सुरेशचन्द्र दासको टिकट पनि खोसिएको छ । गठबन्धनमा कांग्रेसको भागमा परेको यो क्षेत्रमा चित्रलेखा यादव साझा उम्मेदवार छिन् । 

सर्लाही– ३ बाट निर्वाचित रामेश्वर राय यादवको ठाउँमा माओवादीले यसपालि नरेश साह कलवारलाई उम्मेदवार बनाएको छ । 

रामेछापबाट निर्वाचित श्यामकुमार श्रेष्ठले पनि टिकट पाएनन् । ०७४ मा माओवादीले जितेको यो क्षेत्र गठबन्धनमा कांग्रेसको भागमा परेको छ । कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङलाई माओवादीलाई समर्थन गर्नेछ । 

सिन्धुली– २ बाट निर्वाचित हरिबोल गजुरेल पनि चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । माओवादीले यहाँ लेखनाथ दाहाललाई उम्मेदवार बनाएको छ । 

काभ्रे– १ बाट निर्वाचित गंगाबहादुर तामाङको ठाउँमा माओवादीले सूर्यमान दोङलाई उम्मेदवार बनाएको छ । 

गोरखा– १ बाट निर्वाचित हरिराज अधिकारीको क्षेत्र गठबन्धनमा कांग्रेसको भागमा परेको छ । कांग्रेसका राजेन्द्र बजगाईं गठबन्धनका साझा उम्मेदवार हुन् । 

रुकुम पूर्वबाट निर्वाचित कमला रोकाको ठाउँमा माओवादीले पूर्णबहादुर घर्तीमगरलाई उम्मेदवार बनाएको छ । बर्दिया– २ बाट निर्वाचित सन्तकुमार थारूको ठाउँमा माओवादीले सुरेश पन्थलाई उम्मेदवार बनाएको छ । 

सल्यान– १ बाट निर्वाचित टेकबहादुर बस्नेतको क्षेत्र एकीकृत समाजवादीको भागमा परेको छ । समाजवादीका प्रकाश ज्वालालाई माओवादीले समर्थन गर्नेछ ।

जुम्लाबाट निर्वाचित गजेन्द्रबहादुर महतले पनि प्रतिनिधिसभाबाट बिदा लिएका छन् । उनको ठाउँमा माओवादीले गोमा कुँवरलाई उम्मेदवार बनाएको छ । 

कालीकोटबाट निर्वाचित दुर्गबहादुर रावतको ठाउँमा माओवादीले कर्णालीका मुख्यमन्त्री महेन्द्र शाहीलाई टिकट दिएको छ । 

जसपा र लोसपातर्फबाट निर्वाचितहरू पनि आउँदो प्रतिनिधिसभामा हुनेछैनन् । सप्तरी– १ बाट निर्वाचित डा. सूर्यनारायण यादवको ठाउँमा जसपाले नवलकिशोर साह सुडीलाई उम्मेदवार बनाएको छ । 

पर्सा– २ बाट निर्वाचित विमल श्रीवास्तवको ठाउँमा जसपाले सुरेन्द्र कुर्मीलाई उम्मेदवार बनाएको छ । पर्सा– ३ बाट निर्वाचित हरिनारायण रौनियार पनि यसपालि उम्मेदवार छैनन् । उनको ठाउँमा जसपाले कुनै उम्मेदवार खडा गरेको छैन । 

लोसपाले सप्तरी– ३ बाट निर्वाचित चन्द्रकान्त चौधरीको ठाउँमा लक्ष्मीकान्त मण्डललाई उम्मेदवार बनाएको छ । चौधरी यसपालि उम्मेदवार छैनन् । 

हुम्लाबाट निर्वाचित स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा पनि यसपालि प्रतिस्पर्धामा छैनन् । टिकट लिने भनेर एमाले प्रवेश गरेका लामाको ठाउँमा एमालेबाट दल रावल उम्मेदवार छन् । 

कैलाली– १ बाट निर्वाचित रेशमलाल चौधरी पनि यसपालि प्रतिनिधिसभामा हुनेछैनन् । टीकापुर घटनामा दोषी ठहर भई जन्मकैद सजाय भएकाले उनको उम्मेदवार खारेज हुनेछ । उम्मेदवार नै बन्न नपाउने भएकाले उनी यसपालि प्रतिनिधिसभामा हुनेछैनन् । उनी निर्वाचित भएको कैलाली– १ बाट उनकी श्रीमती रञ्जिता श्रेष्ठ उम्मेदवार छिन् । 

समानुपातिकतर्फका निवर्तमान यी सांसद पनि बाहिर, जो आगामी संसदमा देखिनेछैनन्

एमाले : थममाया थापा, शिवमाया तुम्बाहाङ्फे, सुजिता शाक्य, विनाकुमारी श्रेष्ठ, कुमारी तुल्सी थापा, नवीना लामा, शान्तिमाया तामाङ पाख्रिन, कुमारी मैचे, मोहन बानियाँ, राधाकुमारी ज्ञवाली, विन्दा पाण्डे, गोमा देवकोटा, मनकुमारी जिसी, मायादेवी न्यौपाने, विष्णु शर्मा, सरिता न्यौपाने, मैनाकुमारी भण्डारी, तीर्था गौतम, गंगा चौधरी सत्गौवा (प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवार), विमला विश्वकर्मा, विमला विक, सानु शिवा, आशाकुमारी विक, मोतीलाल दुगड, सरिताकुमारी गिरी, रेखाकुमारी झा

एकीकृत समाजवादी : मुकुन्द न्यौपाने, कल्याणीकुमारी खड्का, निरादेवी जैरू, सरला यादव, पुष्पाकुमारी कर्ण कायस्थ, समिना हुसेन, कलिला खातुन, पार्वती विशुंखे, लक्ष्मी चौधरी, विना बुढाथोकी ।

कांग्रेस : बहादुरसिंह लामा, कर्मा घले, लालकाजी गुरुङ, जिपछिरिङ लामा, दिव्यमणि राजभण्डारी, ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बू, हिरा गुरुङ, मीना सुब्बा, सत्यनारायण शर्मा खनाल, सूर्यबहादुर केसी, रामबहादुर विष्ट, डिला संग्रौला (पन्त), मीना पाण्डे, उमा रेग्मी, रंगमती शाही, नमिताकुमारी चौधरी, मानबहादुर विश्वकर्मा, मीनबहादुर विश्वकर्मा, प्रकाश रसाइली (स्नेही), सुजाता परियार, लक्ष्मी परियार, विमला नेपाली, स्मृतिनारायण चौधरी, सीतादेवी यादव, मीनाक्षी झा, अतहर कमाल मुसलमान, सरबत आरा खानम । बाँकी ११ मध्ये १० जना प्रत्यक्षमा उम्मेदवार बनेका छन् । एकजना (पार्वता डिसी चौधरी नागरिक उन्मुक्ति पार्टीबाट सामानुपातिक सूची)मा छन् ।

माओवादी : जयपुरी घर्ती, शशी श्रेष्ठ, यशोदा गुरुङ सुवेदी, अमृता थापा, चूडामणि खड्का, पूर्णकुमारी सुवेदी, धर्माशिला चापागाईं, सत्य पहाडी, रामकुमारी चौधरी, अञ्जना विशंखे (काठमाडौं १० मा प्रत्यक्ष उम्मेदवारी विवादित), दुर्गाकुमारी विश्वकर्मा, इन्दुकुमारी शर्मा, बोधमायाकुमारी यादव, दिल कुमारी, चाँदतारा कुमारी । 

राजपा–लोसपा : रानी मण्डल

फोरम–जसपा :  कलुदेवी विश्वकर्मा, लीलादेवी सिटौला ।