१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
जिल्ला अदालत काठमाडौं । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज २५ मंगलबार ०७:४९:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बिमा रकमका लागि बिहे गराएर हत्या : ७५ दिन थुनामा बसेपछि तीन आरोपी रिहा 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज २५ मंगलबार ०७:४९:००

बिमा रकम ठगीका लागि नक्कली बिहे गरेर दुर्घटनाका नाममा हत्या गरिएको घटनामा पाँचजनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । तीन आरोपी भने ७५ दिन थुनामा बसेपछि साधारण तारेखमा छुटेका छन् । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले ठगी, लिखत र संंगठित अपराध मुद्दा सरकारी वकिलमार्फत दायर गरेकोमा सोमबार जिल्ला अदालत काठमाडौंबाट सो मुद्दामा थुनछेक आदेश भएको हो । जिल्ला न्यायाधीश फणीन्द्रप्रसाद पराजुलीको इजलासले सञ्जीव अर्याल, सपना मल्ल, सरदार अहमद खाँ, टोपबहादुर राना र दीपक केसीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । 

आरोपीहरू ललिता सापकोटा, जानकी रिजाल र छविकुमारी खत्रीलाई भने साधारण तारेखमा छाड्ने आदेश भएको छ । घटनामा उनीहरूको संलग्नताको बलियो प्रमाण नभएको भन्दै अदालतले साधारण तारेखमा छाडेको हो । 

उनीहरूमध्ये ललिता ७५ दिन प्रहरी हिरासतमा बसिन् । यो घटनामा उनको भूमिका सपनालाई सञ्जीव अर्यालसँग चिनजान गराउने थियो । त्यस्तै, जानकी रिजालले ललितासँग चिनजान गराएकी थिइन् । छविकुमारी खत्री सपना मल्लकी आमा हुन्, उनले बिमाबापतको रकम आफ्नो खातामा राखेकी थिइन् । सोही आधारमा उनीहरूलाई पनि प्रहरीले मुख्य अभियुक्तबराबर नै प्रहरी हिरासतमा राखेर मुद्दा चलायो । साढे दुई महिना हिरासतमा राखेर अनुसन्धान गरेका आरोपीहरू साधारण तारेखमा छुटेपछि प्रहरीको अनुसन्धान शैलीमाथि प्रश्न उठेको छ । सबै आरोपीलाई थुनामा राखेरै मुद्दा दायर गर्ने प्रहरी प्रवृत्ति छ । 

एउटा इजलासमा बयान, अर्काेमा आदेश 
सिआइबीको अनुसन्धान प्रतिवेदनका आधारमा असोजको पहिलो साता नै जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । ९ असोजमा बयान सकिएपछि थुनछेक आदेशको तयारी भएको थियो । तर, सरकारी वकिलले न्यायाधीश दुर्गाबहादुर भुसालले यो मुद्दामा आदेश दिन नमिल्ने भन्दै इजलास सार्न माग गरे । यसैसँग जोडिएको एउटा मुद्दामा पहिला भुसालले फैसला गरेकाले उनले हेर्न नमिल्ने सरकारी वकिलको तर्कपछि न्यायाधीश भुसालले अर्काे इजलासले हेर्ने आदेश दिए । भोलिपल्टदेखि दसैँको बिदाले अदालत बन्द भएपछि सबै आरोपी थुनामै बस्नुपर्‍यो । दसैँको बिदापछि अदालत खुलेकै पहिलो दिन सोमबार न्यायाधीश पराजुलीको इजलासबाट आदेश भएको हो । 

एउटा इजलासमा बयान भएर अर्काे इजलासबाट आदेश हुने घटनामा न्यायालयमा बिरलै हुन्छ । ‘सामान्यतया, यस्तो हुँदैन,’ जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले भने, ‘सरकारी वकिलले दुर्गाबहादुर भुसाल श्रीमान्ले यो मुद्दा हेर्न नमिल्ने भनेर कुरा उठाएपछि गोलाप्रथामार्फत थुनछेकका लागि नयाँ इजलास तोकिएको हो ।’ 

२५ फागुन ०७८ मा जिल्ला अदालत बाँकेमा कार्यरत रहँदा न्यायाधीश भुसालले यही घटनासँग जोडिएको सवारी ज्यान मुद्दाको फैसला गरेका थिए । सर्जन विकको मृत्यु घटनामा त्यतिवेला सवारी ज्यान मुद्दा दर्ता भएको थियो । जसमा न्यायाधीश भुसालले आरोपी चालक टोपबहादुर रानालाई जम्मा ३० दिन कैद र तीन हजार जरिवानाको सजाय सुनाएका थिए भने सवारीधनी सरदार अहमद खाँलाई सफाइ दिएका थिए ।

त्यो फैसलामाथि पनि प्रश्न उठाउने ठाउँ भएको प्रहरी अधिकारी बताउँछन् । लापरबाहीका साथ सवारी चलाउँदा मात्र पनि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म सजाय हुने सवारी तथा यातायात व्यवस्था ऐनको व्यवस्था छ । यही सजाय माग गरी प्रहरीले मुद्दा दायर गरेको थियो । अहिले पनि उनकै इजलासमा यसको बयान भएको थियो । तर, सरकारी वकिलले प्रश्न उठाएपछि मात्र न्यायाधीश भुसालले इजलास सार्ने आदेश दिएका थिए । 

यो घटनामा बाँकेमा थप अनुसन्धान हुने भएकाले साधारण तारेखमा छाड्ने आदेश भएका आरोपी पनि प्रहरी हिरासतमै छन् । पक्राउ परेका आठैजनालाई बाँकेमा पठाइने सिआइबीका एसपी कमल थापाले बताए । बाँकेमा उनीहरूविरुद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दा दर्ता छ । यसअघि योजनाबद्ध रूपमा हत्या भएको घटनालाई दुर्घटनाका रूपमा मुद्दा चलाइएको थियो । त्यसमा अब फेरि कर्तव्य ज्यान मुद्दा चलाउने तयारी छ । 

मध्यरातमा बसले किचेर गरिएको थियो सर्जनको हत्या

मृतक सर्जन विक

२ वैशाख ०७८ राति ११ बजे बसको ठक्करबाट सर्जनको किचेर हत्या भएको थियो । बाँकेको बैजनाथ गाउँपालिका– ६ लालपुरस्थित भित्री सडकमा टोपबहादुर क्षेत्रीले चलाएको भे.१ख २४९१ नम्बरको मिनी बसको ठक्करबाट भे.१०प १७२७ नम्बरको मोटरसाइकलमा सवार सर्जनलाई ठक्कर दिएको थियो । घटनाको दिन सर्जनलाई सञ्जीवले बियर खुवाएका थिए । नशा लागेपछि खोलामा बालुवा लोड गर्ने भन्दै सञ्जीव र सर्जन फरक–फरक मोटरसाइकलमा त्यतातर्फ गए । केही अघि बढेपछि सञ्जीवले तीव्र गतिमा आफ्नो मोटरसाइकल अघि बढाए, सर्जन बिस्तारै अघि बढे । बाटोमा एउटा बस रोकेर राखिएको थियो । सर्जनको मोटरसाइकल देख्नेबित्तिकै योजनाअनुसार बसले उनलाई पछ्याएर ठक्कर दिएको थियो ।  

हत्याअघि नेपाल रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा बिमा गरिएको थियो । उसले नेपाल पुनर्बिमा कम्पनीमा पुनर्बिमा गरेको थियो । ठूलो बिमा गरेको एक महिनामै मृत्यु भएको घटनाप्रति पुनर्बिमाले आशंका व्यक्त गरेपछि रिलायन्स लाइफ इन्स्योरेन्सले प्रहरीमा उजुरी दिएको थियो । आरोपी पक्राउ परेपछि उनीहरूले थप दुईजनालाई त्यसैगरी हत्या गर्ने तयारी गरिरहेको खुलेको छ । आधारभूत सिद्धान्तविपरीत बिमा गरिएकोमा बिमा कम्पनीका कर्मचारीको भने यसमा संलग्नता नभेटिएको सिआइबी दबी छ । 

घटनाका मुख्य योजनाकार सञ्जीव अर्याल हुन् । जसले आफैँ पनि जीवन बिमा अभिकर्ताको तालिम लिएका थिए । मेटलाइफ इन्स्योरेन्सबाट दुई वर्षअघि तालिम लिएको, तर काम भने गरेनन् । तालिम लिएपछि उनले जीवन बिमाको फाइदाबारे थाहा पाएका थिए । त्यही ज्ञानलाई उनले अपराधमा प्रयोग गरेका हुन् । सुरुमा उनले आरती भन्ने ललिता सापकोटालाई नै त्यसरी सर्जनसँग विवाह दर्ता गराएर आफ्नो योजनामा सहभागी गराउन लागेका थिए । तर, उनको उमेर नपुगेपछि उनको साथी खोज्न लगाए । त्यही क्रममा ललिताले सपना मल्ललाई सञ्जीवसँग भेट गराइदिइन् । 

सपना र ललिता स्कुलका सहपाठी हुन् । सपना जसरी पनि विदेश जान चाहन्थिन् । सञ्जीवले उनको महत्वाकांक्षा पूरा गरिदिने आश्वासन दिए । डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया पठाइदिने र पैसा पनि दिने भन्दै त्यसरी नक्कली बिहे गरेर बिमा रकम लिने योजना सुनाए । त्यसमा उनी सहमत भएकी थिइन् । सोही योजनाअनुसार दुईजनाले २ चैत ०७७ मा विवाह दर्ता गराएका थिए । कमजोर आर्थिक अवस्था भएका सर्जनलाई पनि उनले त्यसरी विवाह गर्दा आर्थिक फाइदा हुने आश्वासन दिएका थिए । मुख्य योजनाकार सञ्जीव जुवाडे भएको र त्यसरी ठगीको पैसा उनले जुवामै सकाएको प्रहरी अनुसन्धानमा खुलेको छ ।