१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ जेठ १ मंगलबार o७:२२:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

डेंगु संक्रमणदर नियन्त्रणउन्मुख

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:२२:oo

हालसम्म ३३ हजार नौ सय ७५ संक्रमित, ज्यान गुमाउने ४४ जना पुगे

असार दोस्रो सातादेखि उकालो लागेको डेंगु संक्रमणदर नियन्त्रणउन्मुख देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले असोजको दोस्रो सातादेखि नियन्त्रणउन्मुख देखिएको जनाएको छ । महाशाखाका अनुसार जाडोयाम सुरु हुन लागेसँगै संक्रमितको संख्या घटिरहेको छ । 

देशभर संक्रमितको संख्या ३३ हजार नौ सय ७५ पुगेको छ भने ४४ जनाले संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । संक्रमितको यो संख्या हालसम्मकै उच्च भए पनि अब तीव्र संक्रमणदर नहुने महाशाखाका निर्देशक डा. चुमनलाल दासले जानकारी दिए । उनका अनुसार लामखुट्टेले टोक्ने क्रम कम हुँदै गएपछि संक्रमणदर पनि कम देखिएको हो ।

तर, अझै यसबारे सचेत रहनुपर्ने डा. दासको भनाइ छ । ‘भदौ महिनामा संक्रमणदर उच्च बिन्दुमा थियो, असोजको दोस्रो सातादेखि यो कम हुँदै आएको छ,’ उनले भने, ‘अब बिस्तारै कम हुँदै जान्छ भन्ने आकलन गरेका छौँ ।’ उनले घरवरपर सरसफाइ गर्ने र पानी जम्न दिन नहुने बताए । 

डेंगुबाट कुन जिल्लामा कतिको मृत्यु ?

  •  काठमाडौं – नौजना 
  •  दाङ– चारजना
  •  ललितपुर– चारजना 
  •  रामेछाप– दुईजना
  •  सिन्धुपाल्चोक– दुईजना 
  •  कैलाली– तीनजना
  •  रोल्पा– दुईजना
  •  मकवानपुर– दुईजना 
  •  पाल्पा– दुईजना
  •  धादिङ, सिन्धुली, ओखलढुंगा, नवलपुर, मोरङ, प्युठान, बाँके, खोटाङ, भक्तपुर, डोटी, रुपन्देही, चितवन, कपिलवस्तु र सिरहामा– एक–एकजना ।

डा. चुमनलाल दास निर्देशक, इडिसिडी

भदौमा संक्रमणदर उच्च बिन्दुमा थियो, असोजको दोस्रो सातादेखि यो कम हुँदै आएको छ । 

१५ भदौदेखि १५ असोजसम्म संक्रमणदर उच्च
यसवर्ष डेंगु संक्रमणदर १५ भदौदेखि १५ असोजसम्म उच्च बिन्दुमा देखिएको छ । १५ भदौदेखि १५ असोजसम्म २७ हजार पाँच सय २९ जनामा संक्रमण देखिएको छ । तर, १५ असोजदेखि भने संक्रमणदर कम हुँदै गएको महाशाखाको तथ्यांकले देखाउँछ । तथ्यांकअनुसार १५ असोजयता देशभर करिब तीन सयजनामा संक्रमण देखिएको छ । 

बागमती प्रदेशमा मात्रै साढे २६ हजार संक्रमित
हाल सबैभन्दा धेरै डेंगु संक्रमण बागमती प्रदेशमा देखिएको छ । यहाँ २६ हजार चार सयजनामा संक्रमण पुष्टि भएको छ । यस्तै, लुम्बिनी प्रदेशमा तीन हजार ६ सय १५, मधेस प्रदेशमा चार सय ७२, गण्डकीमा सात सय ५६, कर्णालीमा ६ सय १२, सुदूरपश्चिममा एक हजार ७१ र प्रदेश १ मा एक हजार ४९ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । 

काठमाडौं उपत्यकामा २० हजारभन्दा बढी संक्रमित
काठमाडौंमा सबैभन्दा बढी ११ हजार एक सय ६३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ । यस्तै, ललितपुरमा आठ हजार १५, भक्तपुरमा एक हजार चार, मकवानपुरमा तीन हजार दुई सय ८७, दाङमा एक हजार सात सय ८४ जनामा संक्रमण पुष्टि भइसकेको छ । यसबाहेक ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको छ । 

२७ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घन्टामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार पाँच सय ४६ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । सोमबार २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या पाँच सय ६९ छ । हालसम्म नेपालमा नौ लाख ९९ हजार नौ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण 
राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण देखिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत उनमा पिसिआर परीक्षण गर्दा कोरोना देखिएको अस्पतालले जनाएको छ । यद्यपि, उनको स्वास्थ्य अवस्था सामान्य छ । ‘हाल उहाँको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार देखिएको छ, अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यही अवस्था कायम रहेमा सम्भवतः मंगलबारसम्म अस्पतालबाट डिस्चार्ज गर्न सकिने जानकारी गराइन्छ ।’ २२ असोजमा राष्ट्रपति भण्डारीलाई रुघाखोकी र ज्वरो देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

ad
ad