१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज २२ शनिबार ०६:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वर्षाले विद्युतीय संरचनामा क्षति पुग्दा केही जिल्लामा विद्युत् आपूर्ति अवरुद्ध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज २२ शनिबार ०६:४९:००

अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका केही जिल्लामा विद्युतीय संरचनामा ठूलो क्षति पुगेको छ । विद्युतीय संरचनामा क्षति पुग्दा विभिन्न ठाउँको विद्युत् आपूर्ति अवरुद्ध भएको छ । 

मुख्य रूपमा लुम्बिनी प्रदेशअन्तर्गतका रुपन्देही, अर्घाखाँची, पाल्पा, दाङलगायतका जिल्लामा विद्युत् प्रसारण लाइन, वितरण लाइनतर्फका पोल, ट्रान्सफर्मरलगायतका संरचनामा क्षति पुगेको छ ।  

दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइनअन्तर्गत बेलडाँगी भन्ने स्थानमा पहिरोले टावर ढालेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १३२ केभी प्रसारण लाइनको टावर ढलेको खबर आएको, तर पहिरोका कारण उक्त स्थानमा पुग्न नसकिएकोले यकिन हुन नसकिरहेको जानकारी दिए । 

प्रसारण लाइनमा क्षति पुगेपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति अवरोध भएको र अहिले वैकल्पिक व्यवस्था गरी घरायसी ग्राहकलाई विद्युत् दिइएको कार्यकारी निर्देशक घिसिङले बताए ।

प्राधिकरणले हापुरे सबस्टेसनबाट ३३ केभी प्रसारण लाइनबाट लमही, घोराहीलगायतका क्षेत्रका घरायसी ग्राहकलाई विद्युत् आपूर्ति दिएको छ । त्यस क्षेत्रमा धेरै विद्युत् खपत गर्ने सिमेन्ट उद्योगहरू सञ्चालित छन् । 

प्राधिकरणले लमही–घोराही १३२ केभी प्रसारण लाइनको टावर नै ढलेको अवस्थामा आपतकालीन पुनर्स्थापना प्रणाली (इआरएस) अन्तर्गत रहेको टावर जडान गरी विद्युत् आपूर्तिको योजना बनाएको घिसिङले बताए ।

वर्षाले प्रसारण तथा वितरण प्रणालीमा क्षति पुर्‍याएको छ, चाडपर्वको वेला पनि हाम्रा कर्मचारीलाई काममा खटाएर तत्काल मर्मतसम्भार तथा वैकल्पिक व्यवस्था गरी ग्राहकलाई विद्युत् आपूर्ति दिइरहेको घिसिङले बताए ।