कांग्रेस केन्द्रीय समितिमा हालै पहिलोपटक मनोनीत भएका र भ्रातृ संस्थाको प्रमुखको जिम्मेवारी पाएका नेताहरुलाई कांग्रेसले प्रतिनिधिसभा र प्रदेश र प्रदेश सभाको समानुपातिक सूचीमा समावेश नगर्ने निर्णय गरेको छ ।
आफ्नो निर्वाचन क्षेत्रमा राम्रो प्रभाव रहेका उनीहरुलाई प्रत्यक्षमा निर्वाचन लड्ने अवसरबाट रोकिने छैन । तर, समानुपातिक सूचीबाट प्रतिनिधि सभा र प्रदेश सभाको सदस्य नबनाउने निर्णय पार्टीले गरेको छ ।
कांग्रेसमा ३१ साउनमा १० महिला केन्द्रीय सदस्यमा मनोनीत भएका थिए । किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मिणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर)लाई केन्द्रीय सदस्या मनोनीत गरिएको थियो ।
त्यस्तै, नेपाल विद्यार्थी संघको अध्यक्षमा दुजाङ शेर्पा, नेपाल तरुण दलको अध्यक्षमा विद्वान गुरुङ, नेपाल महिला संघको अध्यक्षमा उषाकुमारी राउत मिश्र र नेपाल राष्ट्रिय मगर संघको अध्यक्षमा ओमबहादुर थापा मगर नियुक्त भएका थिए ।