मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अर्थ डिजिटल संस्करण

तीन वर्षदेखि लुम्बिनीमा थन्किएका विद्युतीय बस आजबाट गुडे

Read Time : > 1 मिनेट
दीपेश पछाई, लुम्बिनी
२०७९ असोज १३ बिहीबार ०९:२२:००

नयाँ पत्रिका समाचार प्रभाव :

तीन वर्षदेखि लुम्बिनीमा बेवारिसे अवस्थामा रहेका विद्युतीय बसहरू बिहीबारदेखि सञ्चालनमा आएका छन्।  बुधबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको सरोकारवालाहरूको बैठकले बिहीबारदेखि बिजुली बस सञ्चालनमा ल्याउने निर्णय गरेको हो।

बिहीबार लुम्बिनीमा लुम्बिनी विकाष कोषका पदाधिकारीहरू, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू,  पर्यटन व्यवसायीको उपस्थितिमा बिजुली बस सञ्चालनमा आएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले जानकारी दिए। ‘यो परीक्षण सञ्चालन हो यस अवधिमा हामीले नि:शुल्क बस सञ्चालनमा ल्याएका छौँ, केही समयपछि हामीले शुल्क निर्धारणसहित औपचारिक शुभारम्भ गर्दछौँ,’ भट्टराईले भने।

एसियाली विकास बैंक (एडिबी)ले लुम्बिनी विकास कोषलाई अनुदानमा दिएका १२ करोडका १९ विद्युतीय गाडी तीन वर्षदेखि बेवारिसे थिए । पाँच बस र १४ भ्यान (ट्याक्सी) एडिबीले दिएको थियो ।

गाडी चार्ज गर्न लुम्बिनीमै दुई वर्षअघि सोलार प्लान्ट जडान गरेर चार्जिङ स्टेसन पनि बनाइएको छ । अनुदानकै १४ करोडमा निर्माण गरिएको सोलार प्लान्टमा उत्पादित वार्षिक ५४ लाख मूल्यको विद्युतसमेत खेर गइरहेको छ । जब कि कोषले यो विद्युत् कोषभित्रै अन्य प्रयोेजनमा खपत गर्न सक्थ्यो वा विद्युत् प्राधिकरणलाई बेच्न पनि सक्थ्यो । आफ्नो विद्युत् खेर फालेको कोषले प्राधिकरणको वार्षिक ५० लाख मूल्यको विद्युत् प्रयोग गर्छ । कोषको सोलार प्लान्ट प्राधिकरणको वितरण केन्द्रबाट केवल सय मिटरको दूरीमा छ । 

गौतमबुद्ध विमानस्थल निर्माणका लागि ऋण सहयोग गरेको एडिबीले त्यहाँ अवतरण गर्ने पर्यटकलाई बुद्ध सर्किट घुमाउने प्रयोजनका लागि अनुदानमा बस र भ्यान उपलब्ध गराएको थियो । विश्व सम्पदास्थलमा सूचीकृत लुम्बिनीमा वातावरण प्रदूषण कम गर्न पनि विद्युतीय गाडी अनुदान दिएको थियो । कोषले सवारीसाधन सञ्चालन गर्न कार्यविधि बनाउनेदेखि अध्ययनसम्म गरेको जनाएको छ । तर, कार्यविधि स्वीकृत हुन सकेको छैन ।

लुम्बिनीमा बिहीबार आयोजित कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेय, सदस्यसचिव सानुराजा शाक्य, कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सिद्धार्थ होटेल एसाेसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, लुम्बिनी होटेल संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवाली, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

सो अवसरमा प्रमुख अतिथि लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेयले कोरोना महामारी र सरकारी प्रक्रिया पूरा गर्न भएका ढिलाइका कारण बस सञ्चालनमा कठिनाइ भएको बताए । रुपन्देहीका प्रजिअ पाण्डेले बस निरन्तर रूपमा सञ्चालनमा आउने बताउँदै स्थानीय प्रशासनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कोषका कोषाध्यक्ष भट्टराईले कागजी प्रक्रिया केही बाँकी रहेको बताउँदै हाललाई निःशुल्क सञ्चालन गरिए पनि सञ्चालनमा केही कठिनाइ रहेको बताए । उनले भने, ‘कार्यविधि पास भएको छैन । तर, बाँकी रहेका प्राविधिक कुरा दसैँको बीचमा पूरा गरी बस नियमित रूपमा सञ्चालन गरिनेछ ।’ 

कोषका सदस्यसचिव सानुराजा शाक्यले लुम्बिनीमा आउने पर्यटक र यहाँबाट जाने यात्रुको सुविधाका लागि बस बिहीबारदेखि सञ्चालनमा ल्याइएको बताए । कोषका योजना प्रमुख ई. सरोज भट्टराईले सोलारको काम सकिए पनि विद्युत् ग्रिडमा जडान नभएका कारण सञ्चालन गर्न नसकिएको बताउँदै केही दिनमै यो समस्या हल भई सोलारबाट उत्पादित विद्युतबाट बस सञ्चालन हुने बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले बस सञ्चालनका लागि निजी क्षेत्रले सहयोग गर्ने बताउँदै लुम्बिनीका लागि यो कोसेढुंगा भएको बताए ।