Skip This
महिला हत्या प्रकरण : लास देखाउने व्यक्ति नै हत्या आरोपी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १२ बुधबार
  • Tuesday, 13 May, 2025
२o७९ असोज १२ बुधबार १९:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महिला हत्या प्रकरण : लास देखाउने व्यक्ति नै हत्या आरोपी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १२ बुधबार १९:o१:oo

गत शुक्रबार राति विभत्स तरिकाले हत्या गरिएको अवस्थामा भेटिएकी अमना खातुनको हत्या आरोपमा पक्राउ गरेको व्यक्तिले नै लास देखाएको प्रहरीले दाबी गरेको छ। मटिहानी नगरपालिका– १ सानो धिरापुरकी अन्दाजी ४० वर्षीया खातुनको हत्या गरी गाउँकै मानिसहरूसँग मिली मृतक महिलालाई खोज्न निस्केका आरोपीले लास भेटेको र आफन्त तथा परिवारका मानिसहरूलाई देखाएको महोत्तरीका एसपी कृष्ण पंगेनीले बताएका छन्। 

नशालु पदार्थ सेवनकर्तासमेत रहेका आरोपीले हत्या स्वीकार गरेको एसपी पंगेनीले पत्रकार सम्मेलन गरी जनाएका छन्। प्रहरीले अनुसन्धानको क्रममा हत्या भएको स्थल वरपर सोही ठाउँ निवासी २४ वर्षीय मोजाहिर अन्सारी देखिएका र उनले नै लाससमेत देखाएको तथा अनुसन्धानको क्रममा प्रहरीले ल्याएको तालिम प्राप्त कुकुरलेसमेत उनकै घर वरिपरी संकेत गरेको, उनको घरमा हत्यामा प्रयोग भएको फलामको पेचकस (स्क्रु कस्ने औजार), रगत लागेको गन्जीसमेत बरामद भएको एसपी पंगेनीको भनाइ छ। 

यता मृतकले लगाएको पाउजु तथा नाकको नथुनीसमेत आरोपी मोजाहिरले लासबाट निकाली जलेश्वरस्थित एक सुन पसलमा ६ हजारमा बिक्री गरेकोमा पाउजु प्रहरीले बरामद गरेको छ भने नथुनी पसलवालाले गलाइसकेको अनुसन्धानमा खुलेको बताइएको छ। यता लाससँगैसमेत टिसर्ट र अन्य केही कपडाहरू बरामद भएकोमा सो कपडासमेत आफ्नो भएको मोजाहिरले स्वीकार गरेको एसपी पंगेनीको भनाइ छ।