१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o६:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बुटवलमा ‘दसैँ सस्तो बजार– २०७९’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:o९:oo

 बुटवलमा सोमबारदेखि ‘दसैँ सस्तो बजार– २०७९’ सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा संघको सचिवालयपरिसर बालमन्दिरमा दसैँ सस्तो बजार सञ्चालन गरिएको हो । पाँच दिनसम्म सञ्चालन हुने सस्तो बजारको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै यस्तो बजारका माध्यमबाट खस्किँदै गएको बुटवलको व्यापार प्रवद्र्धन गर्नुका साथै बजारलाई गुल्जार बनाउन मद्दत मिल्ने धारणा व्यक्त गरे । 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले उपभोक्ताको हित प्रशासनको प्राथमिक चासोको विषय रहेको बताउँदै उपभोक्ताको समेत हितमा हुने गरी व्यवस्था मिलाउन आग्रह गरे । यस्तै, नेपाल राष्ट्र बैंक, भैरहवा शाखा प्रमुख निर्देशक रञ्जना पण्डित पौडेलले सस्तो बजार सञ्चालन गरेर राम्रो काम गरेकोमा खुसी व्यक्त गरिन् । 

संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उपभोक्ता हितका लागि दसैँ सस्तो बजार सञ्चालन गरिएको बताउँदै बाहिर बजारमा भन्दा सुलभ मूल्यमा वस्तुको बिक्री–वितरण गरिने जानकारी गराए । ‘संघले विगतदेखि सञ्चालन गर्दै आएको दसैँ सस्तो बजार एउटा निरन्तरता मात्रै नभएर सर्वसाधारणलाई लक्षित गरी राष्ट्र बैंक संघको सहकार्यमा नयाँ नोट सटहीको व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘नुन, तेल, चिनी, मसलालगायतका दैनिक उपभोग्य सामान पनि राखिएको छ ।’

१४ गतेसम्म सञ्चालन हुने दसैँ सस्तो बजारमा नेपाल दुग्ध विकास संस्थान (डिडिसी), साल्ट ट्रेडिङलगायत विभिन्न कम्पनीका घिउ, पनिर, रसबरी तथा दुग्धजन्य उत्पादन, नुन, चामल, तेललगायत दैनिक उपभोग्य सामान बिक्री–वितरण गरिने संघले जनाएको छ । सस्तो बजारमा नेपाल राष्ट्र बैंकको सहयोगमा नयाँ नोट सटहीको व्यवस्था मिलाइएको छ । लायन्स क्लब अफ बुटवल युथले निःशुल्क सुगर परीक्षण गरेको सस्तो बजारका संयोजक तथा संघका कार्यसमिति सदस्य कुलप्रसाद श्रेष्ठ (कृष्ण)ले जानकारी दिए । 

ad
ad