मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज १० सोमबार
  • Thursday, 10 July, 2025
२o७९ असोज १० सोमबार o८:४६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नारायणगढ–बुटवल सडक स्तरोन्नति आयोजना : चिनियाँ ठेकेदारलाई एक महिनाको ‘अल्टिमेटम’

म्याद गुज्रिँदा काम १९ प्रतिशत मात्रै, कार्यसम्पादनमा सुधार नल्याए ठेक्का रद्द गर्ने चेतावनी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १० सोमबार o८:४६:oo

तोकिएको म्याद सकिन लाग्दासमेत नारायणगढ–बुटवल सडकखण्ड स्तरोन्नति आयोजनाको काममा चरम ढिलाइ भएपछि सडक विभागले निर्माण कम्पनीलाई ठेक्का तोड्ने चेतावनी दिएको छ । विभागले आइतबार सार्वजनिक सूचना जारी गर्दै चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पाेरेसनलाई करिब एक महिनाभित्र काममा सुधार ल्याउन निर्देशन दिएको हो । यदि, ५ कात्तिक (अक्टोबर २२) भित्र कार्यसम्पादनमा सुधार नआए ठेक्का रद्दको प्रक्रियामा जाने विभागले चेतावनी दिएको छ ।

पूर्व–पश्चिम राजमार्गको उक्त सडकखण्ड (११३ किलोमिटर)लाई चार लेनको बनाउने गरी विभाग र कम्पनीबीच पुस ०७५ मा सम्झौता भएको थियो । उक्त सडकखण्डलाई दुई भागमा विभाजन गरेर सोही कम्पनीलाई नै ठेक्का दिइएको थियो । त्यसमा पश्चिम भागको सात अर्ब ८६ करोड रुपैयाँ र पूर्वी भागको झन्डै १० अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । सरकारले एसियाली विकास बैंकको ऋण सहयोगमा यो आयोजना अघि बढाएको हो । हालसम्म चिनियाँ कम्पनीले ठेक्काबापत ११ प्रतिशत रकम भुक्तानी लगेको छ । 

सम्झौताअनुसार कम्पनीले साढे तीन वर्षभित्र सडकको स्तरोन्नति गरिसक्नुपर्ने थियो, जुन म्याद गत साउनमै सकिएको छ । यद्यपि, कोरोना महामारीका कारण कम्पनीले सरकारबाट थप एक वर्ष म्याद भने पाइसकेको छ । तर, साढे तीन वर्ष बितिसक्दा पनि आयोजनाको भौतिक प्रगति भने झन्डै १९ प्रतिशत मात्रै छ । काम सम्पन्न हुने अवधिमा समेत निराशाजनक भौतिक प्रगति देखिएपछि विभागले ठेकेदार कम्पनीलाई अल्टिमेटम दिएको हो ।संघीय संसद्अन्तर्गतको विकास तथा प्रविधि समितिले पनि गत साउनमा निर्माण कम्पनीसँग ठेक्का तोड्नुपर्ने भन्दै कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको थियो ।  

 सुधार नभए दुवै ठेक्का रद्द
आयोजनाको पश्चिम भागका प्रमुख प्रदीपराज शाक्यले कम्पनीलाई काममा सुधार ल्याउन कात्तिक ५ (अक्टोबर २२ तारिख)सम्मको म्याद दिएको बताए । ‘लामो समयसम्म पनि चिनियाँ कम्पनीले आयोजनाको निर्माणमा राम्रो प्रगति गर्न सकेन,’ उनले भने, ‘समग्रमा हामीलाई निर्माण कम्पनीको कार्यसम्पादनमा चित्त बुझेको छैन । त्यसैले ५ कात्तिकसम्मको अवधि दिएर कम्पनीलाई कार्यसम्पादनमा सुधार ल्याउन भनेका छौँ । यदि, त्यो अवधिमा कम्पनीले आफ्नो कार्यसम्पादनमा सुधार गरेन भने ठेक्का सम्झौताबारे पुनर्विचार हुन सक्छ ।’ दुवै भागको ठेक्कामा उक्त सूचना लागू हुनेछ । अब कम्पनीले ५ कात्तिकभित्र सडक मर्मत गरेमा, काम गर्ने विश्वास देखाएमा ठेक्का निरन्तर हुन सक्छ । ‘हामीले दिएको अवधिभित्र कम्पनीले कुनै न कुनै रूपमा काम गर्ने विश्वास देखाउनुपर्छ,’ उनले भने ।

पछिल्लो एक वर्षको कार्यसम्पादन हेर्दा निर्माण कम्पनी लक्ष्यभन्दा धेरै पछि रहेको छ । कार्यसम्पादनलाई तीव्रता दिन कम्पनीसँग विश्वस्त आधारसमेत छैन । समग्रमा ठेक्का सम्झौता रद्द गर्न पर्याप्त आधार तय भइसकेको विभागको भनाइ छ । त्यो अवस्थामा कम्पनीले २२ अक्टोबरभित्र कार्यसम्पादन नसुधारेमा ठेक्का रद्दको प्रक्रियामा जाने सूचनामा उल्लेख छ । यद्यपि, कम्पनी पनि काम गर्न ब्याकअप योजनासहित बसेको बुझिएको छ । अहिले कम्पनीसँग पर्याप्त मात्रामा स्रोध–साधन छन् । त्यो अवस्थामा यसबीचमा कम्पनीले राम्रो गर्न सक्ने विभागकै अधिकारीहरू बताउँछन् ।