मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
देवराज गुरुङ
२०७९ असोज १० सोमबार ०८:१८:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

गणतन्त्रले भत्काउन नसकेको भाष्य

गणतन्त्रमा पनि मान्छेको सुन्दरताको भाष्यसमेत जातअनुसार फरक–फरक छ । को राम्रो र को नराम्रो भन्नेसमेत एकीकरणको भाष्यले निर्धारण गरेको छ ।

Read Time : > 4 मिनेट
देवराज गुरुङ
२०७९ असोज १० सोमबार ०८:१८:००

केही समयअगाडि नेपाली सञ्चारमाध्यमहरूमा नागरिकतामा अपमानजनक नाम भएका समाचार छापिए । त्यसपछि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई अपमानजनक नाम भएका नागरिकता सच्चाउन परिपत्र गर्‍यो । दैलेख भगवतीमाई गाउँपालिका, ३ का ६२ वर्षीय कविरामले २०४६ मा गाउँमा खटिएको सरकारी टोलीबाट नागरिकता लिएका थिए । प्रधानपञ्चले सिफारिस गरेर कविरामको नाम ‘कुकुर कामी’ राखिदिए । कविरामले नागरिकता प्राप्त गरेको ३३ वर्षपछि, नागरिकतामा आफ्नो नाम सच्चाउने अवसर पाए । 

माथिको घटना उत्पीडित समुदायमाथि हुने विभेदको एउटा नमुना मात्र हो । राज्यको संरचना र भाष्यको निर्माण कसरी भयो ? बितेको डेढ दशकमा गणतन्त्र, संघीयता, धर्मनिपेक्षता, समावेशी सहभागिताको ढोल निकै पिटाइयो । हामीले व्यवस्था बदल्यौँ, शासक फेर्‍यौँ, तर भाष्य फेर्ने प्रत्यन गरेनौँ । समस्या व्यवस्था र शासकमा मात्रै होइन, भाष्यमा पनि थियो । पृथ्वीनारायणवाला (पञ्चायती भाष्य)लाई गणतन्त्रले हल्लाउन सकेन । त्यसले आफ्नो लय समातिरह्यो । भाष्यको निर्माण सबै पक्षमा गरियो । 

इतिहासको भाष्य :  नेपालको इतिहास लेखन विसं २००७ सालपछि व्यवस्थित भयो । बाबुराम आचार्य, डिआर रेग्मी, सूर्यविक्रम ज्ञवालीलगायतले इतिहास लेखनको जिम्मा पाए । राजा महेन्द्रले पञ्चायती शासन (२२ पुस, २०१७) लादेसँगै हाम्रो इतिहास पनि दरबारभित्र पस्यो । पृथ्वीनारायण शाहदेखि राणा शासनको अन्त्यसम्म आइपुग्दा नेपालको इतिहास शासककै स्तुतिगानमा भुल्यो । दरबार र शासकले जे भाष्य निर्माण गरे त्यही वैधानिक इतिहास बन्यो ।

००७ सालमा प्रजातन्त्रको स्थापनापश्चात् राज्यको समग्र पक्षले फड्को मार्ने जमर्काे गर्‍यो । तर, प्रजातन्त्रको विकास हुन नपाउँदै राजा महेन्द्रले लादेको पञ्चायती व्यवस्थाले प्रजातन्त्रको जग फेरि एकपटक हल्लियो । पञ्चायती व्यवस्था रूपमा जे–जस्तो भए पनि सारमा पृथ्वीनारायण शाहको एकीकरणको भाष्यको इतिहास निर्माण गर्न सफल बन्यो । महेन्द्रले पञ्चायती शासनमा गरेका गतिविधि हेर्दा त्यो व्यवस्थाको मुख्य उद्देश्य भनेकै पृथ्वीनारायणको एकीकरणको भाष्यलाई स्थापित गर्नु थियो । उदाहरणका रूपमा दरबारभित्र भएका लेखन कार्यहरू हुन्– इतिहास, साहित्य, गीत–संगीत आदि ।

सबैभन्दा रोचक पक्ष त के छ भने एकीकरणका पिताका रूपमा स्वीकार गरिएका या गराइएका पृथ्वीनारायण शाहको हाल चलनचल्तीको तस्बिरनै विसं ०२४ सालपछि केके कर्माचार्यले कोरेका हुन् । यो चित्र केवल चित्रमा मात्र सीमित रहेन, चित्रले इतिहासको भाष्यसमेत निर्माण गर्‍यो । चित्रले राष्ट्रनिर्माताको वैधानिकता र शासकीय रूपसमेत धारण गर्‍यो । तस्बिरमा पृथ्वीनारायणले प्रयोग गरेका सामग्री श्रीपेचबाहेक अरू सबै युरोपियन शैलीको छ ।

गोरखाका राजा पृथ्वीनारायण शाह दुब्लो र ख्याउटे थिए भनेर इतिहास रटाइन्छ, तर तस्बिर र इतिहासको तारतम्य कहाँ मेल खान्छ ? आफैँले लेखेको इतिहासको धज्जी आफैँबाट उडाइएको छ । सारमा महेन्द्र सफल रहे, अनि भाष्यको स्थापना गरियो, राष्ट्रनिर्माता पृथ्वीनारायण शाह । त्यही भाष्यका आधारमा निर्माण भएको इतिहासलाई नै आजको सबैभन्दा शक्तिशाली इतिहास भनिन्छ । गणतन्त्रको होहल्लाले पनि त्यसको जग भत्काउन सकेन । इतिहासको पुनर्लेखन आफैँमा जटिल छ । तर, हाम्रो गणतन्त्रले इतिहासको समीक्षासमेत गर्न सकेन वा चाहेन ।

संविधानको भाष्य :  ०७२ को संविधान निर्माण हुनुअगाडि राज्य पुनर्संरचना आयोग बन्यो । आयोगले मुख्यतः संविधानमा जनजाति, महिला, दलित, अल्पसंख्यक, पिछडिएका तथा उत्पीडित समुदायको अधिकार तथा राज्यसत्तामा प्रतिनिधित्वको किटान गर्नका लागि सरकारलाई सिफारिस गर्‍यो । तर, आयोगले उत्पीडित समुदायमाथि हुँदै आएको विभेदको भाष्यको जगमा बहस गरेन । मात्र समानुपातिक प्रतिनिधित्वको विषयमा जोड दियो । समस्या प्रतिनिधित्वमा मात्रै थिएन, भाष्यमा पनि थियो । उदाहरणका लागि, संविधानले वडासदस्यका रूपमा दलित महिलाको उपस्थिति अनिवार्य गरेको छ ।

राज्य पुनर्संरचना आयोगले उत्पीडित समुदायमाथि हुँदै आएको विभेदको भाष्यको जगमा बहस गरेन । मात्र समानुपातिक प्रतिनिधित्वको विषयमा जोड दियो । समस्या प्रतिनिधित्वमा मात्रै थिएन, भाष्यमा  पनि थियो ।

वडामा प्रतिनिधित्व भए पनि मूलभूत रूपमा दलितहरूले गणतन्त्रमा पनि स्वतन्त्रताको अनुभूति गर्न पाएका छैनन् । राज्यको अंगमा प्रतिनिधित्व मात्र भएर हुँदैन, समुदायप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आउनु जरुरी छ । राज्यमा उपस्थितिको दृष्टिकोणले मात्रै हेर्ने हो भने पृथ्वीनारायणका समयमा पनि बिसे नकर्ची, धार्ने कामी, बांगे सार्कीको उपस्थिति आजको भन्दा कम्तीको थिएन । हामीले संविधानमा दलितको उपस्थिति त खोज्यौँ, तर त्यसले दलितको मुद्दालाई हल गर्न खोजिएन । त्यसैले, समस्या प्रतिनिधित्वमा मात्रै होइन, राज्यले निर्माण गरेको बनोटमा पनि छ । दलितलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारको जग भत्काउनैपथ्र्यो र पर्छ । समावेशिताको हिसाबले मात्रै अघि बढेर पुग्दैन ।

धर्मको भाष्य :  जंगबहादुरले विसं १९१० मा मुलुकी ऐनमार्फत हिन्दू सत्तालाई वैधानिकता दिने काम गरे । ऐनले वर्ण व्यवस्थामा नअटाउने भिन्नै धर्म, संस्कृतिका आदिवासी, जनजातिलाई समेत हिन्दू व्यवस्थाकै फ्रेमभित्र हालेर नियमन गर्‍यो । पृथ्वीनारायणले बसालेको हिन्दू राज्यलाई बलियो बनाउन जंगबहादुरले जनजातिमाथि हिन्दू संस्कार नमानेको भन्दै मृत्युदण्डसमेत दिए । यसको ज्वलन्त उदाहरणका रूपमा दसैँ नमानेको भन्दै १९३३ सालमा धनकुटाका रामलिहाङ र रिदाम आठपहरिया राईलाई दिएको मृत्युदण्डलाई लिन सकिन्छ । त्यसका साथै जनजातिलाई हिन्दू परम्पराअनुसार दसैँ अनिवार्य गर्ने र प्रमाणस्वरूप बलि चढाएको पशुको रगतको पन्जाछाप घरको ढोकामा अनिवार्य गराइयो ।अहिलेको संविधानअनुसार हाम्रो देश धर्मनिरपेक्ष हो । हिन्दू धर्मभित्र पनि विभेद छ । उदाहरणका लागि, हिन्दू धर्म अँगाल्ने ब्राह्मणभित्रकै महिला र दलितले जनै धारण गर्न किन पाएनन् ? धर्मनिरपेक्ष राज्य भनेर घोषणा त गरियो, तर त्यसले व्यवहारमा परिवर्तन ल्याएन । 

शिक्षाको भाष्य :  संविधान र पाठ्यपुस्तकमा छुवाछुत सामाजिक अपराध हो भनेर पढाइएको छ, तर घर र समाजमा छुवाछुत चलिरहेकै छ । यस्तो किन भयो ? भनेर प्रश्न गर्दा उत्तर शिक्षकसँग हुँदैन वा दिन सक्दैनन् । यसको निश्चित कारण छ । हामीले हाम्रो मौलिकतामा हाम्रो शिक्षा पद्धति निर्माण गरेनौँ । उही राणाकालमा अंग्रेजहरूले भारतमा भित्र्याएको शिक्षा पद्धति आजसम्म हाम्रा विद्यालय तथा विश्वविद्यालयहरूमा निरन्तर छ । राणाकालमा आफूलाई चाहिने कर्मचारी उत्पादन गर्न त्रिचन्द्र कलेज, दरबार हाई स्कुलहरूमा जुन किसिमको अध्ययन हुन्थ्यो, त्यही शैलीको शिक्षा पद्धति अहिले पनि विद्यमान छ । अनि हामी गुणस्तरीय शिक्षा खोज्छौँ, भेटियोस् कसरी ? 

अर्कातर्फ, इतिहास पढाउने नाममा विद्यालय तहदेखि विश्वविद्यालयसम्म पृथ्वीनारायणको गुणगान राम्रै भेटिन्छ । पृथ्वीनारायणलाई राष्ट्रनिर्माताका रूपमा जबर्जस्त इतिहास रटान गराउने प्रवृत्ति कायमै छ । गणतन्त्रमा पनि पृथ्वीनारायणको अभियान राज्यविस्तार कि एकीकरण भन्ने विषयमा थेसिस लेख्न खोजियो भने लिट्रेचर रिभ्युको अभावमा त्यसले सार्थकता पाउन सक्दैन । अमुक व्यक्तिले लेखेको इतिहासलाई वैधानिकता नदिने प्रचलन डरलाग्दो छ । 

यो व्यवस्था ल्याउनका लागि संघर्ष गर्नेहरू पनि शाह र राणा शासनबारे ज्ञान बटुल्दै, बौद्धिकताको ‘सर्टिफिकेट’ लिने दौडमा छन् । त्यस्तै, विश्वविद्यालयमा अंग्रेजी भाषाको हाउगुजी डरलाग्दो छ । अंगेजी भाषा नै शिक्षा मान्ने प्रवृत्ति समाजमा व्याप्त छ । विद्यालयदेखि विश्वविद्यालयसम्म अंग्रेजीमा दखल रहेकाहरूलाई उत्कृष्ट विद्यार्थीका रूपमा हेर्ने गरिन्छ । गुरुकुलमा जस्तो गुरुको आज्ञाकारी छात्रछात्राले उत्कृष्ट नम्बर पाउने र राणाकालमा जस्तो गुरुको चाकरी गर्नेले जागर पाउने प्रवृत्ति अहिलेको विश्वविद्यालयको शैक्षिक अवस्थाको हो । विश्वविद्यालयको कोठामा भन्दा शिक्षकको घरमा कोचिङ पढ्न जानेको नम्बर धेरै आउनु यसैको उपज हो । बहुलवादलाई हाम्रो समाजले स्वीकार गर्छ । तर, विश्वविद्यालयको कोठामा शिक्षकको भन्दा फरक मत जाहेर गर्दा परीक्षामा सहिद हुनुपर्ने अर्काे विशेषता हाम्रो शैक्षिक क्षेत्रमा विद्यमान छ । 

सुन्दरताको भाष्य :  नेपालको गाथामा किन हिमाल, पहरा, छहरा मात्र उठ्यो ? गुराँस र डाँफेको स्थान मधेसको कमल, सलहेश र मयूरले किन लिन सकेन ? शासकहरूले जहाँ–जहाँ शासन गरे त्यहीँ मात्र राम्रो । पूर्व र मध्यपहाडको तुलनामा पश्चिमका पहाडहरू सुन्दर भनिएनन्, कारण पश्चिम जहिले पनि एकीकरणको विपक्षमा उभियो । मधेसको तुलनामा पहाड र हिमाल जहिले पनि सुन्दर नै रह्यो । हाम्रो राष्ट्रियतामा मधेसले अझै स्थान पाउँदैन । त्यस्तै पहाड र हिमालका मानिसहरू मधेसका शासक बनिरहे ।

मान्छेको सुन्दरताको भाष्यसमेत जातअनुसार फरक–फरक छ । कस्तो मान्छे राम्रो ? कस्तो नराम्रो ? कुन पोसाक राम्रो ? कुन नराम्रो भन्नेसमेत एकीकरणको भाष्यले निर्धारण गरेको छ । त्यसको मनोवैज्ञानिक पक्ष आजसम्म हाबी छ । भाष्यले हाम्रो मनोविज्ञानमा समेत बलियो जग हाल्न सफल भएको छ । संविधान र शासकीय स्वरूपमा परिर्वतन आए पनि मनोविज्ञानले त्यसलाई स्वीकार गर्न सक्दैन । किनभने, हाम्रो मनोविज्ञान निर्माणमा विगतका शासकहरूले निकै ठूलो लगानी गरेका छन् ।

अन्त्यमा, महेन्द्रले पञ्चायती व्यवस्था नलादेको भए नेपालको इतिहास अर्काे पाटोमा मोडिने देखिन्छ । पञ्चायतसँगै हामीले इतिहासको नजिक पुग्ने मौका गुमायौँ । पञ्चायती व्यवस्था रूपमा खराब र असफल भए तापनि एकीकरणको भाष्यलाई बलियो बनाउन भने सफल रह्यो । त्यसभित्र नेपालको इतिहास, कला, भाषा, साहित्यजस्ता पक्षहरू एक ढंगले पञ्चायती फ्रेमभित्र बस्न सफल भए । अरू पक्षमा सफल, असफल जे–जे भए पनि पञ्चायती व्यवस्था एकीकरणको भाष्यको जग बलियो बनाउनचाहिँ सफल बन्यो । 

इतिहासको पुनरावलोकन गर्दा राजा महेन्द्रले पञ्चायती व्यवस्था लाद्नुको मुख्य कारण नै एकीकरणको भाष्यलाई वैधानिकता दिनु थियो । त्यो यति बलियो जग रहेछ कि आजको गणतन्त्रमा समेत हल्लिएन । उल्टै एकीकरणको गुणगान गाउनेहरूको संख्या थपिएको छ । बनिबनाउ इतिहासलाई हेर्दा पृथ्वीनारायणले भन्दा महेन्द्रले एकीकरणलाई वैधानिकता दिन लागिपरेको प्रस्ट देखिन्छ । 

अर्कातर्फ, कविरामहरूको नागरिकताको प्रमाणपत्र हेर्दा, राज्यविस्तारको अभियान कुनै न कुनै ढंगबाट जारी छ । हामीले व्यवस्थामा गणतन्त्र ल्यायौँ, तर भाष्यमा गणतन्त्र ल्याउन सकेनौँ । समस्या व्यवस्था र अवस्थामा मात्रै होइन, भाष्यमा पनि छ भन्ने बुझाउन नयाँ व्यवस्थाले किन खोजेन ? भाष्य देशलाई निर्देशित गर्ने निर्देशिका हो । जसले कविरामहरूलाई ३३ वर्षसम्म मान्छे होइन, ‘कुकुर’ बनाइराख्यो ।

(गुरुङ त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रमा एमफिल अध्ययनरत छन्)