१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ असोज ९ आइतबार १०:१७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

डलरको भाउ ऐतिहासिक महँगो

आयातमा चाप, मूल्यवृद्धिलाई नियन्त्रण गर्न थप कठिन, वैदेशिक रोजगारमा गएका श्रमिकलाई प्रोत्साहन

Read Time : > 1 मिनेट
२०७९ असोज ९ आइतबार १०:१७:००

अमेरिकी डलरको भाउले ऐतिहासिक रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज ७ गते अमेरिकी डलरको मूल्य एक सय २९ रुपैयाँ ८९ पैसा पुगेको छ । अघिल्लो दिन बिहीबारसम्म एक सय २८ रुपैयाँ २७ पैसा कायम रहेको डलरको भाउ एकै दिन एक रुपैयाँ ६२ पैसाले महँगिएको हो । 

विनिमय बजारमा भारतीय मुद्रा कमजोर बन्दै जाँदा नेपाली मुद्रा निरन्तर अवमूल्यन भइरहेको छ । महँगो आयातको मार भारतको चालू खाता घाटामा बढ्न थालेसँगै त्यहाँको विदेशी मुद्रा सञ्चितिमा असर पुगेको छ । भारतीय रिजर्भ बैंक (आइआरबी)ले सार्वजनिक गरेको शुक्रबारसम्मको तथ्यांकअनुसार त्यहाँको विदेशी मुद्राको भण्डार ५.२१ अर्ब अमेरिकी डलरले घटेर दुई वर्षयताकै कमजोर अवस्था पुगेकोे आइआरबीले जनाएको छ । 

नेपाली मुद्रासँग भारतीय मुद्रा (भारु)को विनिमय प्रणाली स्थिर भएकाले त्यहाँको मुद्रामा हुने तल–माथिको प्रभाव यहाँको मुद्रामा पनि पर्ने गरेको छ । अहिले एक अमेरिकी डलरबराबर ८१.०९ भारु तिर्नुपर्छ । यो भारतका लागि पनि नयाँ कीर्तिमानी मूल्य हो । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदरको नीतिमा ल्याएको परिवर्तनले उसको अर्थतन्त्र सुध्रिँदै गएको र अमेरिकी डलरको भाउ बढिरहेको छ । 

नेपाललाई फाइदा कि घाटा ?
अमेरिकी मुद्रा बलियो बन्दै जाँदा नेपालले पाउने लाभको तुलनामा घाटा बढी छ । आयातमा आधारित अर्थतन्त्र भएकाले नेपालले कमाएको विदेशी मुद्रा आयातमै बढी खर्चिनुपर्ने हुन्छ । त्यसलै आयातमा बढी डलर बाहिरिने भएकाले नेपालले तुलनात्मक लाभ लिने अवस्था छैन । 

आयातमा आधारित आपूर्ति प्रणाली भएकाले डलरको भाउवृद्धिले आयातको मूल्य बढाउने अर्थशास्त्री पारस खरेलले बताए । उनका अनुसार आयातको लागत बढ्नेबित्तिकै त्यसले महँगी पनि बढाउने भएकाले नेपालले तुलनात्मक लाभ नपाउने स्थिति छ । त्यसैले व्यापारघाटा न्यूनीकरणमा यसले चुनौती ल्याउनेछ ।’ नेपालमा आपूर्तिजन्य अवरोधका कारण पनि उत्पादनको क्षमता बढ्न सकेको छैन । जसरी देशको युवा जनशक्तिको उपयोग गर्न नसकिरहेको अवस्था छ, त्यसरी नै उत्पादन बढाउन सकिरहेको अवस्था नरहेकाले डलरको मूल्यवृद्धिले तुलनात्मक लाभ नदिने उनको बुझाइ छ । निर्यातमा नेपालले पाइरहेको ननट््यारिफ ब्यारियरजस्तो सुविधाको समेत उपयोग गर्न नसकिरहेको अवस्थामा लाभ लिन भने नसक्ने उनले बताए । 

नेपालले सम्भावना बोकेको जलविद्युत् र पूर्वाधारका लागि आवश्यक पर्ने सामानको भाउसमेत बढ्ने सम्भावना छ । तर, पछिल्लो समय भारतीय बजारमा विद्युत् निर्यात गरिरहेको नेपालले यहाँबाट बढी लाभ लिन सक्नेछ ।

यद्यपि, विदेशी मुद्रा आयको प्रमुख स्रोत रेमिट्यान्समा भने यसले बढोत्तरी ल्याउने उनको विश्वास छ । दसैँ–तिहारमा अन्य समयमा भन्दा बढी रेमिट्यान्स आउने भएकाले अहिले बैंकहरूले धमाधम रेमिट्यान्स निक्षेपको ब्याजदर बढाइरहेका छन् । अहिले बैंकहरूले यस्तो निक्षेपमा १५ प्रतिशतसम्म ब्याज दिइरहेका छन् । नेपाली मुद्राको अवमूल्यनले वैदेशिक रोजगारमा रहेका श्रमिकलाई थप लाभ पुग्ने भएकाले रेमिट्यान्सको आप्रवाह बढ्ने उनको विश्लेषण छ । 

तर, अहिलेको स्थितिमा रेमिट्यान्सको आप्रवाह खासै नबढेको र मूल्यमा मात्रै बढ्ने स्थितिमा भने यसले लाभ नदिने जोखिम छ । यसले रेमिट्यान्स नेपाली मुद्रामा बढेको देखिए पनि अमेरिकी डलरमा खासै अन्तर ल्याउँदैन । डलरमा रेमिट्यान्स नबढ्ने, तर नेपाली मुद्रामा मात्रै बढ्ने हुँदा यसले भुक्तानी सन्तुलनमा देखा परेको खाडल पूर्तिमा भने योगदान नपुग्ने अर्थशास्त्री खरेलको भनाइ छ ।