१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ८ शनिबार ०८:३७:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

बर्खामा अवरुद्ध भएका ६ सडकखण्ड अझै खुलेनन्, २२ एकतर्फी मात्रै खुला

साढे दुई घन्टाको नारायणगढ–बुटवल सडकमा १० घन्टाभन्दा बढी समय लगाएर यात्रा गर्नुपर्ने बाध्यता

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ८ शनिबार ०८:३७:००

नेपालका हिन्दूहरूको सबैभन्दा ठूलो पर्व दसैँ नजिकिएसँगै नेपालभर सवारीसाधनको आवतजावत बढ्न थालेको छ । तर, बर्सातका कारण पूर्ण रूपमा अवरुद्ध भएका विभिन्न राजमार्गका ६ सडकखण्ड भने अझै सञ्चालनमा आउन सकेका छैनन् । यसबाहेक २२ सडकखण्ड भने एकतर्फी रूपमा मात्रै सञ्चालनमा छन् । त्यसैले, दसैँका वेला हुने उच्च सवारी आवागमन प्रभावित हुने पक्का भएको छ ।

 राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार यो बर्खामा एक सय ६९ सडकखण्ड अवरुद्ध भएका थिए । हाल एक सय ४१ सडकखण्ड भने दुईतर्फी वा पूर्ण रूपमा खुला भएका छन् । त्यसबाहेक २८ सडकखण्ड (६ पूर्ण रूपमा अवरुद्ध र २२ एकतर्फी खुला) अझै पूर्ण रूपमा सञ्चालनमा आउन नसकेका हुन् । फलस्वरूप दसैँमा हुने उच्च सवारी आवागमन प्रभावित हुने, यात्रा लामो हुने, यात्रा जोखिमपूर्णसमेत हुने देखिएको छ । 

प्राधिकरणका अनुसार साँफेबगर–मार्तडी–कोल्टी सडक बाजुरामा, बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबेँसी सडक रुसुवामा, भैरहवा–पोखरा सडक पाल्पामा, डुम्रे–बेँसीसहर–चामे सडकको लमजुङमा अवरुद्ध छ । यस्तै, जमुनाहा–नेपालगन्ज हुँदै हिल्सा पुग्ने सडकको दैलेख र सुर्खेत हुँदै जुम्ला पुग्ने सडक जुम्लामा अवरुद्ध छ । हाल त्यहाँ वैकल्पिक सडक प्रयोग गरिएको छ ।  यी सडकमा भएको अवरोध हटाउने म्याद सकिइसकेको छ । ढिलोमा पनि सेम्टेम्बर २२ तारिखसम्म उक्त सडकहरूमा भएको अवरोध हटाउने योजना थियो । तर, त्यो म्याद सकिँदा पनि काम हुन सकेन । दसैँ मनाउने चटारोका कारण यतिवेला बजारदेखि गाउँसम्मै सवारी आवागमनको चाप बढ्दो छ । सुरक्षित यात्राका लागि यसवेला बर्खाका कारण बिग्रिएका सडकहरूको मर्मत गर्न अपरिहार्य हुन्छ । तर, त्यस्ता सडकहरू मर्मत नहुँदा यात्रासमेत जोखिमपूर्ण भएको यातायात व्यवसायीहरू बताउँछन् ।

सडक विभागका प्रवक्ता भीमार्जुन अधिकारीले बर्खाका कारण प्रभावित भएका अधिकांश सडकखण्ड मर्मतको चरणमा रहेको बताए । ‘बर्खामा सडक अवरुद्ध हुने भनेको नै पहिरो गएर हो । साथै, कतिपय ठाउँमा सडक भास्सिएर पनि हुन्छ । त्यो अवस्थामा हामी सबैभन्दा पहिला त एकतर्फी बाटो खुलाउनमै केन्द्रित हुन्छौँ,’ नयाँ पत्रिकासँग उनले भने, ‘किनकि, दुवैतर्फी बाटो खुलाउँदा पहिरो धेरै फाल्नुपर्ने हुन्छ । त्यसपछि पहिरो जाने जोखिम झन् बढी हुन्छ । त्यसैले पार्ट–पार्टमा पहिरो फालेर ग्याभिन वाल लगाउनुपर्छ । यस्तै, सडक भासियो भने सडक मर्मत गर्न झनै सास्ती हुन्छ । यस्ता कारण अझै पनि केही सडक एकतर्फी मात्रै सञ्चालनमा छन्, यो प्राविधिक समस्या हो ।’

मुख्य राजमार्गमा पनि समस्या 
यसबाहेक देशका मुख्य राजमार्गको स्तरोन्नति तथा मर्मत–सम्भारको काम प्रभावकारी नहुँदा दसैँको यात्रा थप प्रभावित हुने देखिएको छ । विशेष गरी एक सय १३ किलोमिटर लामो नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नति नसकिँदा काठमाडौं तथा पूर्वबाट लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश जाने यात्रुलाई निकै कष्ट हुने देखिएको छ ।  

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणघाट सडकखण्ड पछिल्लो दुई वर्षदेखि अस्तव्यस्त छ । सडक फराकिलो र कालोपत्रे गर्ने ठेक्का लगाएको दुई वर्ष भए पनि हालसम्म सडक चौडा पार्ने काम सकिएको छैन । अधिकांश पिच सडक भत्काइएको छ । हाल धुुलाम्य, हिलाम्य र खाल्डाखुल्डी सडकबाट सवारीसाधन ओहोरदोहोर गर्छन् । निर्माण कार्य भइरहेका कारण कतिपय अवस्थामा ठेकेदारले एकतर्फी लेन मात्रै सञ्चालन गरेका छन् । सामान्य अवस्थामा सार्वजनिक गाडीलाई यो सडकमा यात्रा गर्न साढे दुई घन्टा लाग्थ्यो । तर, अहिले १० घन्टाभन्दा पनि बढी समय लाग्ने गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर बताउँछन् । 

‘साढे दुई घन्टा लाग्ने ठाउँमा १० घन्टाभन्दा बढी लाग्ने गरेको छ । त्यो अवस्थामा हामीलाई काठमाडौं तथा पूर्वबाट लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सेवा दिन चुनौती हुन सक्छ,’ उनले भने, ‘अहिले नारायणगढ–बुटवल सडक नै हाम्रा लागि टाउको दुखाइको विषय बनेको छ । यही अवस्था भयो भने गाडीले पालो (क्यु) नभेट्न सक्छन् । फलस्वरूप सेवा प्रभावित हुन सक्छ ।’ 

यस्तै, अन्य सडकहरूको अवस्था पनि नाजुक नै छ । काठमाडौंनजिकै रहेको नागढुंगामा सुरुङमार्ग निर्माण भइरहेको छ । त्यसको निर्माणले गर्दा त्यहाँ प्रायः जाम हुने गरेको छ । यसैगरी, मुग्लिन–नारायणगढ सडक पनि पहिरोलगायतका कारण पटक–पटक जाम हुने गरेको छ । यसका अलावा दमौली–पोखराखण्डको कोत्रेमा पनि सडकको स्थिति राम्रो छैन । साथै, तराईको अमलेखगन्जदेखि पूर्वको कोसी ब्यारेजसम्मको सडक पनि त्यति राम्रो छैन । फलस्वरूप दसैँमा समयमै राम्रो सेवा दिन चुनौती हुने अध्यक्ष स्वाँर बताउँछन् । ‘समग्रमा केही सडकको अवस्था यस्तो नाजुक छ कि, यात्रा गर्ने समय नै लम्बिन्छजस्तो छ । त्यो अवस्थामा गाडीले अर्काे क्यु (पालो) भेट्न नसकिने हो कि भन्ने चिन्ता छ,’ उनले भने, ‘यसमा सम्बन्धित सरकारी निकायको ध्यान जान आवश्यक छ ।’