१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
सुवास भट्ट काठमाडाैं
२o८१ बैशाख ३० आइतबार o६:३८:oo
Read Time : > 4 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

निजामती सेवामा ८६ हाकिम दम्पती

नयाँ पत्रिकाले पहिचान गरेका सचिव र सहसचिवका चार दम्पती छन् । सहसचिवका पाँच, सहसचिव–उपसचिवका ६, सहसचिव–शाखा अधिकृतका १०, उपसचिवका १६, उपसचिव–शाखा अधिकृतका २५ र शाखा अधिकृतका २० जोडी निजामती सेवामा

Read Time : > 4 मिनेट
सुवास भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o६:३८:oo

श्रीमान्–श्रीमती एकै पेसामा रहेका उदाहरण धेरै छन् । यस्ता उदाहरणीय जोडी निजामती सेवामा पनि उल्लेख्य छन् । अधिकृतदेखि सचिवसम्मका पदमा कार्यरत ८६ ‘हाकिम दम्पती’को नयाँ पत्रिकाले पहिचान गरेको छ । सचिव र सहसचिव वा अधिकृतका चार जोडी छन् । दुवै सहसचिव रहेका पाँच, सहसचिव र उपसचिवका ६, सहसचिव र शाखा अधिकृतका १०, दुवै उपसचिव रहेका १६, उपसचिव र शाखा अधिकृतका २५ तथा दुवै शाखा अधिकृत रहेका २० जोडी छन् ।

यीमध्ये कतिपयले सरकारी सेवामा प्रवेश गरेपछि दाम्पत्य जीवन सुरु गरेका हुन् भने कतिपयले विवाहपछि एक–अर्कालाई आफ्नै पेसामा प्रवेश गराएका हुन् । श्रीमान्–श्रीमती मात्रै होइन, परिवारै निजामती सेवामा रहेका उदाहरण पनि छन् । कुनै परिवारमा सबै दाजुभाइ, कुनैमा सबै दिदीबहिनी लोकसेवामा नाम निकालेर उदाहरणीय बनेका छन् ।

 परिवारै सरकारी सेवामा : पाँच छोरा र चार बुहारी हाकिम, कान्छी बुहारी रामकुमारी झाँक्री मन्त्री

प्रेमराज पुरीको परिवार । पछाडि उभिएका पाँच भाइ छोरा ।

धनकुटाबाट काठमाडौं बसाइँ सरेका प्रेमराज पुरी–लक्ष्मी पुरी (दिवंगत)का पाँच छोरा मात्रै होइन, चार बुहारी पनि सरकारी सेवामा छन् । कान्छी बुहारी रामकुमारी झाँक्री निवर्तमान सांसद हुन् । एकीकृत समाजवादीकी सचिव रहेकी उनी केही समयअघिसम्म मन्त्री थिइन् । प्रेमराजका जेठा छोरा जीवनराज उपसचिव हुन् । उनी सर्लाहीको कोष तथा लेखानियन्त्रक छन् । शाखा अधिकृत रहेकी उनकी पत्नी राधिका गिरी पर्यटन विभागमा कार्यरत छिन् । माइला वसन्तराज पनि उपसचिव हुन्, डिल्लीबजार कारागार प्रमुख छन् । उनकी पत्नी बबिता मिश्र सहसचिव हुन्, संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको सचिवका रूपमा कार्यरत छिन् । 

साइँला छोरा सुभाषबाबु खोटाङका जिल्ला न्यायाधीश हुन् भने उनकी पत्नी ममता भारती आर्मी नर्सिङ कलेजमा सहप्राध्यापक छिन् । सुनसरीको कोष तथा लेखानियन्त्रकमा कार्यरत काइँला रामबाबु उपसचिव हुन् । उनकी पत्नी भवानी गिरी व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रमा लेखा अधिकृत छिन् । कान्छा छोरा पशुपति भौतिक पूर्वाधार मन्त्रालयका उपसचिव हुन् । उनकी पत्नी रामकुमारी राजनीतिमा सक्रिय छिन् । सहसचिव बबिताले पारिवारिक वातावरणले पनि सरकारी सेवामा आउन प्रेरित गरेको बताइन् । ‘सरकारी सेवामा लाग्न प्रोत्साहन र सहयोग गर्ने पारिवारिक वातावरणका कारण हामीलाई पनि यतैतिर लाग्न प्रेरित गर्‍यो,’ उनले भनिन् । 

 खोटाङका विदुरप्रसाद भट्टराईका ६ छोरी मात्रै होइन, पाँच ज्वाइँ पनि निजामती सेवामा


खोटाङको अर्को सिंगै परिवार पनि निजामती सेवामा छ । विदुरप्रसाद भट्टराई–गंगादेवी भट्टराईका ६ छोरी मात्र होइन, पाँचजना ज्वाइँ पनि सरकारी सेवामै छन् । तीन छोरी उपसचिव, दुई शाखा अधिकृत र एक नासु छन् । विदुरप्रसाद आफूले पनि ३६ वर्ष सरकारी सेवामा बिताएका हुन् । जेठी छोरी विष्णुकुमारी भट्टराई उद्योग मन्त्रालयमा उपसचिव छिन् ।

उनका पति चन्द्रप्रसाद फुँयाल भने उपसचिवबाट सेवानिवृत्त भइसकेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा उपसचिव रहेकी विन्दा आचार्य माइली हुन् । उनका पति गणेश आचार्य त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका उपसचिव हुन् । साइँली रमा भट्टराई दक्षिण कोरियास्थित नेपाली राजदूतावासमा श्रम सहचारी (उपसचिव) छिन् । उनका पति कोषहरि निरौला हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सहसचिव छन् । 

काइँली रेनु भट्टराई आन्तरिक राजस्व विभागअन्तर्गतको मध्यमस्तरीय करदाता कार्यालय, बबरमहलमा शाखा अधिकृत छिन् । उनका पति चिरञ्जीवी तिम्सिना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव हुन् । ठाइँली अनु भट्टराई नेपाल वायुसेवा निगममा नासु छिन् । उनका पति विनोद पराजुली भने सरकारी सेवामा छैनन् । कान्छी जुनु भट्टराई जिल्ला अदालत काठमाडौंमा शाखा अधिकृत हुन् भने उनका पति मिलन कार्की उद्योग विभागमा शाखा अधिकृत छन् । 

माइली विन्दा परिवारबाटै आफूहरूलाई सरकारी सेवामा आउन प्रेरणा मिलेको बताउँछिन् । उनका अनुसार बुबा विदुरप्रसादले ३६ वर्ष सरकारी सेवामै बिताए । ‘बुबा गृह मन्त्रालयअन्तर्गत ३६ वर्ष सरकारी सेवामा रहनुभयो,’ उनी भन्छिन्, ‘यसर्थ हामी सबैलाई सरकारी सेवामा आउन परिवारबाटै प्रेरणा मिल्यो ।’ करिब एक दशकअघि शाखा अधिकृतबाट बुबाले अवकाश पाएको उनले बताइन् । 

परिवारका पाँच सदस्य निजामती सेवामा

उद्योग मन्त्रालयका सहसचिव ध्रुव घिमिरेको परिवारका पाँच सदस्य निजामती सेवामा छन् । उनकी पत्नी इन्दु आत्रेय अर्थ मन्त्रालयमा शाखा अधिकृत छिन् । दाइ माधवप्रसाद उपसचिव हुन् । हाल भक्तपुरको सहायक सिडिओ छन् । उनकी पत्नी प्रमिला रिजाल जुम्लाको सहायक सिडिओ छिन् । धुव्रकी  दिदी सीता घिमिरे गृह मन्त्रालयमा शाखा अधिकृत छिन् । सीताका पति भुवन पौडेल स्वास्थ्य सेवाका दशौं तह (उपसचिव)हुन् ।

एकै परिवारका ६ भाइ : एक सचिव, दुई सहसचिव–उपसचिव, एक क्याम्पस प्रमुख र अर्का प्राध्यापक 
गुल्मीका बुद्धिप्रसाद–मनकुमारी पन्थका ६ भाइ छोरा सबै सरकारी सेवामा छन्। चार निजामतिमा र दुई प्राध्यापनमा छन् । जेठा यदुलाल पन्थ रुपन्देहीस्थित सहिद नारायण पोखरेल रामपुर क्याम्पसका प्रमुख हुन् । माइला कृष्णप्रसाद लुम्बिनी प्रदेशको शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव (सहसचिव) हुन् । साईंला महादेव पनि सहसचिव हुन्। उनी हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रादेशक समन्वय तथा योजना महाशाखा प्रमुख छन् । काईंला रविलाल भने सचिव हुन् । उनी हाल गण्डकी प्रदेशको प्रमुख सचिवमा कार्यरत छन् । उनीपछिका विष्णुप्रसाद नेपाल टेलिकममा नवौं तह (उपसचिव सरह)मा कार्यरत छन् । कान्छा नुरापति त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक हुन् ।

भाइ सचिव, पत्नी र दाजु–भाउजू सहसचिव
निजामती सेवामा अर्को एउटा परिवार छ, जसका दुई दाजुभाइ सचिव र सहसचिव छन् भने उनीहरूका पत्नी सहसचिव छन् । लोकसेवा आयोगका सचिव राजकुमार श्रेष्ठ र उद्योग मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठ दाजुभाइ हुन् । राजकुमार भाइ र प्रेमकुमार दाइ हुन् । उनीहरू दुवैका पत्नी सहसचिव छन् । राजकुमारकी पत्नी रोशनीकुमारी श्रेष्ठ गृह मन्त्रालयमा र प्रेमकुमारकी पत्नी यमुना प्रधान राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा कार्यरत छन् ।

तीन छोरा सहसचिव, एक बुहारी अधिकृत
ओखलढुंगाका प्रेमबहादुर खत्रीका तीन छोरा नै सहसचिव भए । माइला कोमल र कान्छा नेत्रकुमार अहिले पनि सेवामै छन्, जेठा यज्ञबहादुर केही समयअघि सहसचिवबाट सेवानिवृत्त भए । नेत्रकुमार हाल महालेखापरीक्षक कार्यालयका नायब महालेखापरीक्षक हुन् भने कोमल गृह मन्त्रालयको कानुन महाशाखाको प्रमुख छन् । यज्ञबहादुरकी पत्नी देवकुमारी खत्री पनि निजामतीमा छिन् । उनी हाल मधेस प्रदेशको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयमा प्रमुख महिला विकास अधिकृत (नवौँ तह) छिन् । प्रेमबहादुर आफैँ पनि सरकारी सेवामा थिए । सन्तानलाई पनि सरकारी सेवामै ल्याउन प्रेरित गरे । उनी नेपाल प्रहरीका सेवानिवृत्त हुन् । 

 दाजु–बहिनी नै सचिव
गत २२ असारमा सचिवबाट रिटायर्ड भएका महेन्द्र गुरागाईंको परिवार नै सरकारी सेवामा छ । हाल स्वास्थ्यसचिव देवकुमारी गुरागाईं उनकी बहिनी हुन् । उनी बहाल छँदा दाजु–बहिनी नै सचिव रहेको भन्दै निजामती वृत्तमा चर्चा हुन्थ्यो ।

दाजु–बहिनी नै सचिव भएको दुर्लभ संयोग थियो । महेन्द्रपछिका भाइ पुष्प गुरागाईं राजस्व न्यायाधिकरणमा उपसचिव छन् । त्यसपछिकी हुन् देवकुमारी । देवकुमारीपछिका झइन्द्र गुरागाईं कानुन मन्त्रालयमा उपसचिव छन् । बहिनी सरस्वती गुरागाईं शिक्षक सेवा आयोगको परीक्षामा नाम निकालेर विद्यालय निरीक्षक छिन् (शाखा अधिकृत सरह) । उनीपछिकी बहिनी दोनुका गुरागाईं भने एक विद्यालयमा पढाउँछिन् । कान्छो भाइ चिरञ्जीवी गुरागाईं चलचित्र विकास बोर्डमा शाखा अधिकृत छन् । 

दाजुभाइ सहसचिव, उपसचिव

बाग्लुङका सहसचिव प्रकाश पौडेल र उपसचिव सन्तोष पौडेल दाजुभाइ हुन् । प्रकाश हाल रक्षा मन्त्रालयमा छन् भने सन्तोष प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत छन् । 

ad
ad