मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असोज ७ शुक्रबार ०६:५७:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

डा. केसीसँगको वार्ता निष्कर्षविहीन

बिहीबार बैठक बस्यो, तर मूल विषयमा छलफल नै भएन

Read Time : < 1 मिनेट
२०७९ असोज ७ शुक्रबार ०६:५७:००

 चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसी र सरकारी पक्षबीच बिहीबारको वार्ता निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो बसेको बैठक सरकारी पक्षले तयारी नगर्दा निष्कर्षविहीन बन्न पुगेको हो । 

बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव, स्वास्थ्यसचिव डा. रोशन पोखरेल, शिक्षा मन्त्रालयका उपसचिव लक्ष्मी खड्कालगायत सहभागी थिए । केसीको तर्फबाट डा. जीवन क्षेत्री, प्रीतम सुवेदी, ओमप्रकाश अर्याल, डा. लिजन महर्जन, डा. विष्णु पोखरेल सहभागी थिए । तर, सरकारी टोलीले केसीका मागका सम्बन्धमा तयारी नगरेकाले मूल विषयमा छलफल नै भएन ।

‘सरकारी टोलीले तयारी नै गरेको रहेनछ, हामीलाई भुलाउन मात्रै बैठकमा बोलाउनुभयो,’ डा. प्रीतम सुवेदीले भने, ‘उहाँहरूले राजनीतिक दल, मन्त्री र प्रधानमन्त्रीसँग छलफल गरेर मात्रै हाम्रा माग पूरा गर्नेबारे फेरि वार्तामा बस्ने बताउनुभएको छ ।’ उनका अनुसार अब कहिले वार्तामा बस्ने भन्नेबारे सरकारी पक्षले कुनै जवाफ नै दिएन । डा. केसी धनगढीमै अनशन बसेका वेला सरकारी टोलीसँग मंगलबार पनि सिंहदरबारमा छलफल भएको थियो । तर, उक्त छलफल पनि निष्कर्षविहीन बन्यो ।

चिकित्सा क्षेत्र सुधारका विभिन्न माग राख्दै केसी ११औँ दिनदेखि अनशनरत छन् । यो उनको २०औँ अनशन हो । १०औँ दिनसम्म धनगढीमा अनशन बसेका केसीको स्वास्थ्य अवस्था कमजोर बनेपछि बुधबार उनलाई श्री एयरलाइन्समार्फत काठमाडौं ल्याइएको थियो ।