१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
टेकराज थामी काठमाडाैं
२०७९ असोज ७ शुक्रबार ०६:३४:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एक लाख १५ हजार म्यादी माग्दा दुई लाख ३२ हजार आवेदन

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७९ असोज ७ शुक्रबार ०६:३४:००

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सुरक्षार्थ एक लाख १५ हजार म्यादी प्रहरीको माग भएकामा दुई लाख ३२ हजार ८८ को आवेदन परेको छ । नेपाल प्रहरीले म्यादी प्रहरी भर्नाका लागि ३० भदौदेखि आवेदन खुला गरेको थियो ।

प्रहरीको तथ्यांकअनुसार आवेदन दिनेमा सबैभन्दा धेरै मधेस प्रदेशका छन् । देशका ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत आवेदन खुला गरिएको थियो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी टेकप्रसाद राईले म्यादी प्रहरीमा भर्ती हुन मागको दोब्बर आवेदन परेको बताए । 

‘निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी आवश्यक थियो । यसका लागि हामीले मुलुकभरका ७७ वटै जिल्ला प्रहरी कार्यालयमा आवेदन खुला गरेका थियौँ । बिहीबार मध्यरातिसम्म आवेदन दिने अन्तिम समय हो । दुई लाख ३२ हजार ८८ को निवेदन परेको छ,’ उनले भने । प्रहरीका अनुसार मधेस प्रदेशमा सबैभन्दा धेरै ६६ हजार ८८४ को निवेदन परेको छ । 

प्रहरी प्रवक्ता राईका अनुसार निवेदन दिनेको संख्या उल्लेख्य देखिनुमा प्रहरीप्रतिको आकर्षण र बेरोजगार दुवै हो । उनले भने, ‘म्यादी प्रहरी बन्न इच्छा हुनेहरू उल्लेख्य देखियो । यसबाट केही महत्वपूर्ण तथ्य प्रवाह भएको हामीले देखेका छौँ । पहिलो प्रहरी सेवाप्रतिको आकर्षण हो, दोस्रो बेरोजगारी । म्यादी प्रहरीले पाउने भनेको ४० दिनको तलब मात्रै हो । यसका लागि पनि निवेदन दिने यति धेरै देखिए । यसले मुलुकमा बेरोजगारीको अवस्था कुन हदसम्मको छ भनि इंगित गर्छ ।’ 

म्यादी प्रहरी भर्नाका लागि आवेदन दिने अन्तिम अवधि बिहीबार राति सकिएपछि सबै निवेदनलाई ७७ वटै जिल्ला प्रहरी कार्यालयले एकत्रित गर्नेछन् । आवेदनलाई पूर्वसुरक्षाकर्मी, पूर्वम्यादी र नयाँ गरी तीन तहमा विभाजन गरिनेछ । छनोटका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय प्रमखुको संयोजकत्वमा समिति बन्नेछ । समितिमा सम्बन्धित जिल्लाका प्रहरी प्रमुख, जिल्लास्थित सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारी सदस्य रहनेछन् । उनीहरूले नै म्यादी प्रहरीको छनोट गर्नेछन् । पूर्वसुरक्षाकर्मी र पूर्वम्यादीलाई प्राथमिकतामा पर्नेछन् । 

प्रहरीका अनुसार ०७४ को निर्वाचन र ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा खटिएका म्यादी प्रहरीको हकमा अन्तर्वार्ताकै आधारमा छनोट गरिनेछ । तालिमको प्रक्रिया पनि केही लचिलो हुन सक्नेछन् । तर, यसका लागि आचरण भने ठीक भएको हुनुपर्छ । छनोटमा परेकाहरूको लगत्तै तालिम हुनेछ । तालिम सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाटै हुनेछ । महिना दिनको तालिमपछि उनीहरूलाई निर्वाचन सुरक्षामा खटाइनेछ । सबैगरी ४० दिन उनीहरू नेपाल प्रहरीको मातहतमा रहनेछन् । यस अवधिका लागि आवश्यक सेवा–सुविधा सरकारले व्यहोर्नेछ । निर्वाचन अवधिभर म्यादी प्रहरीले मतदान केन्द्र स्थापना, मतदाताको लाइन मिलाउने, मतदान केन्द्रमा अनधिकृत व्यक्ति प्रवेशलाई रोक्नेलगायतका काम गर्नेछन् । 

हालसम्म निर्वाचन प्रयोजनका लागि नेपाल प्रहरीबाट ७१ हजार ६ सय ९, नेपाली सेनाबाट ७४ हजार, सशस्त्र प्रहरीबाट ३५ हजार र राष्ट्रिय अनुसन्धान विभागबाट १५ सय सुरक्षाकर्मी खटाउने सरकारको तयारी छ ।