निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज ११ मंगलबार
  • Tuesday, 27 September, 2022
डा. गोपाल ठाकुर
२०७९ असोज ६ बिहीबार ०७:३४:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

पूजा कसको र सन्तोष कसले गर्ने ?

धर्म भनेको मानिसले धारण गर्ने दश लक्षणको योग हो, जसको अध्यात्मवादसँग कुनै सम्बन्ध देखिँदैन

Read Time : > 4 मिनेट
डा. गोपाल ठाकुर
२०७९ असोज ६ बिहीबार ०७:३४:००

राष्ट्रिय विज्ञान दिवसको अवसरमा प्रचण्डको वैचारिक अभिव्यक्तिले विश्व हिन्दू परिषद्को कन्सिरी तताएको देखिन्छ । ठिकै हो, तेत्तीस कोटी देवताहरूको पूजा गर्नुभन्दा दलित मानुवाहरूको पूजा कसरी पो उत्तम हुन सक्छ र ? १७ हजार मानिस मराउने प्रचण्ड कसरी पो नेता हुन सक्छन् र ? हिन्दुत्वमाथि यसरी हमला भएको हिन्दूहरूले कसरी पो टुलुटुलु हेरिबस्न सक्छन् र ? यतिखेर यस्ता अनेकौँ प्रश्न तेस्र्याउने काम भइरहेको छ । विधर्मीहरूको दलालदेखि अन्य कैयौँ नकारात्मक विशेषण लगाएर प्रचण्डविरोधी गाली साहित्यको अविष्कार पनि हुने गरेको देखिन्छ । यसका साथै ‘सन्तोषम् परमम् सुखम्’को पाठ पनि पढाइँदै छ । तसर्थ, पूजा कसको र सन्तोष कसले गर्ने त ? यो पनि जिज्ञासा उठ्नु स्वाभाविक हो ।

पूजा आफूलाई भलो गर्नेहरूको नै गर्ने चलन रहेको देखिन्छ । सनातनी चिन्तनमा मानव जीवनका जड स्रोतहरूको पूजा वैदिक कालभन्दा अगाडिदेखि नै चलेको देखिन्छ । उदाहरणका रूपमा आदिकालमा सूर्य, चन्द्रमा, पृथ्वी, नदी, तलाउ, वृक्ष आदिको पूजा–आराधना सुरु भएको देखिन्छ भने पछि वर्गीय समाजमा लडाकाहरूको पूजा सुरु भएको देखिन्छ । त्यसैगरी नश्लीय जातिहरूबीच द्वन्द्वको अवस्था आएपछि सबै जातिले आफ्ना वंशका संस्थापक पूर्वजहरूको पूजा गर्न सुरु गरे । तर, समाज बहुजातीय हुँदै जाँदा विजेता जातिको पूजा विजित जातिले गर्ने प्रचलन सुरु भयो । यसरी पहिले मानवजीवनका जड स्रोतहरूको पूजा गर्ने चलन नै विजेता लडाकाहरूको पूजाका रूपमा सरेको हो । पछि तिनै विजेता लडाकाहरूको प्रतीकका रूपमा मूर्ति बनाई तिनको पूजा सुरु भयो र भारतीय उपमहाद्वीपमा आर्य–अनार्यबीच युद्ध सुरु हुँदा आर्य लडाका सरदारहरूले आफूलाई देवताका रूपमा स्थापित गराई आ–आफ्ना पूजा सुरु गराएका हुन् । 

जसअन्तर्गत, प्रचण्डको शब्दमा तेत्तीस करोड तर मैले आफैँ पनि छपन्न करोड देवताको पूजा–आराधनासहितको शनिचरा पूजा हाम्रा गुरुहरूको निर्देशनमा प्राथमिक शिक्षार्जन कालमा गरेको झलझली सम्झिरहेको छु । तर, यस्ता पूजाहरूको विरोध पनि सुरु भएको पछिल्ला कक्षाहरूमा पढ्न पनि सुरु गरेकै हुँ । एसएलसीको पाठ्यक्रममा पूर्वीय भाषा नेपाली विषयको अध्ययनमा महाकवि देवकोटाको यात्री कवितामा उनले मानिसहरूको काँधमा डोली चढी राजा–महाराजाहरूले कहाँ कुन मन्दिरमा के लिएर कसको पूजा गर्न हिँडेको भनी उही जमानामा प्रश्न तेस्र्याएकै हुन् :

‘मानिसहरूको काँध चढी कुन देवपुरीमा जाने हो ?’यसका साथै देवताको पूजा गर्नुभन्दा गरिब–दुःखीको मद्दत गर्नु श्रेयष्कर रहेको त उनले उतिवेला नै 
भनेका हुन् :

‘फर्क फर्क हे जाऊ समाऊ
मानिसहरूको पाउ
मलम लगाऊ आर्तहरूको,
चहर्‍याइरहेको घाउ ।’

माध्यमिक शिक्षाकै क्रममा मैले कबिरका दोहाहरू पनि पढेको हुँ । उनले त प्रस्ट शब्दमा मूर्तिपूजामाथि कडा प्रहार गरेको पाएँ मैले ः
हिन्दूहरूको आडम्बरमा कबिरको अभिव्यक्ति यस्तो छ :

‘पाहन पुजे हरि मिले तो मैं पुजूँ पहाड़ ।
ता से तो चक्की भली पीस खाए संसार ।’

ढुंगाको पूजा गरेर ईश्वर पाइन्छ भने त म पहाडैको पूजा गर्न उचित ठान्छु । तर, त्यो काम नलाग्ने ढुंगोभन्दा त म जाँतोलाई श्रेयष्कर ठान्छु । जसद्वारा पिठो पनेर संसारले खाइरहेको पाउँछु ।अतः मूर्तिपूजाको विरोध त शताब्दीऔँदेखि नै हुँदै आएको हो । त्यसैले, प्रचण्डले तेत्तीस करोड देवतालाई पुज्नुभन्दा त मानवजीवनलाई आफ्नो श्रमले सिँगार्ने दलितहरूको पूजा गर्नु श्रेयष्कर नै छ । तसर्थ, देवकोटा र कबिरको प्रशंसक हुने र प्रचण्डको आलोचक हुने द्वैध चरित्र कसैले प्रदर्शन गर्नुको तुक छैन ।

महाभारतकालमा एक अक्षोहिणी चतुरंगिणी सेनामा एक लाख नौ हजार ३५० पैदल, ६५ हजार ६१० घोडसवार, २१ हजार ८७० रथ र २१ हजार ८७० हात्तीमा सवार योद्धाहरू लड्थे । महाभारत युद्धमा पाण्डव पक्षमा रहेका सात र कौरव पक्षमा रहेका ११ अक्षोहिणी यस्ता चतुरंगिणी सेनामध्ये युद्ध समाप्त हुँदा पाँच भाइ पाण्डव मात्रै विजेताका रूपमा बाँचेका थिए । यसको हिसाब गर्दा एक लाख ७४ हजार ९६० पैदल र घोडसवारहरूसँगै रथमा दुई र हात्तीमा दुई गरी ८७ हजार ४८० जोड्दा एक अक्षोहिणीमा दुई लाख ६२ हजार ४४० योद्धाहरू हुन्छन् र यसरी १८ अक्षोहिणी सेनाको हताहत हुँदा महाभारत युद्धमा ४८ लाख २३ हजार ९२० मानिसको ज्यान गएको देखिन्छ ।

ज्ञात रहोस्, महाभारत युद्ध गर्नका लागि नै कृष्णले अर्जुनलाई गीता सुनाएका थिए । अतः कृष्ण त्यस वेला ४८ लाख मानिसका हत्यारा थिए, जसका कारण गान्धारीले उनको वंशको पनि विनाश हुने श्राप दिएकी थिइन् । तर, कृष्णले महाभारतलाई धर्मयुद्धको नाम दिए । पाण्डवलाई पापमोचित भएको घोषणा पनि गरे । तत्कालीन राजनीतिक परिस्थितिको मूल्यांकन गर्ने हो भने यो महाभारत युद्धले पनि कुनै युग परिवर्तन गरेको देखिँदैन ।

धर्मलाई अध्यात्मसँग जोडेर त्यसलाई विद्रूप बनाउनेहरू नै यथार्थमा विधर्मी हुन् । किनभने धर्म कुनै आध्यात्मिक आस्था, विश्वास र अन्धविश्वास नभई यो कुनै वस्तु र व्यक्तिको गुण हो ।
 

किनभने, एउटा राजाको ठाउँमा अर्को राजा स्थापित गर्नका लागि यो युद्ध लडिएको थियो । यसका बाबजुद कृष्णलाई ईश्वरको आठौँ अवतार मानिन्छ । तर, कृष्णकै शब्दमा महाभारत युद्ध जसरी बाध्यकारी थियो, नेपालमा जनयुद्ध पनि त्यसरी नै बाध्यकारी थियो । किनभने प्रतिगामी राजशाही फालेर अग्रगामी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना आवश्यक थियो । जसका लागि प्रजा परिषद्देखि झापा विद्रोहसम्म पहिले पनि हतियार उठेका थिए, तर जनयुद्धमा जनताले उठाएको हतियारले मात्रै जनविद्रोहका लागि आमजनतालाई उत्साहित गर्‍यो र अहिले धर्मनिरपेक्षता र समानुपातिक समावेशिताको सीमित अभ्याससँगै हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गर्न पाएका छौँ ।

तसर्थ, जसरी जनयुद्धको विरोध गर्नु प्रतिगमनको प्रयास हो ‘सन्तोषम् परमम् सुखम्’ भन्नु पनि पतनको बाटो हो । यसका लागि धेरै तर्क गरिरहनुपर्दैन । महाभारतमै पनि कर्ण र अर्जुनको निर्माण सन्तोषले होइन, असन्तोषले गरेको थियो । कर्णलाई द्रोणले शिक्षा दिन अस्वीकार गर्दा उनले सन्तोष मानेको भए के हुन्थ्यो ? त्यसैगरी एकलव्यलाई द्रोणले धनुर्विद्या सिकाउन अस्वीकार गर्दा उनी हरेस खाइबसेका भए के हुन्थ्यो ? अर्जुनले द्रोणकै शिक्षालाई अन्तिम मानेर ढुक्कले बसिदिएका भए के हुन्थ्यो ? अतः सन्तोषले मानिसलाई अल्छी बनाई गन्तव्यहीन बनाउँछ भने असन्तोषले नै गतिशील बनाई गन्तव्यमा पुर्‍याउँछ ।

यदि सन्तोषकै कुरा गर्ने हो भने हिन्दुत्वका नाममा राजा फर्काउने दुष्प्रयत्न के सन्तोष हो ? होइन । यो त ठूलै असन्तोष हो । अतः ‘सन्तोषम् परमम् सुखम्’ भन्नु भनेको आमजनतालाई चिरनिद्रामा सुताएर सामन्तवादले आफ्नो चरम शोषणयुक्त मक्किएको अर्थराजनीतिको रोटी सेक्नु हो । त्यसैले, जनताले अहिलेसम्म पनि दिएको सुख–सुविधामा सन्तोष गरी बस्ने पालो अब गद्दीत्यूत राजा र उनका मतियारहरूको हो ।

जहाँसम्म प्रचण्डमाथि विधर्मी भएको आरोप छ, स्वयं धर्मलाई अध्यात्मसँग जोडेर त्यसलाई विद्रूप बनाउनेहरू नै यथार्थमा विधर्मी हुन् । किनभने धर्म कुनै आध्यात्मिक आस्था, विश्वास र अन्धविश्वास नभई यो कुनै वस्तु र व्यक्तिको गुण हो । यो निष्कर्ष सनातनी मान्यतामै जन्मी हुर्केको हाम्रो पारम्परिक चिकित्सा प्रणाली आयुर्वेदको हो । त्यसैले कुनै पनि आयुर्वेदिक औषधिको बट्टा वा बोतलमा त्यस औषधीको गुण–धर्म के हो भन्ने प्रस्ट्याइएको हुन्छ ।जब कुनै वस्तुको गुण नै धर्म हो भने मानिसका लागि पनि खास गुणहरू अपेक्षित हुनु स्वाभाविक नै हो । त्यसैले महाभारतमा अन्य जीवहरूभन्दा मानिसको भिन्नतालाई यसरी प्रस्ट्याइएको छ :

‘आहार निद्रा भय मैथुनञ्च, समानमेतत् पशुभिर्नराणाम् ।
धर्मोहि तेषामधिको विशेषः धर्मेणहीनाः पशुभिः समानाः ।’ (महाभारत, शान्तिपर्व २६४.२६)

‘आहार, निद्रा, भय र मैथुन त पशु र मानसिमा समान नै हुन्छन् । मान्छेमा विशेष केवल धर्म हुन्छ । अतः विनाधर्मको मानिस पशुतुल्य हुन्छ ।’ तर, यहाँ प्रयुक्त धर्म अंग्रेजीको ‘रिलिजन’को समकक्षी मजहब र सम्प्रदाय कदापि होइन । धर्मका बारेमा सनातनीहरूको आदि नीति ग्रन्थ मनुस्मृतिमा यसरी उल्लेख गरिएको छ :

‘धृतिः क्षमा दमोऽस्तेयं शौचमिन्द्रियनिग्रहः ।
धीर्विद्या सत्यमक्रोधो दशकं धर्मलक्षणम् ।’ 
(मनुस्मृति ६.९२)

‘धैर्य, क्षमा, संयम, अहरण (नचोर्नु), शौच, इन्द्रिय निग्रह, बुद्धि, विद्या, सत्य र अक्रोध (क्रोध नगर्नु) धर्मका दश लक्षण हुन् ।’ भनाइको तात्पर्य धर्म भनेको मानिसले धारण गर्ने दश लक्षणहरूको योग हो, जसको अध्यात्मवादसँग कुनै सम्बन्ध देखिँदैन । यद्यपि, अहरण र अक्रोधजस्ता लक्षणले समाजमा वर्ग पैदा भइसकेको संकेत त गर्छन्, तर आदर्शवादतिर धर्मले डोर्‍याएको देखिँदैन । तसर्थ, धर्मलाई ‘रिलिजन’को पर्याय मान्ने बुझाइ नै गलत हो, गलत अनुवादको परिणाम हो । किनभने धर्मका बारेमा यो पनि भनिएको छ :

‘धारयते इति धर्मः’ ।
अर्थात् जे धारण गर्न सकिन्छ, त्यही धर्म हो । तसर्थ, पूर्वीय जगत्का स्रष्टाहरूले सबैभन्दा पहिले यस तथ्यसँग साक्षात्कार गर्नु आवश्यक छ ।