मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ मङ्सिर २४ शनिबार
  • Saturday, 10 December, 2022
लुक्रेजिया रिइच्लिन
२०७९ असोज २ आइतबार ०८:३८:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

इटलीमा फर्किंदै छ दक्षिणपन्थ 

Read Time : > 2 मिनेट
लुक्रेजिया रिइच्लिन
२०७९ असोज २ आइतबार ०८:३८:००

देश/विदेश

युरोपेली संघको मर्मलाई कायम राख्न संघ समर्थकले इटलीका मेलोनीजस्ता पुरातनपन्थीको विचारलाई खारेज वा विषयान्तर नगरी रचनात्मक सुझाब दिन सक्नुपर्छ

विश्वयुद्धपछि पहिलोपटक इटलीलाई चाँडै मुसोलिनीको फासिस्ट आन्दोलनसँग साइनो भएको पार्टीले नेतृत्व गर्न सक्छ । यदि फ्रेटेली डी’इटालियाले सत्ता गठबन्धनको नेतृत्व गरेमा युरोपेली राजनीतिमा ठूलो परिवर्तन आउनेछ । हालको अवस्थामा फ्रेटेली सत्तामा आउने सम्भावना देखिन्छ ।  

फ्रेटेलीका लोकप्रिय छवि भएकी नेतृ जर्जिया मेलोनीलाई ‘नव–फासिस्ट’ भनेर पनि चिनिन्छ । फ्रेटेली र गठबन्धनको दोस्रो ठूलो साझेदार पार्टी लेगालाई ‘लोकरिझ्याइँवादी’ पनि भनिन्छ । यहाँ दुवै विशेषण गलत छन् । यी दलले आप्रवासन र सुरक्षामा कठोर अडान भने अपनाउनेछन् किनभने यिनले केही मतदाताका असन्तुष्टिलाई प्रयोग गर्न सफल भएको प्रतीत हुन्छ । तर, फ्रेटेलीले उदार लोकतन्त्रलाई नष्ट गर्ने प्रयास भने गरिरहेको छैन ।

फ्रेटेलीका अन्य उद्देश्य विद्यमान छन् । युरोपका दुई ठूला राजनीतिक कित्ता क्रिस्चियन डेमोक्य्राट र लोकतान्त्रिक समाजवादीको सफलता तिनको विकसित राजनीतिक एवं नैतिक संस्कृति भएको स्विकार्दै ब्रदर्सले पनि यस्तै आधार खोजिरहेका छन्, जसले भविष्यमा दक्षिणपन्थका लागि आधार तयार गर्न सकोस् । प्रगतिशील चिन्तनले सम्बोधन गर्नैपर्ने डरलाग्दो अवरोध यही हो ।

फ्रेटेलीले इटलीको राजनीतिलाई मात्र नभई युरोपेली राजनीतिलाई नै परिवर्तन गर्न खोजिरहेको छ । मेलोनी युरोपका दक्षिणपन्थी पार्टीको संगठन युरोपियन कन्जरभेटिभ्स एन्ड रिफोर्मिस्टकी अध्यक्ष पनि हुन् । यो संगठनमा स्विडेन डेमोक्य्राट्स, पोल्यान्डको ल एन्ड जस्टिस पार्टी, स्पेनको भोक्स पार्टी र अन्य धेरै दक्षिणपन्थी राजनीतिक दल सदस्य छन् । 

दक्षिणपन्थको नयाँ बौद्धिक अधिरचना कुन आधारमा निर्माण हुनेछ भन्ने प्रश्नमा मेलोनीले एक अन्तर्वार्तामा दिवंगत बेलायती पुरातनपन्थी दार्शनिक रोजर स्क्रुटनको प्रशंसा गरेकी थिइन् । स्क्रुटन न फासिस्ट थिए, न लोकरिझ्याइँवादी । उनी मेलोनीझैँ बजार र राज्य समर्थक दुवै थिएनन् । दुवैमा खुला बजार आवश्यक संस्था हो, तर बजार एकाधिकारलाई नियमनका उपायबाट सीमित पारिनुपर्छ भन्ने समान धारणा देख्न सकिन्छ ।    

स्क्रुटन पनि मूलतः युरोपेली संघविरोधी थिएनन् । उनी अखिल–युरोपेली सहयोगको खाका आवश्यक मान्थे तर यसका लागि राष्ट्रिय सार्वभौमिकतालाई संकटमा पार्नुहुन्न भन्ने विचार राख्थे । ठिक त्यसरी नै फ्रेटेली नेतृत्वको गठबन्धनले युरोपेली संघ वा युरो क्षेत्र छोड्ने प्रयास गर्नेछैन । ‘थप नजिक हुनु’को साटो फ्रेटेलीले युरोपेली संघलाई सार्वभौम राज्यको अर्ध–संघीय निकायका रूपमा हेर्छ । 

तस्बिर : एलेसेन्ड्रो ब्रेमेच/नुरफोटो/गेट्टी इमेजेस 

सन् २०१९ को अन्तर्वार्तामा स्क्रुटनले आफ्ना लागि पुरातनपन्थ ‘विगतलाई फर्काउनु’भन्दा पनि ‘संरक्षण गर्नु’ हो भन्ने विचार व्यक्त गरेका थिए । उनले पुरातनपन्थ दर्शनको विषय नभई प्रेमको विषय भएको बताएका थिए । युरोपेली केलाई प्रेम गर्छन् भन्ने प्रश्नमा मेलोनी हाम्रो पहिचान हाम्रो समुदायले निर्दिष्ट गरेको छ भन्ने तर्क गर्छिन् । यही तर्क अर्थात् सामाजिक सदस्यताको अपनत्वको आभासले केलाई ‘प्रेम’ गर्ने र आफूलाई कसरी व्यक्त गर्ने भन्ने निर्धारण गर्छ । यसैलाई मेलोनी स्वतन्त्रताको आधार मान्छिन् । 

युरोपेली संघका सन्दर्भमा फ्रेटेलीले विगतको वैचारिक अवस्थितिबाट आफूलाई अलग्याएको छ । विगतमा इटलीले संघका अन्य प्रमुख राष्ट्रझैँ गति एवं संयन्त्रमा भिन्नताका बाबजुद एकीकरणको समर्थन गरेको थियो । यो परिवर्तन त्यतिखेर आइरहेको छ, जब ऊर्जा एवं विदेश नीतिको क्षेत्रमा राष्ट्रिय सार्वभौमसत्तामा सम्झौता गरेर गहिरो सहकार्य आवश्यक पर्ने भएको छ । जलवायु, स्वास्थ्य, वित्तीय स्थायित्व, सार्वजनिक उपभोग्य वस्तु र ऊर्जा सुरक्षाजस्ता अत्यावश्यक मागका लागि कुनै न कुनै प्रकारको केन्द्रीकृत निर्णय क्षमता र नीति नभई नहुने अवस्था छ । नतिजा, राजनीति र निर्णय गर्ने स्थानबीच न्यून सामञ्जस्य हुनेछ । युरोपेली संघ मात्रै नभई विभिन्न तहका सरकारको अन्तरसञ्चालनका लागि अनुमति दिने र नागरिक समाजको मतलाई बल दिने शासनका नयाँ रूप निर्माण गर्नु आज हामीले सामना गर्ने मुख्य चुनौती हो । अर्कातर्फ युरोपेली संघलाई निरन्तर प्रयोगका रूपमा हेर्न सकिन्छ, जसले अरूलाई सफल खाका निर्माणका लागि दिशानिर्देश गर्न सक्नेछ । 

एक मामिलामा नव–पुरातनपन्थी सही छन् अर्थात् युरोपेली समाजको निर्माणविना ‘थप नजिकको सम्बन्ध’ औचित्यहीन छ । तर, समाधान उल्टो बाटो हिँड्नु होइन, बरु हामीले युरोपेली शासनका संस्थालाई टिकाउने राजनीतिक प्रणाली सिर्जना गर्नुपर्छ । फ्रेटेलीजस्ता पुरातनपन्थी शक्तिले ठिक उल्टो काम गरिरहेका छन् । विद्यमान प्रणालीलाई ‘संरक्षण’ गर्ने नाममा बृहत् राजनीतिक एवं सांस्कृतिक सम्बद्धताको सट्टा जातीय र धर्मका आधारमा पहिचान परिभाषित गरिँदै छ र पुरातनपन्थले मानिसको भयमा खेल्छ र एकताको साटो विभाजन ल्याउँछ । 

पुरातनपन्थीले दाबी गरेझैँ युरोपेली संघको प्रकार्य असफल भएको हो भने प्रकार्यात्मक एवं राजनीतिक अन्तरक्रियाले राजनीतिको सीमालाई पुनः परिभाषित गर्न मद्दत पुग्नेछ भन्नु सही हुनेछ । समुदायको एक रक्षात्मक एवं स्थिर बुझाइले सधैँ आर्थिक असफलता निम्त्याउँछ र निरन्तर परिवर्तन हुने वातावरणमा नश्लभेद एवं सामाजिक अस्थिरतालाई प्रोत्साहन मिल्न सक्छ । तर, यही बुझाइका आधारमा युरोपेली संघको तेस्रो ठूलो सदस्य राष्ट्रमा सरकार बन्न गइरहेको देखिन्छ । संघ एक बलियो बौद्धिक लडाइँमा संलग्न हुन लागेको छ, जसले युरोपेली एकीकरण प्रक्रियामा ठूलो असर पार्न सक्नेछ । यो लडाइँ जित्न संघका समर्थकले मेलोनीजस्ता पुरातनपन्थीको विचारलाई खारेज वा विषयान्तर नगरी रचनात्मक सुझाव दिन सक्नुपर्छ र युरोपेली संघ परियोजनाको सफलताका लागि आवश्यक युरोपेली राजनीतिलाई समर्थन गर्न विश्वस्त रणनीति लिएर आउनुपर्छ ।

(रिइच्लिन लन्डन बिजनेस स्कुलको अर्थशास्त्रकी प्राध्यापक हुन्) 
प्रोजेक्ट सिन्डिकेटबाट