Skip This
वडाध्यक्षले नगरपालिकालाई चाबी बुझाएपछि सेवाग्राही मारमा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १२:३२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

वडाध्यक्षले नगरपालिकालाई चाबी बुझाएपछि सेवाग्राही मारमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:३२:oo

आफ्नो अधिकारमाथि नगर प्रमुख र उपप्रमुखले हस्तक्षेप गरेको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ८ का अध्यक्षसहित जनप्रतिनिधिले वडा कार्यालयको चाबी नगरपालिकालाई बुझाएका छन्। वडाको विकास निर्माणका काममा नगरपालिकाले हस्तक्षेप गरेको भन्दै वडाको कामकाज बन्द गरेका वडाध्यक्ष लीलाकुमार चौहान तथा वडा सदस्यहरु पदमकुमारी राई, लक्ष्मी कामी, फडेन्द्र श्रेष्ठ र हरिकुमार खत्रीले शुक्रबार नगरपालिका पुगेर चाबी बुझाएका हुन्।

नगर प्रमुख तीर्थराज भट्टराई र उपप्रमुख विशन राईको अनुपस्थितिमा वडाध्यक्ष चौहानले प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेललाई चाबी बुझाएका छन्। प्रमुख प्रशासकीय अधिकृत पौडेलले ‘राजनीतिक विषय’ भन्दै चाबी लिन अस्वीकार गर्दा वडाध्यक्ष चौहानसँग केहीबेर भतभेद भएको थियो।

पत्रकारसहित नगरपालिका पुगेका वडाध्यक्ष चौहानलाई प्रमुख प्रशासकीय अधिकृत पौडेलले चाबी बुझाएको विषयलाई मिडियाबाजी नगर्न अनुरोध गरेका थिए। स्थानीय सरकार सञ्चालन ऐनले आफूहरुलाई दिएको अधिकारमाथि नै नगर प्रमुख भट्टराई र उपप्रमुख राईले हस्तक्षेप गरेको भन्दै गत भदौ २५ देखि वडा कार्यालयको सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरेका जनप्रतिनिधिले दोस्रो चरणको आन्दोलन स्वरुप नगर पुगेर चाबी बुझाएको बताएका छन्।

फरक दलले जितेकै कारण वडालाई योजना नदिने, सम्पन्न भइसकेका योजनाको भुक्तानी रोक्का गर्ने, वडा कार्यालयले गरेका सम्पूर्ण कार्यहरुमा अवरोध गर्ने, दुःख दिने र कर्मचारीसमेत हेरफेर गरेकाले चाबी बुझाउनु परेको वडाध्यक्ष चौहानले बताएका छन्। मध्यपहाडी लोकमार्ग–वडा कार्यालय सडक ढलानको काम सम्पन्न भए पनि भुक्तानी रोकेको, खावाडाँडा र उवाबारी एकीकृत बस्ती निर्माण, गोल्डेन चक्रपथ निर्माण, स्यालदुलो–तालचौर सडक, अन्नपूर्ण मावि घेराबारा र पङ्खु–लप्से खानेपानी योजना निर्माणमा अख्तियारमा मुद्दा हाल्न लगाएर अवरोध गरेको वडाध्यक्ष चौहानको आरोप छ।

एमाले नेतृत्वको वडा कार्यालय र गठबन्धन नेतृत्वको नगरपालिकाबीच आक्रमण–प्रत्याक्रमण शुरु भएपछि सर्वसाधारण मारमा परेका छन्। गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनका बाबजुद दोर्पाचिउरीडाँडामा चौहानसहित पाँच जनप्रतिनिधि नेकपा (एमाले)बाट निर्वाचित भएका थिए।

गठबन्धनअन्तर्गत कांग्रेसबाट निर्वाचित नगर प्रमुख भट्टराई र माओवादी केन्द्रबाट निर्वाचित उपप्रमुख राईले अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा दलगत र समूहगत रुपमा वडालाई पक्षपात गरेको वडाध्यक्ष चौहानको आरोप छ। नगर प्रमुख र उपप्रमुखबाट चित्त बुझ्ने गरी लिखितरुपमा जवाफ नआएसम्म आफूहरु काममा नफर्कने उनीहरुले अडान लिएका छन्।

उता, नगर उपप्रमुख एवं अनुगमन समितिका संयोजक राईले भने आफूहरुमाथि वडाध्यक्ष चौहानले लगाएको आरोप तथ्यहीन, भ्रामक र आफ्नो कमजोरी ढाकछोप गर्ने बहानामात्र भएको बताएका छन्। ‘उहाँ (वडाध्यक्ष चौहान) नियम र प्रक्रिया मिचेर गुण्डागर्दी शैलीमा काम गर्न खोज्नुहुन्छ,’ उपप्रमुख राईले भने, ‘यसबाट उहाँ भाग्न पाउनुहुन्न। तुरुन्त जनताको सेवामा फर्कन आग्रह गरेका छौँ।’

यद्यपि, वडाध्यक्ष चौहानमाथि यसअघिदेखि नै स्थानीयले अनियमितता गरेको आरोपहरु लगाएका छन्। वडाध्यक्ष चौहानको वडामा सञ्चालित सडक, विद्यालय, सामुदायिक वन, एकीकृत बस्ती, कृषि अनुदानलगायतका विकासे योजनाका काममा वडाध्यक्ष चौहानकै संलग्नतामा अनियमितता भएको भन्दै विभिन्न समयमा स्थानीय बासिन्दाले विभिन्न निकायमा उजुरी दिएका छन्।

सुरक्षित नागरिक आवास र पूर्वाधार विकासबाट रकम निकासा गरिए पनि योजना अलपत्र परेको भन्दै स्थानीयले वडाध्यक्ष चौहानलाई बिपक्षी बनाएर उजुरी दिएका छन्। वडाध्यक्ष चौहानमाथि परेको कुनै पनि उजुरीमा अहिलेसम्म फैसला भने भएको छैन।