मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ३० बिहीबार ०६:१४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लगानी बोर्डको १० वर्ष : ३३ परियोजनामा पौने नौ अर्ब डलर विदेशी लगानी स्वीकृत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ३० बिहीबार ०६:१४:००

लगानी बोर्ड नेपालले स्थापना भएको १० वर्षमा आठ अर्ब ७४ करोड डलर विदेशी लगानी स्वीकृति गरेको छ । बोर्डले यो अवधिमा ३३ परियोजनामा सो रकमबराबरको विदेशी लगानी स्वीकृति गरेको हो । लगानी बोर्डको १०औँ वार्षिक उत्सवको अवसरमा काठमाडौंमा आयोजित दिगो पूर्वाधार लगानी फोरम २०२२ कार्यक्रममा बोर्डका सिइओ सुशील भट्टले अधिकांश लगानी जलविद्युत् क्षेत्रमा आएको जानकारी दिए ।

सो अवधिमा जलविद्युत्सम्बन्धी २० आयोजनामा ६ अर्ब डलर विदेशी लगानी स्वीकृत भएको छ । त्यस्तै, खानी तथा खनिजअन्तर्गत ३५ करोड ९० लाख अमेरिकी डलर लगानीका लागि आएको छ । सबैभन्दा बढी विदेशी लगानी भने ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाका लागि आएको छ । उक्त आयोजनामा एक अर्ब ६० करोड डलर विदेशी लगानी स्वीकृत भएको छ । साथै, होङ्सी शिवम् सिमेन्टमा १४ करोड अमेरिकी डलर स्वीकृत भएको छ । 

बोर्डले अबको पाँच वर्षमा १० अर्ब डलर लगानी स्वीकृति गर्ने लक्ष्य राखेको छ । त्यसमा ६ अर्ब डलर लगानी पिपिपी परियोजनामा ल्याइने बताइएको छ । 

विकास लक्ष्य प्राप्ति गर्न वार्षिक १९ अर्ब डलर आवश्यक : प्रधानमन्त्री 
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो विकास लक्ष्य प्राप्ति गर्न नेपाललाई वार्षिक १९ अर्ब डलर रकम चाहिने बताए । नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि साध्य र साधन तयार हुनुपर्ने उनले बताए । सो उद्देश्य प्राप्तिका लागि सहयोग बढाउन विकास साझेदारहरूलाई उनले आह्वान गरे । यस्तै, उनले दिगो पूर्वाधार विकासमा लगानी गर्न सरकार सकारात्मक रहेको बताए । अबका दिनमा आधुनिक तथा ग्रिन पूर्वाधारको विकासमा सबैले जोड दिनुपर्ने उनको भनाइ छ । 

कार्यक्रममा विश्व बैंककी प्रबन्ध निर्देशक मरी पान्गेस्टुले दिगो विकासका लागि नेपाललाई सहयोग गर्न तयार रहेको बताइन् । यसैगरी अरुण तेस्रो जलविद्युत् आयोजनाको सिइओ अरुण धिमानले आयोजना निर्धारित समयभित्रै सञ्चालनमा ल्याउने बताए । उक्त आयोजना २०२५ भित्र सञ्चालनमा ल्याउने  लक्ष्य छ ।