
गोरखामा ५८औँ राष्ट्रिय बालदिवसको अवसरमा 'हाम्रो बाल मैत्री समाज' भन्ने विषयवस्तुलाई आधार बनाएर चित्रकला प्रतियोगिता आयोजना गरिएको छ। 'बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार' भन्ने नारासहित आयोजना गरिएको उक्त प्रतियोगिता बुधबार सम्पन्न भएको हो।
रुम टू रिडद्वारा सञ्चालित बालिका शिक्षा कार्यक्रमको सहयोग र कार्यक्रम लागू भएका विद्यालयहरूको सहकार्यमा उक्त चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।
बालिका शिक्षा कार्यक्रमअन्तर्गत बालिका शिक्षा कार्यक्रम लागू भएका ४ पालिकाहरू गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका, भीमशेन थापा गाउँपालिका र सिरानचोक गाउँपालिकाका विद्यालयहरू श्री तारा माध्यमिक विद्यालय, श्री महेन्द्र माध्यमिक विद्यालय, श्री महालक्ष्मी माध्यमिक विद्यालय, श्री सरस्वती माध्यमिक विद्यालय, श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय, श्री नवज्योति माध्यमिक विद्यालय, श्री मदने डाँडा माध्यमिक विद्यालय, श्री अमर ज्योति जनता माध्यमिक विद्यालय, श्री भवानी माध्यमिक विद्यालय, श्री नवजागृति चण्डी माध्यमिक विद्यालय, श्री दुल्ल्व् माध्यमिक विद्यालय श्री बिन्द्रावती माध्यमिक विद्यालय, श्री सन्सारी महेन्द्र माध्यमिक विद्यालय र श्री मन्डली माध्यमिक विद्यालय गरी जम्मा १४ वटा विद्यालयहरूमा कक्षा ५ र ६ मा अध्ययनरत ७१३ बालबालिकाको सहभागितामा चित्रकला प्रतियोगिता गरिएको रुम टू रिड गोरखाअन्तर्गत बालिका शिक्षा कार्यक्रमका कार्यक्रम संयोजक ज्योति आचार्यले बताइन्।
बालबालिकाहरूमा सिर्जनात्मक क्षमताको विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले चित्रकला प्रतियोगिताको आयोजना गरिएको जानकारी आचार्यले दिएकी छिन्। आयोजना गरिएको चित्रकला प्रतियोगितामा प्रत्येक विद्यालयमा प्रथम, दोस्रो, तेस्रो र चौथो हुने बालबालिकाहरूलाई शैक्षिक सामग्री पुरस्कारस्वरूप प्रदान गरिएको जानकारीसमेत आचार्यले दिइन्।
सन २०२२ देखि गोरखामा रुम टू रिडले बालिका शिक्षा कार्यक्रमबाट बालिकाहरूलाई लामो समयसम्म विद्यालय रहन, माध्यमिक शिक्षा पूरा गर्न र उनीहरूलाई आफ्नो जीवनबारे सुनिश्चित निर्णय लिनका लागि आवश्यक सीप र माध्यमको विकास गर्दै आएको छ ।