मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७९ भदौ २९ बुधबार १०:०३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तातोपानी नाका खुले पनि दसैँका सामान आयात कठिन

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७९ भदौ २९ बुधबार १०:०३:००

दसैँका लागि चीनबाट सामान खरिद गरेका नेपाली व्यापारी अहिले दुःखित छन् । सामान ढिला आउँदा ‘फेसन र सिजन अफ’ हुन्छ । पार्किङ र क्यारिङ चार्ज बढी लाग्छ । समय बितेपछि सामान बिक्री नहुने भय त्यत्तिकै हुन्छ । 

नेपाली व्यापारीको प्रतिनिधित्व गर्दै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेत भन्छन्, ‘आयात ढिला हुँदा व्यापार घाटा मात्रै होइन, एकअर्कामा अविश्वास पैदा हुन्छ र समस्या थपिन्छ ।’ खासा क्षेत्रमा अड्किएका सामान लार्चा सुक्खा बन्दरगाह पठाउन चिनियाँ पक्षले तातोपानी नाका आंशिक खुला गरेको छ । दिनमा दुई गाडी सामान खासाबाट लार्चा आइपुग्छ । खासामा अड्किएका केही गाडी स्याउ, लसुन र लत्ताकपडा ल्याउन नाका खुला गरिएको हो । 

‘दैनिक ३० गाडी सामान आयात भए मात्रै दसैँको सामान नेपाल भित्रिन्छ,’ बस्नेतले भने । उनका अनुसार ल्हासामा रोकिएका कन्टेनर दसैँअघि नेपाल आउन कठिन छ । 

सभामुख अग्नि सापकोटाको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष ली झान्सु र सापकोटाबीच तातोपानी र केरुङ नाका खुलाएर दसैँलक्षित सामग्री ल्याउनेबारे कुराकानी भएको छ । यद्यपि, तिब्बत क्षेत्रमा कोभिड संक्रमण स्थिर छ । 

चीनको व्यापारिक सहर इयु, ग्वान्झाओ, फुज्यान र हपेईबाट दसैँका सामान हालेका नेपाली व्यापारी तिब्बत अटोनमस रिजन ल्हासा, सिगात्से, मिम्बुमा रहेका ट्रान्सपोर्ट कम्पनीसँग दिनहुँ ‘वी च्याट’मा कुरा गर्छन् । जुत्ता व्यापारी सुदर्शन न्यौपाने भन्छन्, ‘मेरो मात्रै १० गाडीभन्दा बढी जुत्ता बोकेका कन्टेनर ल्हासा क्षेत्रमा अड्किएका छन् । ती गाडीमा दसैँका लागि भनेर ल्याइएका जुत्ता छन् ।’ नेपाली व्यापारीले फुज्यान र हपेईबाट जुत्ता, इयु र ग्वान्झाओबाट रेडिमेड कपडा, सान्तुङ र कान्सुबाट स्याउ खरिद गर्छन् । दसैँका लागि हालेका सामान ल्हासा र चिनियाँ मेनल्यान्डको सीमामै अड्किएका छन् । ल्हासास्थित नेपाली महावाणिज्यदूत नवराज ढकाललाई उद्धृत गर्दै तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत नारद गौतमले दसैँका सामान सबै ल्हासा क्षेत्रमा अड्किएको बताए । कोरोना महामारी पूर्ण रूपमा नियन्त्रण नभएसम्म ल्हासा क्षेत्रमा रहेका कन्टेनर केरुङ र खासातर्फ नछुट्ने उनले बताए । 

तिब्बत क्षेत्रमा काम गर्ने ट्रान्सपोर्ट कम्पनीको एकाधिकार र कार्टेलिङले तोकिएको समयमा कन्टेनर गन्तव्यमा आइपुग्दैनन् । थोरै कन्टेनर बोर्डर पास हुँदा नेपाली व्यापारीलाई घाटा लाग्छ । व्यापारीसँग अतिरिक्त रकम लिएर क्यु मिच्ने परिपाटीले पार्किङ क्षेत्रमा रहेका कन्टेनरबीच तछाडमछाड हुने गरेको छ । चिनियाँ ट्रान्सपोर्ट कम्पनीको बेथितिले गर्दा नाका खुला हुँदा पनि धेरै कन्टेनर सामान आयात हुँदैन । सरकारी निकाय र ट्रान्सपोर्ट कम्पनीबीच राम्ररी समन्वय नहुँदा नाका व्यवस्थित छैन । कोरोना महामारीको बहानामा कोटा प्रणाली लागू गरेपछि चिनियाँ क्षेत्रका ट्रान्सपोर्ट कम्पनी कामविहीन भएका छन् ।