१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नवीन अर्याल काठमाडाैं
२०७९ भदौ २९ बुधबार १०:३३:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रतिबद्धताको ३६ प्रतिशत मात्रै वैदेशिक लगानी  

Read Time : > 3 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७९ भदौ २९ बुधबार १०:३३:००

आर्थिक वर्ष ०५२/५३ यता विभिन्न देशबाट तीन खर्ब ५७ अर्ब लगानी स्वीकृति, एक खर्ब ३० अर्ब मात्रै भित्रियो

नेपालमा प्रत्यक्ष विदेशी लगानी (एफडिआईको स्वीकृति कागजमै मात्र सीमित भएको देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको एफडिआईसम्बन्धी सर्वेक्षणले विदेशी लगानी स्वीकृति र प्राप्तिमा अन्तर धेरै देखाएको हो । 

आर्थिक वर्ष ०५२/५३ यता विभिन्न देशबाट तीन खर्ब ५७ अर्ब ३५ करोड लगानी स्वीकृति भएकोमा वास्तविक रूपमा एक खर्ब ३० अर्ब ४३ करोड मात्रै भित्रिएको सर्वेक्षणले देखाएको छ । यो कुल स्वीकृत लगानीको औसतमा ३६.५ प्रतिशत हो । प्रतिवेदनमा कुनै वर्ष प्रतिबद्धताभन्दा बढी लगानी भित्रिएको तथा कुनै वर्ष लगानी नै नभित्रिएको उल्लेख छ ।  

उद्योगमा लगानी वृद्धि गरेर अर्थतन्त्रमा योगदान पुर्‍याउन प्रत्यक्ष वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण कार्यलाई प्रोत्साहन गर्ने राज्यको नीति भए पनि अपेक्षित वैदेशिक लगानी भित्र्याउन नसकेको भन्दै महालेखा परीक्षकको कार्यालयले आफ्नो ५९औँ प्रतिवेदनमा प्रश्नसमेत उठाएको छ । ‘नीतिगत अस्थिरता, कर प्रशासनमा समस्या, जग्गा विवाद, औद्योगिक सुरक्षा, कच्चा पदार्थको अभावलगायत विविध कारण अपेक्षित रूपले वैदेशिक लगानी प्राप्त हुन सकेको छैन,’ महालेखाको प्रतिवेदनमा भनिएको छ ।

विद्यमान समस्याहरू समाधान गरेर विदेशी लगानी र प्रविधि हस्तान्तरण बढाउनुपर्ने महालेखाको सुझाव छ । नेपालको पर्यटन, जलविद्युत्, उद्योग, पूर्वाधार, सूचना प्रविधिलगायतमा प्रशस्त विदेशी लगानी भित्र्याउन सकिने सम्भावना रहेको छ ।

आव ०७७/७८ को अन्त्यसम्म कुल प्रत्यक्ष वैदेशिक लगानी दुई खर्ब २७ अर्ब ९५ करोड कायम छ । अघिल्लो वर्षको तुलनामा सो आवमा वैदेशिक लगानी १४.८ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । विदेशी लगानीको कुल मौज्दातमा विदेशी कम्पनीहरूले यहीँ कमाएर पुनः लगानी गरेको र कतिपय विदेशी लगानीसँग आएको ऋण पनि जोडिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले बताए । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले वैदेशिक लगानीमा सञ्चालित कुल एक सय ९७ कम्पनीको नमुना छनोट गरी ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन’ तयार पारेको हो ।  

लगानी ल्याउने आयरल्यान्ड तेस्रो
०७८ असार मसान्तसम्म नेपालमा ५५ देशबाट लगानी भित्रिएको छ । जसमध्ये सबैभन्दा धेरै लगानी भारतबाट ७५ अर्ब ८१ करोड (३३ प्रतिशत) भित्रिएको छ । त्यसपछि चीनबाट ३३ अर्ब (१४.५ प्रतिशत), आयरल्यान्डबाट १६ अर्ब ४८ करोड (७.२ प्रतिशत), सिंगापुरबाट १५ अर्ब  ४८ करोड रुपैयाँ (६.८ प्रतिशत) लगानी रहेको छ । त्यस्तै, नेपालसँग खासै सम्बन्ध नभएको सेन्ट किट्स एन्ड नेभिसबाट १४ अर्ब ५१ करोड (६.४ प्रतिशत) लगानी भित्रिएर पाँचौँ बनेको छ । 

बागमती प्रदेशमा कुल विदेशी लगानीको ५६.१ प्रतिशत अर्थात् एक खर्ब २८ अर्ब, प्रदेश १ मा ३६ अर्ब ७५ करोड, मधेसमा २० अर्ब ३२ करोड, गन्डकीमा २६ अर्ब ८२ करोड, लुम्बिनीमा १४ अर्ब २८ करोड, कर्णालीमा साढे चार करोड र सुदूरपश्चिम प्रदेशमा एक अर्ब ७४ करोड विदेशी 
लगानी छ ।

यस्तै, अहिलेसम्म अस्ट्रेलियाबाट १२ अर्ब १६ करोड, दक्षिण कोरियाबाट नौ अर्ब ३५ करोड, युएईबाट आठ अर्ब ३५ करोड, अमेरिकाबाट ६ अर्ब ७१ करोड र बंगलादेशबाट ६ अर्ब ३८ करोड रुपैयाँ लगानी आएको छ ।

औसत नाफादर १४.७ प्रतिशत
सर्वेक्षणअनुसार आव ०७७/७८ मा विदेशी लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ६४.९ प्रतिशत रहेको छ । यस्तै, नाफाको दर करिब १४.७ प्रतिशत रहेको पाइएको छ । ‘विदेशी लगानीका कम्पनीहरूको औसत नाफा १४.७ प्रतिशत हुनु त्यति नराम्रो पनि होइन र धेरै राम्रो पनि होइन,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘विदेशी लगानीका कम्पनीको नाफा ठीकठिकै छ ।’

एक वर्षमा २६ अर्ब लाभांश फिर्ता
नेपालमा सञ्चालित विदेशी लगानीका कम्पनीहरूले आव ०७७/७८ मा २६ अर्ब सात करोड ६६ लाख रुपैयाँ लाभांश फिर्ता (डेभिडेन्ड रिप्याट्रिएसन) लगेका छन् । सबैभन्दा धेरै सूचना तथा सञ्चार क्षेत्रका कम्पनीले १३ अर्ब ९८ करोड ४१ लाख रुपैयाँ लाभांश फिर्ता लगेका छन् । देशकै ठूलोमध्येको एनसेल आजियाटाका कारण सूचना प्रविधि क्षेत्रले धेरै लाभांश लगेको हो । उत्पादनमूलक क्षेत्रका कम्पनीले ६ अर्ब ७५ करोड, विद्युत्, ग्यास, एयर कन्डिसन क्षेत्रका कम्पनीले तीन अर्ब ८१ करोड, बैंक तथा वित्तीय संस्थाले ८६ करोड ८३ लाख, शिक्षा क्षेत्रका कम्पनीले ३० करोड ३० लाख रुपैयाँ लाभांश फिर्ता लगेका छन् । 

मुख्य बुँदा

  • ०७७/७८ सम्म दुई खर्ब २७ अर्ब ९५ करोड प्रत्यक्ष वैदेशिक लगानी  
  • नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी 
  • औद्योगिक क्षेत्रमा सबैभन्दा धेरै ६०.५ प्रतिशत वैदेशिक लगानी
  • प्रत्यक्ष वैदेशिक लगानी स्वीकृति पाएमध्ये ३६.५ प्रतिशत मात्र भित्रियो     
  • कुल वैदेशिक लगानीमध्ये ५६.१ प्रतिशत बागमती प्रदेशमा, कर्णालीमा नगण्य 
  • वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक उद्योगको क्षमता ६४.९ प्रतिशत र नाफाको दर १४.७ प्रतिशत
  • आव ०७७/७८ मा विदेशी लगानीका कम्पनीले २६ अर्ब लाभांश फिर्ता लगे, जसमा आधा हिस्सा सूचना प्रविधि क्षेत्रको

विदेशी लगानीको ग्राफ बढ्दै छ : प्रकाश श्रेष्ठ कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक
सर्वेक्षण वर्षमा विदेशी लगानी १४.८ प्रतिशतले बढेको छ । अहिलेसम्म दुई खर्ब २८ अर्ब विदेशी लगानी मौज्दात देखिएको छ । पछिल्ला वर्षमा विदेशी लगानीको ग्राफ क्रमशः बढ्दै गइरहेको देखिन्छ । नेपालमा सञ्चालित विदेशी लगानीका कम्पनीको औसत नाफा १४.७ प्रतिशत रहेको छ । 

लगानी भित्र्याउन सुधार आवश्यक  : राधेश पन्त पूर्वसिइओ, लगानी बोर्ड नेपाल 
नेपालमा आवश्यकता र अपेक्षाअनुसार विदेशी लगानी भित्रन सकेको छैन । प्रतिवद्धता र स्वीकृतिअनुसार पनि विदेशी लगानी आएको छैन । यसको मुख्य कारण भनेको हाम्रो झञ्जटीलो र लामो प्रक्रिया, समन्वयको अभाव, तयारी विनै लाईसेन्स बाड्ने प्रवृत्ति र राजनीतिक हस्तक्षेप नै हो ।