१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
महाकाली नदीमा आएको बाढी । फाइल तस्बिर : नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o९:o३:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

महाकालीमा बेपत्ता १० जना अझै भेटिएनन्

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o९:o३:oo

पानीको बहाव नघट्दा खोजीकार्यमा समस्या, बाढी प्रभावित क्षेत्रमा एक साता विद्यालय बन्द

शुक्रबार रातिदेखिको अविरल वर्षा र बाढीपहिरोका कारण बेपत्ता भएका महाकाली नगरपालिकाका १० जना अझै भेटिएका छैनन् । महाकाली नगरपालिका– ३ का धनसिंह कार्की, दीपक कार्की, दिनेश कार्की, महाकाली नगरपालिका– ४ का सरस्वती लुहार, मोहन लुहार, महाकाली नगरपालिका– २ का मानमती साहु, महाकाली नगरपालिका– १ का मञ्जु लुहार, दिनेश लुहार, साजन लुहार र दलजित लुहार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहामगरले बताए । महाकाली नदीमा पानीको बहाव नघट्दा बेपत्ताको खोजीमा समस्या भइरहेको छ । महाकाली नदी किनारनजिकका प्रहरी युनिट परिचालन गरी खोजी भइरहेको छ । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बाढीपहिरोमा परेर अहिलेसम्म पाँचजनाको मृत्यु भएको छ । महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलो मात्रामा जनधन क्षति भएको छ । प्रहरीले संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार महाकाली र नौगाडमा बाढीपहिरोबाट ४२ वटा घर पूर्ण क्षति भएको छ । नौवटा आंशिक र ४० बढी घर उच्च जोखिममा छन् । बाढीपीडित जिल्ला समन्वय समितिको कार्यालयमा आश्रय लिएर बसेका छन् ।

लास्कु खोला र महाकाली नदीमा आएको बाढीले विद्यालय बगाएपछि प्रभावित क्षेत्रमा एक साता विद्यालय बन्द गरिएको छ । शुक्रबार राति आएको बाढीपहिरोका कारण बाढी प्रभावित क्षेत्रका विद्यालयमा एक साता विद्यालय बन्द गरिएको हो । बाढीका कारण महाकाली नगरपालिकाभित्रका तीनवटा विद्यालयमा क्षति पुगेको छ । महाकाली नगरपालिका– २ स्थित भुवनेश्वरी आधारभूत विद्यालय पण्डोरा, वडा नम्बर ४ बंगाबगडस्थित दशरथनगर आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालय मुल्लामा क्षति पुगेको छ । दुईवटा विद्यालयका भवन पूर्ण रूपमा क्षति पुगेको महाकाली नगरपालिका शिक्षा शाखा प्रमुख ईश्वरी ठगुन्नाले बताइन् । 

बाढीले विद्यालय बगाएपछि विद्यार्थीलाई कहाँ पढाउने भन्ने अन्योल भएपछि विद्यालय बन्द गर्ने निर्णय भएको महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर विष्टले बताए । ‘विद्यालय पनि बगाएका छन्, विद्यालय आउन विद्यार्थीका लागि बाटोघाटो बन्द भएको छ । बाढीले विद्यार्थीको मनमा मनोवैज्ञानिक असर परेका कारण आइतबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो,’ उनले भने ।

महाकाली नगरपालिकाले एक साता विद्यालय बन्द गरेर विद्यालय सञ्चालनका लागि वैकल्पिक व्यवस्थापन गर्नेसमेत जनाएको छ । बाढीपहिरोका कारण ६ वटा विद्यालयको पठनपाठन प्रभावित बनेको छ । अहिलेलाई सरस्वती आधारभूत विद्यालय श्रीवगड, हुस्कर मावि काटै, सरस्वती आधारभूत विद्यालय मुल्ला, भुवनेश्वरी आधारभूत विद्यालय पण्डोरा, दशरथ आधारभूत विद्यालय बंगाबगड र कैलाशपति आधारभूत विद्यालय बगाबगडको पढाइ प्रभावित हुने ठगुन्नाले बताइन् । बाढीले क्षति गरेको तीन विद्यालय भने अर्को व्यवस्था नभएसम्म अर्को विद्यालयमा गाभेर पढाइ सञ्चालन गर्नुपर्ने बाध्यता छ । छापरी, श्रीवगड, बडालीगाउँलगायत ठाउँबाट खलंगा आउन पुल र बाटो बगाएपछि ठप्प छ ।

दार्चुला–तिंकर सडकअन्तर्गत खलंगादेखि कलौन भिरसम्म सडक महाकालीले बगाएपछि दुहुँसँग सडक सम्पर्क विच्छेद भएको छ । महाकाली नदी र लास्कु खोलामा आएको बाढीले खलंगा हुँदै दुहुँ र व्याँस जोड्ने सडक अवरुद्ध हुँदा बैंकका कार्मचारीले कार्यक्षेत्रमा जान हेलिकोप्टर चार्टर गर्नुपरेको हो ।

बाढीपीडितले मन्त्री बडूसँग भने–जिन्दगीभरको कमाइ गयो, हामीलाई पुनर्स्थापना गरिदिनुस्
महाकाली नगरपालिका– ४ बंगाबगडका कलावती रुँदै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूनजिकै पुगिन् । ‘जिन्दगीभरको कमाइ सर्वनाश हुने भयो । छोराछोरी कहाँ लिएर राखुँ ?’ उनले बडूसँग प्रश्न गरिन् । 

उनकै जस्तै समस्या छ, रामसिंह कार्कीको । शनिबार बिहान ४ बजे लास्कु खोलाको बाढी महाकालीमा मिसिएपछि बंगाबगडको सुरुमै रहेको घर क्षणभरमै महाकालीमा विलय भयो । जागिरे जीवन गरेर बनाएको घर महाकालीमा मिसिएपछि उनले दुई दिनदेखि राम्रोसँग बोल्न सकेका छैनन् । यो क्षेत्रका दर्जनभन्दा बढी घर महाकालीमा डुबे । 

बाढी प्रभावित यतिखेर विभिन्न सरकारी भवन तथा आफन्तकोमा आश्रय लिएर बसेका छन् । ‘कति दिनसम्म सरकारी कार्यालय र अरूको घरमा आश्रय लिने हो,’ बाढीपीडित अमरसिंह महराले भने, ‘कहिले फर्कने, कसले घर बनाइदिने भन्ने अन्योल छ ।’ 

०७० को बाढीपछि महाकाली छेक्न पक्की तटबन्ध बन्यो । धेरैले अब तटबन्ध निर्माणपछि खलंगा सुरिक्षत भएको ठाने । चारैतिर घर निर्माण भए । तर, लास्कु खोला र महाकालीको उर्लंदो भेलअगाडि साढे चार मिटर उचाइको तटबन्धले नदीको वेग थेग्न सकेन । तटबन्ध क्रस गर्दै महाकालीको बाढीले सडकभन्दा माथि निर्माण भएका घरहरू सेकेन्डभरमै ध्वस्त बनायो । 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले दार्चुलाको बाढी प्रभावित क्षेत्र महाकाली नगरपालिका– ४ बंगाबगड क्षेत्रमा बस्ती जोगाउन साथ दिने बताएका छन् । उनले तटबन्ध बनाउन ढुंगा बोकेर स्थानीयलाई साथ दिएका छन् । शनिबार नेपाली सेनाको हेलिकोप्टरमार्फत राहत लिएर सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीसँगै जिल्ला पुगेका मन्त्री बडूले लास्कु खोलामा तटबन्ध बनाउन ढुंगा बोकेर साथ दिएका हुन् । 

ad
ad