१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
सुन्धारास्थित धरहरा परिसरभित्र जीर्ण अवस्थामा रहेको ऐतिहासिक सुन्धारा । तस्बिर : नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:५७:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कंक्रिट भवनले सुन्धारालाई सुकायो

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:५७:oo

कृत्रिम प्रणालीबाट पानी ल्याउन लागेको भन्दै पुनर्निर्माण रोकियो

काठमाडौंको धरहरानजिकै रहेको मल्लकालीन सुन्धारा (सुनको धारा)मा करिब २५ वर्षअघिसम्म पनि बाह्रैमास पानी आउँथ्यो । वसन्तपुरदेखि भोटेबहालसम्मका बासिन्दा सुनको धाराको पानी ग्रागीमा बोकेर लैजान्थे । आसपासका बासिन्दा धारामै गएर नुहाउँथे, ओहोरदोहोर गर्नेहरू तिर्खा लागे सुन्धाराकै पानी पिउँथे । तर, दुई दशकअघिको त्यो दृश्य अहिले मेटिएको छ । कलकल पानी आउने सुन्धाराको अस्तित्व नै संकटमा परेको छ । सुनको लेपन भएका पाँचवटा धारमध्ये दुईवटा त हराइसकेका छन् । बाँकी रहेका तीनवटाको पनि सुनको लेपन उप्किएको छ । वसन्तपुरका गौतम शाक्यले भने, ‘हामी सानोमा नुहाउन र खानेपानी लिन त्यहीँ जान्थौँ, अग्ला भवन बनेपछि सुन्धारा सुक्यो, पाँच धारामध्ये दुइटा त हराई नै सके ।’ 

उनका अनुसार सुन्धारा सुक्नुको प्रमुख कारण आसपासमा बनेका अग्ला कंक्रिट भवन नै हो । २५ वर्षयता बनेका काठमाडौं मल र धरहराको बाहिरपट्टिका होटेलहरूले सुन्धारामा पानी बग्न छाडेको हो । 

नयाँ भवनहरूको जग खन्दा सुनधाराको भूमिगत पानी प्रणाली नै बिथोलियो । जसका कारण धारामा पानी आउन छाडेको स्थानीयको भनाइ छ । १५ वर्षअघिसम्म बर्खायामभरि धारामा पानी आउँथ्यो । पछिल्ला केही वर्षदेखि त वर्षामा पनि पानी आउन छाडेको काठमाडौं महानगरपालिका–२३ का पूर्ववडाध्यक्ष पवित्र बज्राचार्यले बताए । उनले त अझ सुन्धारा सुक्नुको खास कारण काठमाडौं मल भएको बताए । ‘काठमाडौं मल बनेपछि सुन्धारामा पानी आउन छाड्यो । त्यसवेला काठमाडौं महानगरका मेयर केशव स्थापित थिए,’ उनले भने, ‘सुन्धारा तथा यस क्षेत्रका ढुंगेधाराको पानीको स्रोत भनेको रानीपोखरी र टुँडिखेल हो, यो पनि साँघुरियो ।’ 

०७२ सालमा गएको भूकम्पले सुन्धाराको बाहिरी संरचनामा समेत असर पारेको थियो । पुराना पर्खाल र भुइँमा बिछ्याएका ढुंगा भूकम्पले चर्काएको थियो । त्यसलाई मर्मत–सम्भार गरेर सुन्धारामा पानी खसाल्नेसहितको योजना अघि सार्न स्थानीयले काठमाडौं महानगरपालिकालाई ध्यानाकर्षण गराएका थिए । यद्यपि, धरहरा पुनर्निर्माणमा विवाद बढेपछि तीन वर्षअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माण कार्ययोजनाभित्र समेटेर सुन्धारा मर्मत गर्न ठेकेदार कम्पनीलाई जिम्मा दियो । तर, ठेकेदार कम्पनीले हालसम्म पनि सुन्धारा पुनर्निर्माण अघि बढाएको छैन ।

अग्ला भवन सुन्धारा र  ढुंगेधाराका बाधक
उपत्यकाका केही ढुंगेधारामा अझै पानी आउँछ । पहिले पानी नआउने ढुंगेधारालाई पनि पानी आउने गरी ब्युँताइएको छ । तर, सुन्धारा र वसन्तपुर क्षेत्रमा रहेको सबैजसो ढुंगेधारा सुकेका छन् । यस क्षेत्रमा ढुंगेधारामा पानी आउन छाड्नुको मुख्य कारण अग्ला र अन्डरग्राउन्डसहितका नयाँ भवन हुन् । डिप बोरिङ र अन्डरग्राउन्डसहितका भवनले ऐतिहासिक महत्व बोकेको सम्पदालाई नै खतरामा पारेको छ । ती भवनले ढुंगेधाराको पानीको स्रोत नै खलबल्याएको संस्कृतिविद् हरिराम जोशीले बताए । ‘सुनको धाराबाट कलकल पानी आउने धारा इतिहास हो, सर्वप्रथम काठमाडौंको सुन्धारालाई जीवित राख्नुपथ्र्याे,’ उनले भने, ‘सहरमा नयाँ–नयाँ भवन बन्दै जाँदा ढुंगेधारामा पानी आउन छाड्यो, आधुनिक विकासले परम्परागत पानी प्रणालीलाई ख्याल गरिएन ।’ उनका अनुसार यो ठाउँको नामकरण पनि सुन्धाराबाटै भएको हो । तर, सुन्धाराकै अस्तित्व अहिले संकटमा छ । 

सुन्धाराको पुरानो निकासामा जोड्न सकिन्न : सञ्जय नकर्मी, म्यानेजर, जिआई इपिसी रमण कन्स्ट्रक्सन
सुन्धाराबाट भुइँमा खसेको पानी कता बगाउने भन्नेमा विवाद हुँदा काम अघि बढ्न सकेको छैन । सुन्धाराको पुरानो निकास टुकुचा खोलामा जोडेको रहेछ, तर अहिले यसमा जोड्न सकिन्न । टुकुचामा जोड्न २७ फिट गहिरो खन्नुपर्छ, त्यो सम्भव छैन, हामीले वसन्तपुर क्षेत्रमा एउटा पुरानो ढल पाइप भेटेका छौँ, त्यसैमा जोड्ने भनेका छौँ । 

पुनर्निर्माणमा ठेकेदारको मनोमानी चल्न दिँदैनौँ : स्थानीय
वसन्तपुरका स्थानीय तथा सम्पदाप्रेमी गणपतिलाल श्रेष्ठले कंक्रिट भवन बनाउने ठेकेदार कम्पनीलाई ऐतिहासिक सम्पदा पुनर्निर्माणको जिम्मा दिँदा मौलिकता भत्कने डर देखिएको बताए । ‘सुन्धारामा ठेकेदार कम्पनीले आफूअनुकूल पुनर्निर्माण गर्न पाउँदैनन्,’ श्रेष्ठले भने, ‘यदि ठेकेदार कम्पनीले बनाउने नै हो भने पनि स्थानीयको रोहबरमा नै पुनर्निर्माण गर्नुपर्छ ।’

सुन्धारामा पुरानै प्रणालीमा अब पानी खसाल्न सकिँदैन 
सुन्धारा मर्मतको जिम्मा पाएको कम्पनी जिआई इपिसी रमण कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीले सुन्धारामा पुरानै प्रणालीअनुसार पानी ल्याउन नसकिने बताए । ‘हामीले ठेक्का सम्झौता गर्दा पनि पुरानै प्रणालीबाट पानी ल्याउने भनेका छैनौँ,’ उनले भने, ‘कुनै रिजर्भ ट्यांकी बनाएर त्यसको पानी धारामा खसाल्ने सम्झौता भएको हो । तर, स्थानीयले त्यसलाई मान्नुभएन ।’

ललितपुरको सुन्धारामा अझै आउँदै छ पानी 
उपत्यकाका तीन स्थानमा सुन्धारा छन् । एउटा  धरहरानजिक, अर्को भक्तपुरको तलेजु मन्दिरछेउ र अर्को पाटनको तलुजे मन्दिरनजिक । तर, यीमध्ये भक्तपुर र काठमाडौंको सुन्धारामा पानी आउँदैन । ललितपुरको पाटनमा रहेको सुन्धारामा भने बर्खाभरि पानी आउँछ । तीन जिल्लामा बनाइएका सुन्धारामध्ये सबैभन्दा महत्वपूर्ण काठमाडौंकै मानिन्छ । किनकि, यहाँ एकै ठाउँ पाँचवटा सुनका धारा थिए । तर, त्यसमध्ये अहिले तीनवटा मात्रै छन् । करिब २० वर्षअघि चोरिएका दुईवटा सुन्धारा अझै भेटिएका छैनन् । 

धाराको पानी निकासबारे विवाद हुँदा कामै रोकियो 
सुन्धाराबाट खसेको पानी ढलमा जोड्ने विषयमा विवाद भएपछि स्थानीयले सुन्धारा पुनर्निर्माण रोकेका छन् । परम्परागत बाटोबाट निकास गर्न माग राख्दै स्थानीयले काम अघि बढ्न नदिएका हुन् ।

तर, ठेकेदार कम्पनीले सुन्धाराबाट बगेको पानीको निकास ढलमा जोडिदिने जनाएको छ । यही विषयमा विवाद भएपछि काम अघि बढ्न नसकेको ठेकेदार कम्पनीका प्रोजेक्टर म्यानेजर सञ्जय नकर्मीले बताए । उनले सुन्धाराबाट भुइँमा खसेको पानी कता बगाउने भन्नेमा विवाद हुँदा काम अघि बढ्न नसकेको जानकारी दिए । ‘सुन्धाराको पुरानो निकास टुकुचा खोलामा जोडेको रहेछ, तर अहिले यसमा जोड्न सकिन्न,’ उनले भने, ‘टुकुचामा जोड्न २७ फिट गहिरो खन्नुपर्छ, त्यो सम्भव छैन, हामीले वसन्तपुर क्षेत्रमा एउटा पुरानो ढल पाइप भेटेका छौँ, त्यसैमा जोड्ने भनेका छौँ ।’ तर, ठेकेदार कम्पनीले पानीको निकासलाई गलत प्रणालीमा जोड्न थालेको भन्दै स्थानीयले सुन्धाराको पुनर्निर्माण अघि बढ्न दिएका छैनन् ।  

लेपन लगाउन एक किलो सुन लाग्ने 
सुन्धारामा सुनको लेपन पनि गर्नुपर्नेछ । यसअघि लेपन गरिएको सुन खुइलिएको छ । त्यसमा लेपन गर्न एक किलो सुन खर्च हुने ठेकेदारको अनुमान छ । करिब ६० लाखको सुन लाग्न सक्ने स्टिमेट ठेकेदार कम्पनीको छ । यसबाहेक सबै सामान पुरानै भएकाले त्यसलाई मिलाएरै राख्ने र पानीको निकास मात्रै निकाल्ने काम रहेको ठेकेदार कम्पनीले जनाएको छ । पुरानो सुनको लेपन भएकै ठाउँमा नयाँ लेपन गरिनेछ । ठेकेदार कम्पनीले पाँचवटै सुनको धारामा जलप लगाउने सम्झौता गरे पनि दुईवटा धारा हराइसकेका छन् ।

ad
ad