१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
महाकालीको कटानमा परेका वस्ती
२०७९ भदौ २६ आइतबार ०६:०९:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दार्चुला बाढीपहिरोमा पाँचको मृत्यु, १० बेपत्ता 

Read Time : > 2 मिनेट
२०७९ भदौ २६ आइतबार ०६:०९:००

- आठ घाइतेको हेलिकोप्टरमार्फत उद्धार
- सय परिवार प्रभावित, तीन मन्त्री राहत बोकेर दार्चुलामा
- गत वर्ष पनि दार्चुलामा बाढीपहिरोको क्षति, तर पीडितले पाएनन् राहत

दार्चुलाको लास्कु खोला र महाकाली नदीमा आएको बाढी तथा नौगाडमा खसेको पहिरोमा पाँचको मृत्यु भएको छ । १० जना बेपत्ता भएका छन् । शुक्रबार मध्यरातिदेखि आएको बाढी र पहिरोमा परेर नौगाड गाउँपालिकाका तीन र महाकाली नगरपालिकाका दुईको मृत्यु भएको हो । 

मृत्यु हुनेमा महाकाली– २ का ७७ वर्षीय नन्दराम बोहरा, महाकाली– ३ डुङरीकी ३५ वर्षीया मानमती कार्की, नौगाड– १ का ३७ वर्षीया जानकी ठगुन्ना र १५ वर्षीया धनुली ठगुन्ना तथा नौगाड– २ का ६८ वर्षीय मोहनराम पार्की छन् । 

मानमती कार्कीको शव महाकाली– ५ स्थित नमस्कारनजिकै भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्स्पेक्टर जगत गाहामगरले बताए । उनको परिवार डुङरीमा व्यवसाय गर्दै आएको थियो । मानमतीका श्रीमान् धनसिंह कार्की तथा दुवै छोरा दीपक र दिनेश बाढीमा बेपत्ता छन् । गत वर्ष महाकालीको बाढीले कार्कीको पसलमा मात्रै क्षति पुर्‍याएकोमा अहिले मानवीय क्षति नै निम्त्यायो । 

इन्स्पेक्टर गाहामगरका अनुसार महाकाली– २ का नन्दराम बोहरा घरभित्रै पुरिएका हुन् । उनका परिवारका अन्यले भागेर ज्यान जोगाएका छन् । नौगाड– १ सल्लाकी जानकी ठगुन्ना, धनुली ठगुन्ना र नौगाड– २ का ६८ वर्षीय मोहनराम पार्कीको पनि पहिरोमा परेर ज्यान गएको हो । बेपत्ता हुने अन्यमा महाकाली– ४ का सरस्वती लुहार र मोहन लुहार, महाकाली– २ की मानमती शाह, महाकाली– १ की मञ्जु लुहार, निदेश लुहार, साजन लुहार र दलजित लुहार छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बेपत्ताको खोजी सुरु गरिसकेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । 

महाकाली– ४ का स्थानीय मंगलसिंह ठगुन्नाका अनुसार राति ११ बजेदेखि लास्कु खोलामा बाढी आउन थालेपछि वरपरका बस्ती बगाउन थालेको थियो । लास्कुमा बाढी बढेसँगै महाकालीमा पनि पानीको बहाव उच्च भयो । महाकाली नदी नियन्त्रण आयोजनाले निर्माण गरेको तटबन्ध नै नाघेपछि बाढीले बंगाबगडका बस्ती बगाउन थालेको ठगुन्नाले बताए । 

आठ घाइतेको हेलिकोप्टरमार्फत उद्धार
बाढी र पहिरोमा गम्भीर घाइते भएकाको नेपाली सेनाको एयर एम्बुलेन्समार्फत उद्धार भएको छ । सुर्खेतबाट आएको एयर एम्बुलेन्समार्फत नौगाड– १ सल्लाका ४५ वर्षीय वीरेन्द्र ठगुन्ना, ४० वर्षीय जयबहादुर ठगुन्ना, ३५ वर्षीया फागुनी ठगुन्ना, सोही ठाउँका ३० वर्षीया रम्भादेवी ठगुन्ना र ३० वर्षीय देवसिंह ठगुन्नालाई उद्धार गरी जिल्ला अस्पताल दार्चुला ल्याइएको इन्स्पेक्टर गाहामगरले जानकारी दिए । त्यस्तै, महाकाली– २ का हरकसिंह बाहु तथा महाकाली– ४ का अभिषेक कामी र गीता कामीको पनि उद्धार भएको छ । सबैको दार्चुला जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

सय परिवार प्रभावित, तीन मन्त्री राहत बोकेर दार्चुलामा
महाकाली र नौगाडका सय परिवार बाढी र पहिरोबाट प्रभावित बनेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार ४२ घरमा पूर्ण र नौ घरमा आंशिक क्षति भएको छ भने ४० घर जोखिममा परेका छन् । महाकाली नगरपालिकाको वडा नं. १, २, २ र ४ को बंगाबगडसम्मका घरमा बढी क्षति पुर्‍याएको छ । नौगाडमा वडा नं. १ मा पहिरोको क्षति छ । 

सेनाकै हेलिकोप्टरले दुवै स्थानीय तहका बाढी र पहिरो प्रभावितका लागि राहत सामग्रीसमेत ढुवानी गरेको छ । स्थानीय सरकार र नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा राहत वितरण गरिएको छ । त्यस्तै, संघ र प्रदेशका गरी तीन मन्त्री राहत बोकेर प्रभावित क्षेत्र पुगेका छन् । संघीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावल र प्रदेश वनमन्त्री मानबहादुर धामी दार्चुला आएका हुन् । उनीहरूले त्रिपाल, खाद्यान्न र कम्बलजस्ता राहत सामग्री ल्याएका छन् । 

गत वर्ष पनि दार्चुलामा बाढीपहिरोको क्षति
गत वर्ष १४ भदौमा पनि महाकाली, नौगाड, दुहुँ गाउँपालिका र अपीहिमाल गाउँपालिकामा बाढीपहिरोमा परी पाँचको मृत्यु भएको थियो । सयौँ परिवार प्रभावित बनेका थिए, घरमा क्षति पुगेको थियो । सरकारी संरचना, सडक, पुल, विद्युत् र विद्यालय बाढीपहिरोले बगाएको थियो ।  २ मंसिरको मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारले २२ मंसिरमा राजपत्रमा सूचना प्रकाशित गर्दै दुहुँ, नौगाड र अपीहिमाललाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गर्‍यो । गृह मन्त्रालयमातहतको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिफारिसमा सरकारले उक्त घोषणा गरेको थियो । तर, उक्त क्षेत्रमा पुनर्निर्माण तथा पुनस्र्थापना, घर, सडक तथा विद्यालय निर्माणको काम नै अघि बढेको छैन । 

दुहुँ–खलंगा सम्बन्ध विच्छेद
महाकाली नदी र लास्कु खोलामा आएको बाढीले जिल्ला सदरमुकाम खलंगा हुँदै दुहुँ–व्याँस जोड्ने सडक अवरुद्ध भएको छ । दार्चुला–तिंकर सडकअन्तर्गत रिंगलतालदेखि कलौनभिरसम्म सडक अवरुद्ध भएको हो । दुहुँ गाउँपालिका र महाकाली नगरपालिका जोड्ने यो सडक बगाएपछि उक्त क्षेत्रका बासिन्दालाई आवतजावतमा समस्या भएको छ । लास्कु खोलामाथिको मोटरेबल र झोलुङे पुल नै बगाएको छ । महाकाली– ४ बंगाबगड हुँदै वडा नम्बर १ छापरी जाने पुल पनि बगाएको छ । 

बाढीपहिरोमा दुई विद्यालय भत्किएका छन् । महाकाली नगर क्षेत्रको पन्डोरास्थित भुवनेश्वरी आधारभूत विद्यालय पन्डोरा र बंगाबगडस्थित दशरथनगर आधारभूत विद्यालयमा क्षति पुगेको हो । त्यस्तै, डुङरीस्थित दार्चुला बहुमुखी क्याम्पसको आवासगृह पनि जोखिममा रहेको प्रहरीले जनाएको छ । रातिको बाढीले दार्चुला–तिंकर सडकछेउमा पार्किङ गरिएका जिप पनि बगाएको छ । ६ बोलेरो, एक ट्र्याक्टर, ग्वालेक निर्माण सेवाको एउटा क्रसर मेसिन र एउटा जेसिभी बगाएको छ । महाकाली र नौगाडमा गरी दुई सय ६३ पशुचौपाया मरेका छन् ।