
सन्दीप लामिछाने बलात्कार प्रकरण :
बलात्कार अभियोगमा किटानी जाहेरीपछि राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्धको अनुसन्धानलाई प्रहरीले तीव्र तुल्याएको छ। यस क्रममा प्रहरीले पीडित किशोरीको स्वास्थ परीक्षण, होटेलको सिसिटिभी फुटेज, सिडिआर विश्लेषणदेखि सामाजिक सञ्जालमा भएको दुईबीचको कुराकानी संकलन गरिरहेकाे छ।
पीडित किशोरीले मंगलबार प्रहरी वृत्त गौशालामा बलात्कृत भएको भन्दै सन्दीपविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। त्यसलगत्तै प्रहरीले पीडित किशोरीको स्वास्थ परीक्षण गरेको थियो। बुधबार भने प्रहरीले सिसिटिभी फुटेज संकलन, सिडिआर विश्लेषण र सामाजिक सञ्जालमार्फत भएको च्याटलाई संकलन गरेको छ। घटना सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले घटनाको ‘टेक्निकल’ अनुसन्धानलाई तीव्र पारिएको बताए।
उनले भने, ‘घटना सम्बन्धमा जाहेरी परेलगत्तै प्रहरीले अनुसन्धानलाई तीव्र पारेको छ। यसका विधि, तौर तरिका होलान् । प्राविधिक पक्ष पनि होलान् । ती सबै पक्षलाई केन्द्रमा राखेर अनुसन्धान भइरहेको छ।’